– राज्यलक्ष्मी शाक्य
नेपाल संसारकै सुन्दर देशमध्ये एक हो भन्नेमा सायदै कसैको विमति होला । नेपालीले मात्र नभई विदेशीले पनि यो तथ्यलाई स्वीकार्दै आएका छन् । एकपटक नेपाल आउने विदेशीहरू यहाँको सौन्दर्यले लोभिएर पटकपटक आउने गरेका छन् । प्राकृतिक सौन्दर्यसँगै नेपालीहरूको हार्दिकताले मिसिएको व्यवहारले पनि विदेशीहरू मन्त्रमुग्ध हुँदै आएका छन् । अझ यहाँको प्राचीनता, कलासंस्कृति, जीवनशैली, खानपान, रहनसहन र भेषभूषा आदि पनि तारिफयोग्य नै छन् । तर, दुर्भाग्यवश भन्नुपर्छ यस्ता आत्मगौरवका विषयवस्तु क्रमशः लोप हुँदै गएका छन् । हाम्रो पुर्खाहरूले सुन्दर र कलासंस्कृतिले हराभरा बनाएर छोडेका स्थानलाई हामीले कुरूप बनाउँदै आएका छौं । यही अवस्था रहिरहने हो भने हामी नेपालीले गौरव गर्नलायक सबै सम्पदा नष्ट हुने दिन नआउला भन्न सकिन्न ।
पंक्तिकार काठमाडौंको रैथाने भएकाले पनि यहीँका विषयमा केन्द्रित हुन चाहन्छु । काठमाडौं उपत्यका शताब्दीऔंदेखि बसोबास हुँदै आएको स्थान हो । यहाँ सयौं वर्ष पुराना मठमन्दिर, कलाकौशल, विहार र भौतिक संरचना छन् । तर, तिनको उचित संरक्षण हुन नसक्दा विस्तारै नष्ट हुँदै गएका छन् । यद्यपि, ती सम्पदा जोगाउन कुनै पहल भएको नै छैन भन्ने पंक्तिकारको आशय होइन । विभिन्न जनसमूह र स्थानीय निकायले पनि यस क्षेत्रमा काम गर्दै आएका छन् । तर, यस्ता क्षेत्र अतिक्रमण गर्नेहरूको बाहुल्यका कारण पनि यी सम्पदा जोखिममा पर्दै आएका छन् ।
मन्दिरमन्दिरको सहर मानिने काठमाडौं अहिले अव्यवस्थित कंक्रिट भवनको सहर भएको छ । सही योजना नबनाउँदा काठमाडौं, ललितपुर र भक्तपुरका सहरी क्षेत्र कुरूप मात्र बनेका छन् । यी स्थानमा पानी, ढल, सडकलगायतको समस्या छ । एउटा व्यवस्थित सहर कसरी बनाउने भन्ने विषयमा सरकारी निकायले काम गर्न नसकेको महसुस हुन्छ । त्यसैगरी खुला ठाउँमा भएको अतिक्रमण अर्को चुनौती हो । भूमाफियाहरूको चलखेलका कारण सार्वजनिक तथा सरकारी निकायलाई पनि व्यक्तिको नाममा गरी किनबेच हुँदै आएको तथ्य हालै मात्र ललिता निवास प्रकरणले पनि उजागर गरेको छ । यसैगरी विभिन्न गुठीका नाममा भएका जग्गा पनि विभिन्न व्यक्तिले कब्जा गर्दै आएको तथ्य पनि हामीसामु छिपेको छैन ।
सहर कुरूप बन्नुको कारण नदी क्षेत्रमा सिधै ढल मिसाउनु पनि हो । कुनै समय नुहाउन मिल्ने बागमती, विष्णमती जस्ता नदीखोला अहिले ढलमती भएका छन् । ती खोलानालालाई पनि अतिक्रमण गरेर साँघुरो बनाइएको छ । सहरमा पार्कको अभाव छ । ठाउँठाउँमा राखिने होर्डिङ बोर्डले पनि सहरलाई कुरूप बनाउँदै आएको छ । जथाभावी फोहोर फालिँदा पनि सहर बस्न लायक बन्न छोडेको छ । यद्यपि, ती फोहोरलाई सदुपयोग वा उचित व्यवस्थापन गर्ने हो भने त्यसैबाट पालिकाहरूले ठूलो लाभ लिन सक्छन् । विश्वका थुप्रै देशहरूले फोहोरलाई मोहरमा बदल्न विभिन्न प्रविधि प्रयोग गर्दै आएका छन् । तर, नेपालमा भने फोहोर व्यवस्थापन नै चुनौती बनेको छ । फोहोरको व्यवस्थापन गर्नका लागि ठूलो जनशक्ति र बजेट खर्च भइरहेको छ भने उपलब्धि भने शून्य छ । यसतर्फ पनि सम्बन्धित निकायको ध्यानाकर्षण हुन जरुरी छ । यो त देशको राजधानी काठमाडौंको अवस्था भयो । राजधानी बाहिर तीव्र सहरीकरण भइरहेका स्थानको पनि हालत त्यस्तै छ । त्यहाँ पनि सहरको व्यवस्थित योजना नबनाउँदा कुरूप बन्दै गइरहेका छन् ।
पंक्तिकारले उठाएका माथिका विषयहरूमा कतिपयमा सरकारी स्तरबाट नै नीतिनियम बनाउन जरुरी छ । सहरमा खुला स्थानको अवधारण, भवन निर्माणको संहिता, खानेपानी तथा ढल व्यवस्थापन, सडक निर्माण लगायतका विषयमा सरकारले नै पहलकदमी लिन आवश्यक छ । तर, कतिपय विषयमा भने जनसमुदायको पनि उत्तिकै भूमिका हुन्छ । जस्तै, जथाभावी फोहोर नफाल्ने, आफ्नो वरपर सरसफाइ राख्ने, आफ्नो क्षेत्रको सम्पदा तथा सार्वजनिक स्थानमा गतल काम भइरहेको छ भने सरकारी निकायलाई जानकारी तथा कारबाहीका लागि दबाब दिने । यस्ता काम सर्वसाधारणको अग्रसरतामा नै सम्पन्न हुन सक्छन् । कतिपय क्षेत्रमा भने सरकार र जन समुदायको हातेमालो आवश्यक हुन्छ । त्यसकारण मुलुकलाई सुन्दर बनाइराख्न हाम्रो तर्फबाट योगदान हुन जरुरी छ । यदि मुलुकलाई सुन्दर र समृद्ध बनाउन सकिँदैन भने पनि यसलाई कुरूप बनाउने काम पनि नगरौं । – जनधारणा साप्ताहिक


















