काेराेना संक्रमित बिरामी फर्काउने अस्पताललाई सरकारको चेतावनी

194

काठमाडौं – सरकारले ज्वरो आएका बिरामीको उपचारै नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी दिएको छ । कतिपय अस्पतालले ज्वरो आएका बिरामीलाई कोरोना संक्रमणको आशंकामा उपचारै नगरी फर्काइदिने गरेकोमा सरकारले यस्तो पाइए कारबाही गर्ने भएकाे छ ।

‘के सरकारी, के गैरसरकारी, के सामुदायिक सबै अस्पतालले आफ्नो दायित्व बुझ्नुपर्ने हुन्छ’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने । मन्त्रालयले गरेको प्रेस ब्रिफिङमा उनले यस्ता अस्पतालविरुद्ध कडा कदम चाल्न नपरोस् भन्दै चेतावनी दिएका हुन् ।

‘संक्रमणकालीन अवस्थामा गरिने नियम हेरेर हामीले काम गरिरहेका छौं, कम्तिमा बिरामी नफर्काइदिनुस्, मन्त्रालयले तोकेको नियमअनुसार उपचार गर्नुहोस्’ प्रवक्ता देवकोटाले भने ।

सरकारले तोकेका कोरोना विशेष अस्पतालहरु, हब अस्पताल, प्रादेशिक अस्पताल, मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुले अनिवार्य रुपमा ज्वरो क्लिनिक र आकस्मिक सेवा दिनुपर्ने डा. देवकोटाले बताए । त्यसबाहेक अन्य अस्पतालले पनि आकस्मिक स्वास्थ्य सेवा यथारुपमा सञ्चालन गर्नुपर्ने उनको भनाई छ ।

‘कुनैपनि अस्पतालले आकस्मिक सेवा लिन आएका बिरामीलाई अब फर्काउनुहुने छैन भन्ने विश्वास गरेका छौं’ देवकोटाले भने ।

कोरोना संक्रमितको अवस्था सामान्य

नेपालमा कोरोना संक्रमण देखिएका बिरामीको अवस्था सामान्य रहेको सरकारले जनाएको छ । कोरोना संक्रमित पाँच जनामध्ये एक जनालाई निको भइसकेको छ भने बाँकी चार जनाको उपचार भइरहेको छ ।

दुई जनाको काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, एक जनाको धनगढीस्थित सेती प्रादेशिक अस्पताल र एक जनाको बागलुङको धौलागिरि अस्पतालमा उपचार भइरहेको छ ।

डा. देवकोटाले सबै संक्रमितको स्वास्थ्यमा जटिलता नआएको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here