काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णालीले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अघि बढाइएका सरकारी प्रयासलाई सघाउ पुग्ने गरी कार्यकर्ता परिचालन गर्ने भएको छ ।
त्यस्तै नेकपाले कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारको व्यवस्थापनलाई सहज बनाउन कर्णाली प्रदेशलाई सुर्खेत, जुम्ला र चौरजहारी गरी तीन वटा केन्द्रमा विभाजन गरेको छ । कर्णाली प्रदेश सरकारले यी स्थानका अस्पतालमा सङ्क्रमितको उपचार गर्ने गरी आइसोलेसन वार्ड निर्माण गरिसकेको छ । चौरजहारीमा प्रदेश सहइञ्चार्ज कालीबहादुर मल्ल, सुर्खेतमा प्रदेश सचिव मायाप्रसाद शर्मा र जुम्लामा प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीलाई संयोजन गर्ने जिम्मेवारी दिएको छ । पार्टी केन्द्रीय सदस्यलाई आ–आफ्नो जिल्लामा परिचालित हुन निर्देशन दिएको छ ।
प्रदेश कमिटीले स्थानीय तहमा पाँच–सात घरको सहकार्य युनिट निर्माण गर्न सर्कुलर गरेको छ । उक्त युनिटले आपसमा मिलेर जनताका समस्या सहजीकरण गर्नेछ । अध्यक्ष बोगटीले भन्नुभयो, “पहाडको ठाउँमा मेलापात गर्नुपर्ने हुन्छ, यतिबेला अन्नबाली पाकिरहेको छ”, अन्नबाली भित्र्याउन त्यही युनिटलाई परिचालित भएर काम गर्ने व्यवस्था गर्दैछौँ, खाद्यान्नको समस्या भए प्रदेशमा रिर्पोटिङ गर्न सर्कुलर गरेका छौँ ।” सर्कुलरमा वडास्तरमा एउटा व्यवस्थापन समिति तथा शीघ्र उद्धार कार्यदल गठन गर्न भनिएको छ ।
स्थानीय तहमा कुनै समस्या आएमा जिल्लाले संयोजन गरेर विपद् व्यवस्थापन समितिमार्फत समाधान गरिनेछ । जिल्लाले पनि नसके प्रदेश कमिटीमा पठाउने र प्रदेश सरकारमार्फत समाधान खोजिनेछ । बैठकले खाद्य अवस्थाको अध्ययन गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ । जसले खाद्यान्न आपूर्ति तथा राहत वितरण कार्य प्रभावकारी हुने अपेक्षा गरिएको छ । राससबाट