हामी किन यति धेरै कमजोर भयौं ?

141

 युवराज संग्रौला

जब राष्ट्र कमजोर हुन्छ, त्यसले अनेकौं समस्याहरु भोग्न बाध्य हुन्छ, तर एउटा समस्या भने सबैभन्दा डरलाग्दो हुन्छ– त्यो हो, जनतामा अनुशासनको ठूलो अभाव हुन्छ । यो सन् १९१२ मा पेकिङ्ग विश्वबिद्यालयका एकजना प्राध्यापकले भनेको भनाइ हो । त्यसबेलाको चीन अहिलेको नेपालजस्तै थियो, झन्डै झन्डै । अनेकखालका विदेशी एजेन्टहरु चीनमा अनेक किसिमका खेलहरु खेलिरहेका थिए । जर्मनलाई हराएर जापानले चनीको सान्डोङ्ग प्रान्त आफ्नो हातमा पारेको थियो । क्रिश्चियन मिसनरीहरु गरिब चिनियाँलाई पैसा दिएर रिलिजन परिबर्तन गराइरहेका थिए । प्रथम बिश्वयुद्ध सकिएको थियो र पेरिसमा शान्ति सम्मेलन हुँदा चिनियाँ प्रतिनिधिहरुले अपमानजनक सन्धिमा हस्ताक्षर गरे, जसले चीनमा आन्दोलनको आँधीहुरी निर्माण गर्यो, त्यसले चीनमा देशवादको चेतना निर्माण गर्यो । अमेरिकाले चीनलाई सहयोगको आश्वासन दियो, तर गरेन । उसको आफ्नै स्वार्थ थियो । त्यसबेला एकजना प्राध्यापकले भनेका थिए, संकटबाट राष्ट्रलाई बाहिर निकाल्न परम्परावादी सोचले सक्तैन, नयाँ बिचारको आवश्यकता पर्छ, तर त्यसबेला चीनमा नयाँ विचार थिएन । देश युद्ध सरदारहरुको अराजकतामा थियो र अधिकांश बुद्धिजीबी पनि अवसरवादी, अहिलेको नेपालमा जस्तै । नेपालको अवस्था अहिले त्यसबेलाको चीनको अवस्था जस्तै छ ।

१. मानव सभ्यताको इतिहासको विश्लेषणले के देखाउँछ भने कृषि क्रान्तिको चरणमा प्रवेश गरेको मानिसले आफ्ना ठूलठूला समूहलाई एकीकृत राख्न ‘अनेक कल्पित अवधारणा’ निर्माण गर्दै गयो र त्यसैक्रममा राज्य र राजाको अवधारणाको पनि निर्माण गर्यो । लाखौंलाख मानिस आवद्ध गर्न साम्राज्यको अवधारणा करिब ४००० बर्ष पहिला गर्यो । साम्राज्यलाई धन र शक्तिको आवश्यकता हुन्थ्यो । तब युद्धको प्रचलन आयो । तब रिलिजनलाई साम्राज्यको औचित्यता पुष्टि गर्ने साधनको रुपमा विकास गरियो– साम्राज्य र सम्राट नै रिलिजनका संरक्षक बने।  रोमन क्याथोलिक चर्चले पोर्चुगलका राजा अल्फान्सोलाई रोमनास पोन्टिन्फ्याक्स जारी गर्दै भने ‘असभ्यहरुलाई समाप्त पार र उनीहरुको धन लुट ।’ तब १६औं शताब्दीबाट आयो संसारमा उपनिवेशवादको लुट, आमहत्या, र अत्याचार । साम्राज्यवादले उपनिवेशवादद्वारा भ्रष्ट पुँजीवादलाई जन्मदियो । पुँजीवादले उपभोक्तावादलाई जन्म दियो । इतिहासविद् हरारी भन्छन्, मानव सभ्यतामा पछिल्लो १०००० बर्ष आफैमा एउटा ‘सफेद ठगी’ थियो ।

२. सन् १९४५ मा अमेरिकाको न्यु मेक्सिकोको मरुभूमिमा जब एटमबम परीक्षणका लागि पहिलो डिटोनेट (विस्फोट) गरियो, त्यसका वैज्ञानिक ओपेनहाइमरले भगवत गीताको शोल्क सम्झिए र उच्चारण गरे ‘म मृत्यु हुँ । अब म संसार ध्वस्त गर्छु ।’ यही बम जापानमा खसाल्ने कुरा भयो । वैज्ञानिकहरुले त्यसो नगर्न अनुरोध गरे । वासिङ्टनका रणनीतिकारहरुले भने ‘हामी लाखौं अमेरिकी सेनाको बलि चढाउन सक्तैनौं । तब हिरोसिमा र नागासाकीमा एटमबम फुट्यो । लाखौं निर्दोष मानिसको ज्यान लियो त्यसले । आज २१औं शताब्दीमा पनि ‘इम्पेरियल मिसन’ जिउँदै छ । यसलाई पनि धन र गौरव चाहिएकै छ ।

