काठमाडाैं – शहरी विकास मन्त्रालयले घरघरमा गएर फोहोर संकलनको व्यवस्था मिलाउन स्थानीय तहहरुलाई निर्देशन दिएको छ । शनिवार सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विज्ञप्ती जारी गर्दै घर घरमा गएर फोहर संकलनको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।
मानन्धरले विज्ञप्तीमार्फत काठमाडौं उपत्यकाको फोहर संकलन र सिसडोलमा बिसर्जन सुरु भएको पनि जानकारी दिए । “कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिको सामना गर्नका लागि लकडाउनमा बस्नुपरेको यो अवस्थामा घरबाट निस्कने फोहोर व्यवस्थापनलाई चुस्त बनाउनपर्छ,” जारी विज्ञप्तीमा उल्लेख छ, “आजैदेखि घरघरमा फोहर संकलक पठाई त्यसको समुचित व्यवस्थापनमा लाग्न देशभरका सम्पूर्ण महानगरपालिका, उपमहानगरपालिका, नरपालिकाहरुलाई निर्देशनात्मक अनुरोध गरिएको छ ।”
विज्ञप्तीमार्फत संघीय राजधानी काठमाडौंको फोहोर व्यवस्थापनका सवालमा देखिएको समस्या समाधानका लागि काठमाडौं र ललितपुर महानगरपालिका तथा भक्तपुर नगरपालिकासहित सबै नगरपालिकाहरुलाई तत्काल समाधान हुनेगरी काम थाल्न समेत अनुरोध गरिएको छ ।
उपत्यकाको फोहोर उत्सर्जन हुने स्थान सिसिडोलमा पनि गर्मीसँगै फैलने दुगन्र्ध रोकथाम र किटाणु नासका लागि आवश्यक औषधीको व्यवस्थापन गराउने काम तत्काल थालनी गर्न उपत्यकाका नगरपालिकालाई निर्देशन दिइसकिएको विज्ञप्तिमा उल्लेख छ । संक्रमणको जोखिम न्यूनीकरणका लागि बिहान ८ बजेभित्र फोहर बसिर्जनको व्यवस्था मिलाउन उपत्यकाका नगरपालिकाहरुसँग मन्त्रालयले आवश्यक पहल गरिसकेको उल्लेख छ ।
मन्त्री मानन्धरले फोहोर संकलनमा खटिने संकलक र सवारी चालक तथा अन्य कर्मचारीलाई आवश्यक स्वास्थ्य सुरक्षा सामग्रीको व्यवस्थापन मिलाउने कामको थालनी समेत भइसकेको जानकारी दिएका छन् ।
अव्यवस्थित रुपमा फालिने फोहोरका कारण सहरी क्षेत्रमा हुनसक्ने विभिन्न खाले संक्रमणलाई मध्यनजर गर्दै संकलक नआउँदासम्म घरमै कुहिने र नकुहिने फोहोरलाई छुट्टा छुट्टै व्यवस्थित रुपमा व्यवस्थापन गरिदिन शहरबासीलाई मानन्धरले आग्रह समेत गरेका छन् ।


















