दाेषीलाई कारबाही गर्न सत्तारुढ नेकपाकाे माग

125

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुले चीनबाट खरिद गरिएका औषधि र उपकरणमा अनियमितता भएको भन्दै दोषी माथि कारबाही हुनुपर्ने माग गरेका छन्।

नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले संकटको घडीमा स्वयंसेवी रुपमा जनतालाई सहयोग गर्नुपर्ने बेलामा कुनै नेता वा मन्त्री भ्रष्टाचारमा संलग्न भएको प्रमाणित भए हदैसम्मको कारबाही हुनुपर्ने बताए। ‘कुनै आग्रह पूर्वग्राह नराखौं।

यदि यस्तो बेला भ्रष्टाचारमा संलग्न हुन्छन् भने अक्षम्य अपराध हो। त्यस्ता व्यक्तिलाई हदैसम्मको कारबाही गर्नुपर्छ’, पौडेलले भने। यस्तै नेकपाकै केन्द्रीय सदस्य मेटमणि चौधरीले संकटको अवस्थामा मन्त्री नेताका नातेदार ठेकेदारहरु भ्रष्टाचारमा संलग्न भएको सुन्दा दुःख लागेको बताए। ‘मैले पनि मन्त्री र प्रधामन्त्री सचिवालयका मुख्य जिम्मेवार सल्लाहकारका छोरा

अनियमिततामा संलग्न भएको मिडियाबाट थाहा पाएँ’, नेता चौधरीले भने, ‘यदि अनियमिततामा संलग्न भएको प्रमाणित भए सबैलाई कारबाही गरी जनतालाई सुशासनको अनुभूति दिनुपर्छ।

नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले उपप्रधानमन्त्री तथा कोरोना नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेललाई नेकपा नेता विष्णु रिजालले पानी माथिको ओभाने नबन्न सुझाब दिएका छन्। जिम्मेवार ठाउँमा बसेकाहरूले मिडियासँग बोल्दा ओठे जवाफ नभई तर्कसंगत कुरा गर्नुपर्ने उनले ट्वीट मार्फत जनाएका हुन्। उनले भने  ‘जिम्मेवार ठाउँमा बसेकाहरूले मिडियासँग बोल्दा ओठे जवाफ होइन, तर्कसंगत कुरा गर्नुपर्छ। किनकी यो नागरिकसँगको संवाद हो।’

सबै जिम्मा कर्मचारीले लिनुपर्ने भए मन्त्री हुनुको औचित्य नरहेको उनको धारणा छ। ‘सबै जिम्मा कर्मचारीले  लिइदिने भए विभिन्न फुर्का जोडेका नेताहरु सरकारमा किन चाहिन्थे र उनले निर्णय गरेपछि त्यसको जिम्मा लिन पर्छ’, रिजालले सुझाउँदै भनेका छन्, ‘निर्णय गरौं, त्यसको जिम्मा लिऔं, दोष पन्छाएर पानीमाथिको ओभानो नबनौं।’

अर्का केन्द्रीय सदस्य सुदन किरातीले अनियमिततामा संलग्न हुनेलाई बर्खास्त गरी प्रधानमन्त्रीले माफी माग्नुपर्ने जनाए ।  महामारीका बेला सरकारले पादर्शी रुपमा काम गर्ने बेला भ्रष्टाचारमा संलग्न हुनु जनता र पार्टीमाथि ठूलो अन्याय भएको उनको बुझाइ छ। ‘सरकारमा जान, मन्त्री हुन, दलाली र चाकरी गर्ने, गइसकेपछि भ्रष्टाचारमा लिप्त हुने, बाहिर भएका नेताले आलोचना गर्दै नगर्ने, चुपचाप बसिदिने’, किरातीले भने, ‘देशमा नेता,सांसद र मन्त्री ७० प्रतिशत माफियाले बनाउँछन् बाँकी ३० प्रतिशत आफ्नो क्षमताले भए पनि माफियाले हात खुट्टा बाँधेर कामै गर्न दिदैनन्। जनता र पार्टीप्रति उत्तरदायी हुनुपर्ने मन्त्री माफियातिर केन्द्रित हुन्छन्।’

यस्तै, सत्तारुढ नेकपाकै राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले चीनबाट खरिद गरिएको सामान प्रकरणमा दोषी उपर छानबिन गर्नुपर्ने जनाएका छन्। सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले ‘कहाँ गडबड भयो, कसले गडबड गर्‍यो? मानिसहरुले गरेका प्रश्नहरुमा प्रतिबन्ध नलाऊ भनेर भन्दा तलाईं पख् सरकारको विरोध गर्छस् भनेर धम्क्याए’ लेखेका छन्।

उनी अगाडि लेख्छन्- ‘आखिर सरकारले सम्झौता रद्द गरेछ, सामाग्री पनि डुब्लिकेट आएछ मन्त्री, सरकार दोषी हुन र नहुन पनि सक्छन। जवाफ दिनु पर्छ र छानबिन हुनुपर्छ।‘

रातरात सरकारले ओम्नी कम्पनीलाई मेडिकल सामाग्री ल्याउन जिम्मा दिएको थियो। प्रक्रिया मिचेर र आफू अनुकूल कम्पनी छानेर ठेक्का दिइएपछि विरोध सुरु भएको थियो। हिजैमात्र ओम्नीसँगको सम्झौता रद्द भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here