महिला नेतृत्व आएमा भ्रष्टाचार नहुने दावी

275

काठमाडौं – राजपा नेपालकी महामन्त्री चन्दा चौधरीले आफूहरुले थुप्रै आन्दोलन र संघर्ष गरेर अहिलेको अधिकार प्राप्त गरेको स्पष्ट पारिन् । ‘३३ प्रतिशत अधिकार पनि त्यतिकै दिईएको होईन, हामीले लडेर ल्याएका हौं’–उनले भनिन् । उनले पत्रकार ऋषि धमलाले अब यो देशको महिला प्रधानमन्त्री कहिले बन्नुहुन्छ रु भनेर आफुहरुलाई सोधेको प्रश्नमा जवाफ दिँदै भनिन्,‘ऋषिजीले सायद, यो प्रश्न जो निर्णायक तहमा बस्नुभएको छ, ती नेताहरुलाई सोध्नुभएको भए राम्रो हुने थियो ।’

चौधरीले नेपालका महिलाहरु पनि प्रधानमन्त्री बन्न योग्य र सक्षम रहेको सुनाईन् । महिलाहरुले पनि आफ्नो दायरालाई फराकिलो बनाउनुपर्नेमा जोड दिईन् । आफू महिला मुक्ति र अधिकारको लागि विगत १६ वर्षदेखि राष्ट्रिय राजनीतिमा सक्रिय भएको पनि उनले सुनाईन् । उनले भनिन्,‘पहिले र अहिलेको अवस्थामा धेरै फरक छ । महिलाहरु अहिले जागरुक भएका छन् । आफ्नो हकअधिकारकोलागि आफैं लड्न सक्ने भएका छन् । अहिले तराई मधेशमा हेर्नुहोस महिलाहरु स्कुटर चलाएर सक्रिय रुपमा सामाजिक तथा राष्ट्रिय अभियानमा नेतृत्वदायी भूमिका निर्र्वाह गर्दै हिँडिरहेका छन् ।’

११०औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले परिवर्तन हुनुमात्रै ठूलो कुरा नभएको सुनाउँदै महिलाहरुले अझै अवसर नपाएको पनि गुनासो पोखिन् । नेपालको सामाजिक बनोट नै पितृसत्तात्मक रहेको सुनाउँदै सांसदहरुलाई विकास बजेट दिने कुरामापनि विभेद गरिएको चौधरीको गुनासो छ ।

उनले महिलाको अधिकार र अवसरको लागि सबै पार्टीका महिलाहरु एक हुनुपर्ने र पार्टीको ह्विपभन्दापनि माथि उठ्नुपर्नेमा जोड दिईन् । उनले अधिकारको कुरा ठूलो ठूलो गरेपनि व्यवहारमा लागु हुनु नै ठूलो हुने पनि तर्क गरिन् । उनले आगामी बजेटमा सांसदहरुलाई सामान बजेट हुनुपर्छ र यसको लागि सबै पार्टीका महिलाहरुले संकल्प गर्नुपर्ने पनि सुझाव दिए ।

उनले नेपालको निर्वाचन प्रणाली नै महँगो रहेको सुनाउँदै चुनाव जित्न मनी र मसलको प्रयोग हुने गरेको दुःखद अवस्था चित्रण गरिन् । महिलाहरुको लागि विशेष निर्वाचन क्षेत्रको व्यवस्था गर्नुपर्ने पनि उनको माग छ । उनले भनिन्,‘कुनैपनि नेताले हामीलाई त्यतिकै आफ्नो मनले ३३ प्रतिशत अधिकार दिएको होईन् । हामीले लडेर ल्याएका हौं । महिलाहरुलाई अवसर दिने कुरामा पहिले पार्टीले आफ्नो मानसिकता परिवर्तन गर्नुपर्छ ।’

उनले महिलाहरु नेतृत्वमा आए भ्रष्टाचार नहुनेपनि जिकिर गरिन् । उनले भनिन्,‘नारीले जसरी घर सजाएर राख्छे, त्यसैगरि यो देशलाई पनि सजाएर राख्ने काम गर्छिन् । म दाबाका साथ भन्छु देशमा महिला नेतृत्व आए भ्रष्टाचार र अनियमितता हुँदैन् ।’ उनले सबै पार्टीका महिला नेतृ, सामाजिक अभियन्ता, कलाकार एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिईन् ।

बाल विवाह, दाईजोलगायतका सामाजिक कुरित र कुसंस्कारविरुद्ध अझै लड्नुपर्ने पनि उनले आवश्यकत्ता औंल्याईन् । उनले भनिन्,‘मैले त आफ्नै देवरको विवाह पनि बहिष्कार गरेको छु । दाईजोकै कारण मैले यो गरेको हुँ ।’ अहिलेपनि धेरै सांसदहरुको सम्पत्ति विवरणमा दाईजो भनेर उल्लेख गरिएको उनले धारणा राखिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here