काठमाडौं – उपभोक्ता हित संरक्षण मञ्च नेपालले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न लकडाउन भएको अवस्थामा उपभोक्ताले दैनिक उपभोग्य अत्यावश्यक वस्तुको सहज र सुलभ बजार व्यवस्थापन गर्न सरकारसँग आग्रह गरेको छ ।
मञ्चले पर्याप्त भण्डारको जोहो नगर्ने असल उपभोक्तालाई अत्यावश्यक वस्तुहरुमा समेत कृत्रिम अभाव, कृत्रिम मूल्यवृद्धि र कालोबजारी रोक्न माग गरेको हो । मञ्चका पूर्वअध्यक्ष तथा अधिवक्ता ज्योति बाँनियाले बताए । “कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले लकडाउन गर्न उचित छ, तर अतिआवश्यक वस्तुको कृत्रिम अभाव देखाएर कालोबजारी गर्ने खेल रोकिनुपर्छ ।”
मञ्चले विषम परिस्थितिमा स्थानीय बजार व्यवस्थापन गर्ने संवैधानिक जिम्मेवारी स्थानीय तहमा रहेकाले स्थानीय तहका जनप्रतिनिधिले क्रियाशीलता देखाई बजार व्यवस्थापनका लागि सरोकारवालाको प्रभावकारी समन्वय गर्नुपर्ने माग छ । साथै हरेक वडा तहमा सङ्क्रमणमुक्त आवश्यक सङ्ख्यामा पसलहरु तथा घुम्ती पसलहरु सञ्चालन गर्ने कार्यभार पूरा गरी उपभोक्तालाई दैनिक अत्यावश्यक वस्तु र सेवाको सुनिश्चितता गर्नुपर्ने मञ्चको माग छ । (गोरखापत्रबाट)


















