एजेन्सी – एक बेलायती व्यापारी अहिले कोरोना भाइरसको संक्रमणपछि निकै तनावमा छन् । भाइरसको संक्रमणभन्दा पनि यस्तो परिस्थिति निम्तनुको वास्तविकता श्रीमतीले चाल पाउलिन् कि भनेर उनलाई ज्यादा त्रसित छन् ।
४० वर्ष पुग्न लागेका यी व्यापारी आफ्नी श्रीमतीलाई बेलायतभित्रै व्यापारिक भ्रमणका लागि जाने भनेर घरबाट निस्किएका थिए, तर उनी इटलीमा आफ्नी गर्लफ्रेन्डसँग डेटिङमा गए ।
‘यी बिरामीबारे अहिले स्वाथ्यकर्मीबीच निकै चर्चा हुनेगर्छ,’ अस्पताल स्रोतलाई उद्धृत गर्दै द सनले लेखेको छ, ‘यदी अवस्था गम्भीर थिएन भने उनको केस एउटा मजाक हुने थियो । यी व्यक्तिले आफ्नी श्रीमतीलाई झुक्याएर कसरी इटली गएँ भनेर चिकित्सकलाई सबै बताइसकेका छन् । त्यसैले उनले अझै सोचिरहेकी छिन् कि यो रोग व्यापारीक भ्रमणकै क्रममा सरेको हो ।’
यी व्यक्तिले इटली घुमेको स्विकारेपनि घटना सार्वजनिक हुने डरले प्रेमिकाको नाम चिकित्सकलाई बताएका छैनन् । अहिलेसम्म चिकित्सकबाहेक उनकी श्रीमतीलाई मात्रै श्रीमान् संक्रमित छन् भन्ने थाहा छ । उनी उत्तरी इङ्ल्यान्डस्थित आफ्नो आलिसन बंगलामा ‘सेल्फ आइशोलेसन’मा छिन् ।


















