सप्तरी – जिल्लाकाे खडक नगरपालिकामा ‘लकडाउन’ पालना गराउनेक्रममा खटिएका प्रहरी देख्नेबित्तिकै बेहोस भएर एक वृद्धाको ज्यान गएको छ ।
खडक नगरपालिका वडा नम्बर–६, वीरपुरकी ६५ वर्षीया वृद्धा जैनव खातुन सोमबार आफ्नै घरअगाडिको ट्रयाक्टर घरभित्र लग्नेक्रममा प्रहरी देख्नेबित्तिकै बेहोस भइ ढलेकी थिइन् ।
प्रहरीले लकडाउन तोडेको भन्दै लाठी उठाउनेबित्तिकै उनी बेहोस भइ ढलेको र उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लग्नेक्रममा उनको बाटोमै मृत्यु भएको हो ।
मृतक जैनव मुटु र दमको रोगी रहेकोले हृदयाघात भएको हुनसक्ने अस्पतालले जनाएको छ । शव ‘पोस्टमार्टम’का लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ ।

