३. औद्योगिक क्रान्तिले मेसिनको प्रयोगबाट बस्तुहरु उत्पादन गर्न शुरु गर्यो । यसका लागि धन चाइन्थ्यो तब ब्रिटिस, फ्रान्सलगायतका साम्राज्यवादीहरु धन लुट्ने अभिष्ट बोकेर एसियालगायतका देशमा पसे । असीमित धन लुटे । उता उनीहरुका गाउँबाट मानिस शहर पसे । उद्योगका मालिकले उनीहरुका आफ्नै गरिब मानिसको पनि चरम शोषण गरे । कामदार पुगेनन् त्यसैले दास ब्यापार शुरु गरे । लाखौं मानिसको हत्या गरे । अफ्रिकालाई दास उत्पादन गर्ने भूमिमा परिणत गरे । नेपालजस्तो सानो देश ब्रिटिस साम्राज्यवादको रक्षा गर्ने सिपाही उत्पादन गर्ने देशमा परिणत गरे । हाम्रो इतिहास र गौरव नष्ट गरिदिए । हामी अरुमाथि अत्याचार गर्ने साम्राज्यवादको रक्षा गर्ने खेताला बन्यौं । गोर्खा रेजिमेन्टको नाममा ‘लाहुरे’ संस्कृति निर्माण गरिदिए । नेपालमा नै कृषि उत्पादन गर्ने युवा ब्रिटिसका भाडाका सेना बनाइए । नेपालमा उपनिबेशको भौतिक अस्तित्व थिएन तर नेपालको जनसंख्या उपनिवेशमा परिणत भयो यसरी । तर यो कलंक समाप्त गर्ने शासक देशले अहिलेसम्म पाएन ।

४. नेपालका शासकलाई कहिले पनि के हेक्का भएन भने, नेपालको कृषि आधुनिकीकरण नगरी देशमा समृद्धि निर्माण गर्न सकिन्न । त्यतिमात्र होइन नेपालको कृषि समाप्त पार्न, नेपाली युवालाई डाइभर्सिटी भिसा, बैदेशिक रोजगार र स्थायी बसोबास भिसा दिएर विदेश लगिन्छ । इराकमा आक्रमण पछि अरब पश्चिमको पूर्ण अधीनमा आयो । युरोप र अमेरिकालाई सस्तो जनशक्ति चाहियो, त्यसैले वैदेशिक रोजगारको विष निर्माण गरियो । त्यसकै लागि नेपालमा नवउदारवाद लागू गरी देशमै रोजगारी दिने सबै उद्योग लिलाम गर्ने षड्यन्त्र विदेशीले गराइदिए । दुई चार वर्षमै सबै उद्योग समाप्त पारिदिए । अहिले देश ज्ञान र मानिसको खडेरीको सामना गर्न बाध्य छ । राजनीतिक नेतृत्व आज पनि अन्धकारमा छ । गाउँ रित्ता छ्न, जमिन बाझा छन, माफियाहरु गाउँका भित्र पनि डोजर लगाएर प्लटिङ्ग गर्दै छन, मन्त्रीज्यु किसानका हातमा पैसा पुग्ने नीति निर्माण गर्दै हुनुहुन्छ तर पार्टी दोएर खानेहरु नक्कली संस्था बनाएर राज्यले दिएको अनुदान पच पारिरहेका छन् । अहिले कोरोनाको कहर छ, तब पो थाहा भयो हामी त क्षमताको शून्यमा रहेछौं । हाम्रा विश्वविद्यालयहरुको भूमिका देखिइयो । १०–१२ वटा मेडिकल कलेजमा के अनुसन्धान भैरहेको छ ? मेडिकल शिक्षा पनि शून्य रहेछ । हाम्रा ठूला ब्यापारी र मानिसको जीवनमा पो ब्यापार गर्दा रहेछन् ।

५. कृषिको आधुनिकीकरण नभै औद्योगिक क्रान्ति हुँदैन भनेर सामान्य मानिसको माया गर्ने विज्ञहरु भन्छन् । तर हाम्रो त विकासको जग कृषि नै ध्वस्त भएछ । हामीसँग एनआरएन छन् । हामीसँग एनजिओ छन् । हामीसँग पार्टी छन् । तर हामीसँग अनुशासन रहेनछ । हामीसँग कुण्ठित मनोवृत्तिका विज्ञहरु रहेछन्, हामीसँग भ्रष्टाचार गर्ने अनेक उपाय रहेछन्, हामीसँग नैतिकता रहेनछ, त्यसैले हामीसँग गरिबी रमाउँदो रहेछ ।

६. सन् १९१२ मा चिनियाँ एक प्राध्यापकले भनेका थिए, ‘चीनको निर्माण गर्न एक बलियो दिमाग र बलियो दिमाग भएका बुद्धिजीवीको आवश्यकता छ । हामी इम्परियल मिसन र समृद्धि दुई धारमा छौँ । हामीले विदेशीको हस्तक्षेप र लम्पट प्रवृत्ति समाप्त गर्नुपर्छ ।’ महात्मा गान्धीले देशमा उत्पादन र उद्योग बढाउन चर्खा आन्दोलन गरे । भारत पनि धनी भयो, उसले कोरोना जाँच गर्ने आफ्नो मेसिन आफै बनायो । हामीसँग न विज्ञान छ न उन्नत संस्कृति । हामीसँग त केवल गफ, ढाटीकला, बेइमानी र देश सराप्तै विदेशिने मति मात्रै रहेछ । हामी विदेशी लादेका रणनीतिक जोखिम बोक्न बाध्य छ । हाम्रा शासकहरुमा साम्राज्यका चाल बुझ्न पारख छैन । हाम्रो देशभक्ति ओइलाएको छ । हामी भ्रमबाट ग्रसित छौँ । हामी आधा मृत्यु जस्तो निन्द्रा निदाइरहेका छौँ । अब जागौं र केही गरौँ । अझै पनि केही गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here