काठमाडौं – लकडाउनका कारण हवाइ उडानमा लागेको प्रतिवन्धसँगै देशका विभिन्न ठाउँमा फसेका विदेशी पर्यटकको उद्दारको काम आज राति १२ बजेदेखि बन्द हुने भएको छ ।
नेपाल पर्यटन बोर्डले जनाए अनुसार शुक्रबारसमेत देशका विभिन्न स्थानबाट पर्यटकहरु काठमाडौं आइरहेका छन् । तर, राति १२ बजेपछि जुन पर्यटक जहाँ छन्, लकडाउन नखुलेसम्म त्यहीँ बस्नुपर्ने भएको छ । उनीहरु आवत–जावत खुकुलो भएपछि मात्र बाहिर निस्कन पाउने छन् ।
आजै पोखराबाट दुईवटा बसमा पर्यटकहरु काठमाडौं आइरहेका छन् । ‘आज पर्यटकको उद्धार गर्ने समय तोकिएको अन्तिम दिन हो,’ रेग्मीले भने, ‘हामीले नेपालस्थित दूतावासबाट अनुरोध भई आएका र ईच्छुक सबै पर्यटकलाई काठमाडौं ल्याइसक्छौं ।’
यसअघि पर्यटन मन्त्रालयले २१ चैत राति १२ बजेसम्म नेपालभर रहेका पर्यटकलाई आ–आफनो मुलुक फर्काउन समय तोक्ने निर्णय गरेको थियो । सोहीअनुसार बोर्ड र मन्त्रालयले स्थानीय प्रशासनसँग पर्यटकलाई स्थलमार्गबाट समेत काठमाडौं आउने वातावरण बनाउन आग्रह गरिएको थियो ।
आजदेखि काठमाडौं बाहिरबाट थप उद्धारको काम बन्द भए पनि काठमाडौंमा रहेका विदेशी नागरिकलाई भने ती मुलुकहरुले फिर्ता लैजाने काम भने जारी रहने सरकारी अधिकारी भने ।
पूर्वको ताप्लेजुङदेखि पश्चिममा धनगढीसम्मबाट पर्यटकहरु काठमाडौं ल्याइएको छ ।
१७०८ पर्यटकको उद्धार
नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार लकडाउन शुरु भएयता देशका विभिन्न स्थानबाट १७०८ जना पर्यटकको उद्दार भएको छ । यो शुक्रबार काठमाडौं आउँदै गरेका पर्यटकको समेत संख्या जोड्दा पुग्ने संख्या हो ।
पर्यटक फिर्ता लैजान धमाधम चार्टर्ड उडान
नेपालमा रहेका पर्यटक फिर्ता लैजान धमाधम चार्टर्ड उडान भइरहेका छन् । यसबीचमा यूरोपियन यूनियन मातहतका मुलुकका पर्यटक लैजान कतार एयरवेजका तीनवटा जहाज चार्टर्ड भइसकेको छ ।
यसैबीचमा अमेरिकन दूतावासले समेत कतार एयरवेजबाटै पर्यटक फिर्ता लगेको छ । अष्ट्रेलिया र न्यूजिल्याण्डले नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरी पर्यटक फिर्ता लगेका छन् । नेदरल्याण्ड्सले मलेसिया एयरको जहाजबाट यात्रु फिर्ता लग्यो ।
अष्ट्रिया र चेक रिपब्लिकले समेत मलेसियन एयरबाटै यात्रु फिर्ता लैजाने तयारी गरिहकेको बोर्डको भनाइ छ । जर्मनीले समेत एउटा चार्टर्ड जहाज नेपाल पठाउने तयारी गरेको छ । कोरिया र बेलायतले पनि आफ्ना नागरिक फिर्ता लैजाने तयारी गरिरहेका छन् ।
‘यसका साथै पर्यटकहरु फिर्ता लैजान अन्तराष्ट्रिय उडान हुनेछन्, सीइओ रेग्मीले भने, ‘तर, अब काठमाडौं बाहिरबाट भने पर्यटक ल्याउँदैनौं ।’
‘जहाँ छन् त्यही बस्छन्’
विभिन्न जिल्लामा रहेका पर्यटकहरु शनिबारदेखि काठमाडौं आउन पाउने छैनन् । यसैबीचमा कतिपय पर्यटक स्वदेश फर्कन चाहेका छन् भने कतिपय आफ्नो देशमा कोरोनाको संक्रमण बढी भएको र नेपालमै सुरक्षित भइने ठानेर भिसा अवधि नसकिउन्जेल यतै बस्ने निर्णयमा पुगेका छन् ।
कतिपय पर्यटकको भने आफ्नो मुलुकले चार्टर्ड उडानको व्यवस्था नगर्दा नेपालमै बस्नुपर्ने बाध्यता आएको हो । सीइओ रेग्मीका अनुसार पोखरामा करीब १ सय जना विदेशी पर्यटक अझै बाँकी छन् । केही पर्यटक लुक्लामा समेत बसेका छन् । उनीहरु भने अब लकडाउन खुलेपछि मात्र बाहिर निस्कन पाउने भएका छन् ।
पर्यटन पुनरुद्धारको योजना
लकडाउनपछि सबैभन्दा चूनौतिपूर्ण काम नेपालभित्र फसेका पर्यटकलाई सुरक्षित घर फर्काउनु थियो । बोर्डका सीइओ रेग्मीका अनुसार नेपालबारे नकारात्मक छवी कायम नरहोस् भन्ने उद्देश्यले कठिन अवस्थामा पनि पर्यटकलाई सुरक्षित रुपमा घर फर्काइएको छ ।
यसले आगामी दिनमा नेपालबारे नकारात्मक प्रचार हुने अवस्था नरहेको उनको धारणा छ । ‘हामीले सुरक्षित रुपमा सबै पर्यटकलाई घर फर्काउने वातावरण बनाउन सकेका छौं,’ उनले भने ।
बोर्डले अब विपदमा थला परेको पर्यटन उद्योगलाई माथि उकास्नेखालका योजना निर्माणमा जुट्ने सीइओ रेग्मीको धारणा छ । ‘कोरोनाले सबैभन्दा बढी प्रभावित भएको क्षेत्रलाई माथि उकास्नु छ, अब हामी रिकभरी प्लानमा जुट्छौं’ रेग्मीले जनाए ।


















