लक डाउन मात्र समस्या समाधान होइन

262

  –निशा तामाङ

हालसम्म कोरोना भाइरसबाट प्रभावित देशहरु मध्ये अमेरिका अग्रस्थानमा रहेको छ । संसारकै सम्पन्न र शक्तिशाली देशका रुपमा आफ्नो परिचय बनाएको अमेरिका किन यति नराम्रोसंग एउटा सानो भाइरसबाट पराजित भएर मृत्युलाई आत्मसात गर्न बाध्य भैरहेको छ भन्ने प्रश्नले जवाफ पाउन सकिरहेको छैन । यो देश किन बढि संक्रमित बन्न पुग्यो भन्ने प्रश्न सबैको मुखमा झुण्डिएको पाइन्छ । यो आश्चर्यको बिषय भएको छ कि अमेरिकाले सबै क्षेत्रमा बिकास गरेको भए पनि स्वास्थ्य क्षेत्रमा किन यति कमजोर देखियो ?

यी शब्दहरु लेख्न बस्दाको समयसम्म अमेरिकामा ६ लाख भन्दा धेरै मानिसहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् भने २४ हजार भन्दा धेरैले ज्यान गुमाइ सकेका छन् । संसारकै आंकडामा यो संख्या २० प्रतिसतको नजिक हुन आउँछ । अमेरिकाको जनजीवन अस्तव्यस्त भैरहेकाे छ । तैपनि अमेरिकामा स्वनियन्त्रणमा बस्न नचाहनेहरुलाई बाध्यात्मक लक डाउनको आदेश छैन । यस्लाई अमेरिकी सरकारको प्रजातान्त्रिक ब्यवहार भन्ने कि गैह्रजिम्मेवारीपनको पराकाष्टा भन्ने ? प्रश्न खडा भएको छ ।

संसारका अन्य कतिपय देशहरुमा लामो अवधिका लागि लक डाउन आदेश जारी गरिएका छन् । हाम्रो देश नेपाल पनि तीन हप्ता लामो लक डाउनको कष्टकर अनुभवका साथै नराम्रो नियति भोग्न बाध्य भैरह्को छ । सर्वसाधारण जनता घर भित्रै थुनिएर ज्यान गुमाउनु पर्ने अवस्था पनि आउन सक्ने अनुमान बिश्लेषकहरुले गरिरहेका छन् । छिमेकी देश भारतसंगको खुला सिमानाका कारण नेपालको लक डाउनले कोरोना भाइरसको संंक्रमणलाई रोक्न सकिरहेको छैन । भारतबाट कोरोना संक्रमितहरुको नेपाल आगमन  सहज रुपमा भैरहेको छ भन्ने कुरा सिमाक्षेत्रको नेपाली भूमिमा कोरोना संक्रमित भारतीय नागरिक भेटिएबाट पुष्टि हुन्छ । यस्तो कसरी सम्भव हुन सक्यो भन्ने कुराले नेपाली जनमानसलाई आतंकित बनाइरहेको छ भने संगसंगै सरकारप्रति आक्रोश पनि बढाएको छ । सरकारले लक डाउनको आदेश र आशंकित ब्यक्तिहरुको स्वास्थ्य परिक्षण गर्दैमा मात्र कोरोना संक्रमणको सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सकिदैन ।

कोरोना भाइरसको संक्रमण सर्वप्रथम चीनको वुहान शहरमा देखिएको हो भन्ने कुरा सबैलाई जानकारी भएकै बिषय हो । नेपाल सरकार पनि यो जानकारीबाट बिमुख छैन । त्यसैले पनि चीनले भाइरसलाई कसरी सहज रुपमा नियन्त्रणमा लिन सफलता हासिल ग¥यो भन्ने कुरा नेपाल सरकारलाई बुझ्न कठिन छैन । चीनले मानव क्षति पनि अन्य देशहरुको तुलनामा  धेरै हुन दिएन । यी सबै कुरा जानकारी हुँदा हुँदै पनि नेपाल सरकारले चीनबाट सिक्ने प्रयास गरिरहेको छैन । लाग्छ, अमेरिका र भारतले झैं नेपालले पनि चीनलाई प्रतिस्पर्धी मुलुक ठानिरहेको छ !

चीनले नेपाललाई कोरोना संक्रमणमा उपचार सामग्री र औषधीसमेत सहयोग गर्ने प्रस्ताव गरेको थियोे । सार्वजनिक रुपमै चीनियाँ दुतावासले सहयोगको प्रस्ताव गरेको थियो । तर नेपाल सरकारले त्यो सहयोग लिन आनाकानी ग¥यो,आखिर किन ? यो प्रश्न प्रत्येक नेपाली नागरिकहरुमा उब्जिएको छ । पछि औषधी र उपकरणहरु चीनबाटै महँगो मूल्य तिरेर निजी स्तरबाट आयात गर्न खोजिएको घटनाले नेपाल सरकारको बदनियतलाई उदाङ्गो बनायो । त्यस घटनाको चर्चा धेरै भैसकेको छ , यहाँ शब्द खर्च गरिरहनु कुनै आवश्यकता छैन ।

मुख्य कुरा कोरोना भाइरसको संक्रमणबाट कसरी बच्ने भन्ने नै हो । चीनले कोरोना संक्रमणलाई सजिलै नियन्त्रण गर्न सफलता हासिल गरेको बिश्व जगतले नै देखिरहेको छ । हामी त झन् सबै भन्दा निकटस्थ छिमेकीका हैसियतले सबै अवस्थाबोध गरिरहेका छौं । चीनले कोरोना संक्रमित बुहान शहरलाई मात्रै लक डाउनमा राखेर कोरोनाको प्रकोपलाई न्यूनीकरण गर्न सफल भयो । तर हामी भारतको सिको गरेरै बहादुरी देखाइरहेका छौं र संक्रमणलाई बढाएर देशलाई भयावह अवस्थातिर घचेट्ने मूर्खतातिर लागिरहेका छौं ।

यस्तो अवस्थामा सरकारले गर्नु पर्ने काम के हो त भन्ने सुझाव पनि यहाँ प्रस्तुत गर्नु सामयिक नै होला ? १– सर्वप्रथम सम्पूर्ण शक्ति प्रयोग गरेर सक्रिय रुपमा कोरोना संक्रमित क्षेत्र पहिचान गर्ने , २–संक्रमितहरुलाई क्वारेन्टाइनमा राखेर उपचार सुरु गर्ने र त्यो क्षेत्रलाई मात्र १४ दिनसम्म लक डाउनमा राखिहाल्ने, ३– बाहिरबाट हुने आवागमनलाई कडाईका साथ रोक्ने , ४–लक डाउनमा राखिएको क्षेत्रका बासिन्दालाई आवश्यक दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति तर्फ ध्यान दिने । यत्ति मात्र गर्ने हो भने कोरोनाको संक्रमणलाई रोक्न हामी सजिलै सफल हुने छौं र लक डाउनको अवधि बढाईरहने भारतीय मूर्खताको पछि लागिरहनु पर्ने बाध्यात्मक अवस्थाबाट पनि हामी अवश्य बच्ने छौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here