काठमाडौं । सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका २५ सय ६ जनाको नाम सार्वजनिक गरेको छ । द्वन्द्वकालीन मुद्दा किनारा लगाउन गठित बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्तिहरूको सूची सार्वजनिक गरेको हो । १३ वर्षपछि नामावली सार्वजनिक गरिएको हो । आयोगका अनुसार, राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएको भन्दै २ हजार ५ सय ६ जनाबारे उजुरी परेको छ । यीमध्ये बर्दियाबाट सबैभन्दा धेरै २ सय ५४ जनाले आफन्तको खोज खबर गरिदिन माग गर्दै आयोगमा निवेदन दिएका छन् । बर्दियापछि दाङबाट सबैभन्दा धेरै उजुरी परेको छ । दाङबाट १ सय २८ बेपत्ताको सूचीमा छन् । त्यस्तै रोल्पाबाट बेपत्ता पारिएका ९७ जनाबारे खोजी गरिदिन निवेदन परेको आयोगले जनाएको छ । सशस्त्र द्वन्द्वको उद्गमस्थल रुकुमबाट भने ४५ जना मात्रै बेपत्ता भएको भन्दै उजुरी परेको छ । कञ्चनपुरबाट ७७, चितवनबाट ५१, गोरखा र नुवाकोटबाट समान ४०–४० जना बेपत्ता भएको उजुरी परेको छ । काठमाडौंबाट ३२ र कालीकोटबाट २४ जना बेपत्ताको सूचीमा छन्।
बेपत्ताको नामावली हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला


















