कोरोनाको अन्धकार हटाउन आइतबार दियो बाल्‍न मोदीको आग्रह

148

एजेन्सी  – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोभले कोरोना भाइरसको अन्धकारलाई हटाउनका लागि अप्रिल ५ अर्थात् आइतबार देशभर सबैजनालाई एकसाथ बिजुली बत्ती निभाएर मैनबत्ती, दियो वा मोबाइलको फ्ल्यास लाइट बाल्न आग्रह गरेका छन् ।

उनले लकडाउन घोषणा गरेको १० औं भिडियो सन्देशमार्फत भने, “मलाई आइतबार तपाईंको नौ मिनेट चाहिएको छ । आइतबार त्यो नौ मिनेटमा घरको बिजुली निभाएर घरको ढोका वा बालकोनीमा टाढाटाढा उभिएर सबैले एकसाथ मैनबत्ती, दियो वा मोबाइलको फ्ल्यास लाइट बालेर कोरोना भाइरसको अन्धकारलाई चुनौती दिनेछौं ।”

कोरोना भाइरसको संक्रमणविरुद्धको लडाइँमा १३० करोड भारतीय कोही पनि एक्लो नभएको सन्देश दिन उनले आग्रह गरेका छन् । “यसको एउटै उद्देश्य हामी सबै एकसाथ लडिरहेका छौं,” उनले भनेका छन्, “१३० करोड देशवासीको संकल्पलाई थप नयाँ उचाइमा लैजानका लागि यो गर्नुछ।”

उनले यो बेला हरेक व्यक्ति टाढा रहेर दूरी कायम गर्ने अनुशासनलाई कुनै हालतमा उल्लंघन नगर्नसमेत आग्रह गरेका छन् । प्रधानमन्त्री मोदीले मार्च २२ का दिन देशवासीले ‘जनता कर्फ्यु’ प्रतिको एक्यबद्धताप्रति कृतज्ञता व्यक्त गरे । उनले थपे, “अहिले त्यो सबै मुलुकका लागि उदाहरण बनेको छ ।

यसअघि मार्च २४ मा प्रधानमन्त्री मोदीले देशभर २१ दिनको लकडाउन घोषणा गरेका छन् । हाल भारतमा कोरोना संक्रमितको संख्या दुई हजार पाँच सय संक्रमित छन् भने ७२ जनाको मृत्यु भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here