– भरत दाहाल
तथ्यहरूलाई यथार्थपरक रुपमा नै बुझौं !
धनी नाफाका लागि रोइरहेको छ, गरीब ज्यानका लागि
महामारीको प्रकोप श्रोत-साधन र अवसरमा पहुँच नहुनेहरुका लागि हो। आदर्शको मुखौटो ओढेर ढोंगी उपदेश दिनेहरुले यस्तो विपत्तिमा कसैको विरोध नगरेर मिल्नु पर्ने तर्क गर्छन् तर यस्तै विपत्तिमा लुट मचाएर धन कमाउने भ्रष्टाचारी, तस्कर र काला बजारीया अपराधि गिरोहहरु कति सकृय छन् भन्ने कुराको दृष्टान्त हाम्रै देश छ। यो यथार्थताबाट निरपेक्ष भएर आलोचना र विरोध हुनु हुँदैन भन्नु नै अपराधको छाकछोप गर्ने अर्को अपराध हो।
अमेरीकामा लक डाउन गर्नु हुँदैन भन्ने ट्रम्पले यसको कारणका रुपमा ब्यापार र नाफा घट्ने कुरालाई अघि सारेका थिए। किनभने कोरोनाले शिकार बनाउने तप्का काला जाती र गरीबहरु थिए। उनीहरुलाई मारेर भए पनि नाफा रोक्नु हुँदैन भन्ने उनको बोलिको आशय थियो। हिंजोका दिनसम्म अमेरीकामा कोरोनाबाट मर्नेहरुमा काला जातिका मानिसहरुको प्रतिसत सिकागोमा ७२ %, मिचिगनमा ४० %, लुसियानामा ७० %, न्यू जर्सिमा ४५ %, विस्कोसिनमा ८१ % छ। अन्य राज्यहरुको हालत पनि यस्तै छ। अमेरीकामा गरीब भनेका अधिकांस काला जातिका मानिसहरु नै हुन्। यूरोपमा मर्ने ७० % भन्दा बढी मानिसहरु गरीबको श्रेणिभित्रै पर्दछन्।
फ्रान्सका २ जना अनुसन्धानकर्ता डाक्टरहरुले कोरोना भ्याक्सीनको प्रयोग अफ्रिकामा गर्नु पर्छ भने पछि यसको विश्वब्यापी रुपमा निन्दा भैरहेको छ। तिनीहरुले अफ्रिकनहरुलाई ‘मानव सुंगुर’का रुपमा प्रस्तुत गरेका थिए। र विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. गेब्रेयसोस र विश्व प्रख्यात अफ्रिकन फूटबलर डिडियर ड्रोग्बाले यसको निन्दा गर्दै अफ्रिका कसैको प्रयोगशाला नभएको टिप्पणी गरेका छन्। ‘लक डाउन’का विषयमा ट्रम्पको भनाई र अफ्रिकीहरुप्रति फ्रेञ्चहरुको यो मानसिकताले पश्चिमाहरुमा अपराध भावना कति प्रबल छ भन्ने देखिन्छ। पैसा हुँदैमा र विज्ञानका कुराहरुको खोज गर्दैमा मानिस सभ्य बन्दैन भन्ने कुराको नमूना हो यो।
नेपाल पश्चिमा देश होईन तर यहाँको राज्य प्रणाली र राजनीतिक स्कूलिङ पश्चिमाहरुको हस्तान्तरण हो। त्यसैले त ट्रम्पले नाफाका लागि ‘लक डाउन गर्नु हुँदैन’ भने जस्तै यहाँका अपराधिहरुले महामारीका बेला औषधि आयातमा लुट मचाउँछन् र कालो बजारी गर्छन्। यहाँका अपराधिहरुको दिमागमा पनि धमिलो वातावरण भएका बेला शिखण्डीको भूमिका निर्वाह गरिहाल्नु पर्छ भन्ने छ। कोरोना आसंकित उपचारमा निजि अस्पतालहरुको बहिष्कार, राहत वितरणमा सुरु भएको भेदभाव, नेपालको विकासका लागि आएको भनेर पाखण्ड प्रदर्शन गर्ने एनजिओहरुको उदासिनता सबै कुराले नेपालको सत्ता अपराधिहरुको कब्जामा छ भन्ने देखाउँछ। विदेशमा गएका श्रमिक नेपालीहरुको गुनासो दूताबासले नसुन्नु स्वाभाविक छ। किनभने राजदूतहरु देशको र नागरिकहरुको हितमा काम गर्न नियुक्त गरिएका हुँदैनन्। तिनीहरुमध्ये अधिकांशले शासकहरुलाई मोटो रकम बुझाएर आफ्नो धन्धा गर्न नियुक्ति लिएका हुन्छन्। तिनीहरुको काम म्यान पावरहरुसंग मिलेर मानव तस्करी र कालो धन्धा गर्ने हो।
यहाँको दलाल अपराधि सत्ताले न विदेशका नेपालीहरुको चित्कार सुन्नेवाला छ, न त कोरोना भयले विदेशबाट भागेर देश पसेकाहरुको स्वास्थ्य देखि जिविकासम्मका समस्या हेर्नेवाला छ। यीनीहरुले विदेशी डिजाईनमा नेपालीहरुलाई देशबाट निकाल्नु थियो र वैदेशिक रोजगारीको लालीपप देखाएर निकाले। अपराधि वर्गलाई नचिन्नु र त्यसका पछि लाग्नुको नतिजा अब नेपाली नागरिकले भोग्छ। ‘लक डाउन’ श्रोत-साधन र अवसर नभएकाहरुका लागि काल हो। आम्दानी, अवसर र स्वास्थ्य तथा शिक्षामा हुने असमान वितरण प्रणालीले एउटा समस्याबाट बच्न प्रयास गर्दा त्याे भन्दा भयावह संकट उत्पन्न गर्छ भन्ने कुराकाे प्रमाण ‘लक डाउन’मा गरीब र बेराेजगारहरूकाे बेहाल हाे।
हुनेखाने लुटेराहरुले बर्षदिनलाई पुग्ने जम्मा गरेर राखेका छन्। उनीहरुसंग चाहेको बेला उपचार गर्न सक्ने आर्थिक हैसियत र पहुँच छ तर मर्ने आम्दानीको श्रोत नभएको नागरिक हो। आफ्नो धर्ती र घरआँगनलाई उपेक्षा गरेर छोड्दा एकदिन आउने विपत्तिले सबै स्वाहा पार्दो रहेछ भन्ने कुरा बुझेर अपराधि सत्तासंग छाकबास र अधिकारका लागि लड्ने संकल्प गर्नु नै सबैभन्दा ठूलो बुद्धिमानी हो। श्रमले समेत काम नपाएपछिको अवस्थामा आफ्नो आँगन र छिकेकी ईष्टहरु नै एक मात्र आश्रय हुने रहेछन् भन्ने तथ्य कोरोना विपत्तिले सिकाएको छ। यसबाट शिक्षा लेऔं !

















