-शम्भुराम जोशी
सोभियत संघको पतन पश्चात पुजिवादी अर्थतन्त्रलाई नै अन्तिम विकल्पको रूपमा लिदै फुकियामाले विश्व चर्चित ‘ द ईण्ड अफ हिस्ट्री ‘ शिर्षकमा लेखै लेखे। एउटा कुरा के निश्चित छ बजारको हालीमुहाली हुने पुजिवादी आर्थिक प्रणाली त्यति बेलासम्म बढीया ढंगले काम गर्नसक्दछ जतिबेलासम्म अर्थतन्त्रमा कूल माग र कूल आपुर्तिमा कुनै व्यवधान आउदैन । तिनिहरूलाई बिभिन्न तत्वहरुले असर गरिरहेका हुन्छन् जो निरन्तर परिवर्तित भईराख्छन् त्यसैले अर्थशास्त्रका सिद्धान्तले भने जस्तो सहि भविष्यबाणी गर्न सकिदैनन् ।
कुनै पनि मुलुकमा समय समयमा देखा पर्ने बिभिन्न महामारीले आर्थिक क्षेत्रलाई पनि दस्प्रभावित गर्छन् । हतपति कोभिड – १९ को अहिलेको कहर खत्तम हुने संभावना देखिदैन । विगतमा पनि समय – समयमा देखा परेका यस्तै प्रकारका अनेकौं कष्टहरू बाट पार पाउन लामो समय लागेको कुरा देखिएकोले विश्वका औषधि विज्ञानका वैज्ञानिकहरूको अथक प्रयाशबाट औषधि पत्ता नलागुन्जेल यो संकट महिनौं लम्बिदै गएर नेपाल जस्ता मुलुकहरूमा खाद्यन्नको समस्या देखिने सम्भावना छ ।
कोभिड – १९ ले नवउदारवादी पुजिवादी आर्थिक प्रणालीलाई नै धक्का दिने अवस्था देखिदै गईराखेकोछ । पुजिवादले यस अघी पनि पटक पटक धक्का खाएकै हो — चाहे यो सन् १९२९ देखि १९३३ सम्मको महान् आर्थिक मन्दि होस् , द्वितीय विश्व युद्धको समाप्ति लगत्तै पश्चिम युरोपका मुलुकहरू तत्कालीन सोभीयत रूसको प्रभावमा जाने सम्भावना होस् अथवा सन् २००८ मा अमेरिका र युरोपियन युनियनका मुलुकहरूले सामना गर्नु परेको आर्थिक सुस्ततानै किन नहोस् ।
संसारमा कुनै दर्शन , वाद वा कुनै कुरा पनि स्थिर छैन । हाल यस महामारीले निर्विकल्प मानिएको नवउदारवादी पुजिवादी आर्थिक प्रणालीको धोति फुस्काउदै गरे पनि यसैका कारण त्यो छिट्टै नै खत्तम भएर जान्छ भन्ने अनुमान गर्नु भने छिट्टै होला । तर त्यो प्रणाले यहि रूपमा दीर्घकालसम्म निरन्तरता पाईराख्न भने संभब छैन ।
स्वास्थ सेवासमेत निजि क्षेत्रलाई सुम्पनु पर्ने कुरामा विस्वास गर्ने यो नव उदारवादी पश्चिमी पुजिवादी अर्थतन्त्र यस महामारीको नियन्त्रणमा असफल देखिएबाट यस प्रणालीप्रति आकर्षण र विस्वास कम हुदै जाने परिस्थितिको निर्माण हुदै छ । आजको समयमा यस महामारीबाट विश्वको आर्थिक महाशक्ति अमेरिकामानै विश्वका अन्य मुलुकहरू सबैभन्दा धेरै मानिसहरूको मृत्यु भएको परिस्थितिमा त्यहाँको यहि आर्थिक प्रणालीको पनि हात छ। यो महामारी जति धेरै लम्बिएर जान्छ त्यति नै यो अर्थ प्रणालीले खानु पर्ने धक्का भने कठोर हुने र अन्तराष्ट्रिय मुद्रा कोषका अनुसार विश्वको अहिलेको वित्तीय प्रणालीमा ठूलो आघात पुग्ने छ ।
पुजिवादी अर्थप्रणालीले आफुलाई जिवित राख्नका लागि अब सरकारी र निजि साझेदारीको मोडेलमा नगई सुख हुनेछैन । आर्थिक मामलामा सरकार पहिलेको जस्तो सुतेर बस्ने होई कि यसले पर्याप्त सकृयता देखाउनु पनि पर्ने र निजि क्षेत्रलाई पनि यथोचित स्थान दिदै लोककल्याणकारी राज्यको सिद्धान्तलाई आँउदा दिनहरूमा अवलम्वन गरिनुपर्छ भन्ने धारणाले प्रवलता पाउने संभावना देखिदैछ । आर्थिक धारणामा देखिने यस्तो परिवर्तनले विश्वका समस्त मुलुकहरूलाई प्रभावित हुनेछन् ।
अहिलेको अवस्थामा दुई बर्ष गरेर विश्व अर्थतन्त्रले करीब ९ ट्रिलीयन अमेरिकी डलर बराबरको नोक्सान खप्नु पर्नेछ जुन जापान र जर्मनीको अर्थतन्त्रको जोडेर आउनेभन्दा धेरै रकम हो भन्ने कुरा अन्तराष्ट्रिय मुद्रा कोषकी मुख्य अर्थशास्त्रि गीता गोपीनाथले ब्लूमबर्ग टि.भि. लाई दिएको एउटा अन्तरवार्तामा वताएकीछिन् ।
नुरियल रोबिनीले लेखे अनुसार विश्व अर्थतन्त्रले सन् २००८ ताका झेल्नु परेको समस्याको तुलनामा कोभिड -१९ ले जन्माउने समस्या झन भयावह हुनेछ । त्यतिबेला देखापरेका आर्थिक समस्याहरू ३ हप्ताकै अवधिमा नै देखा पर्न गईराको छ । अमेरिकाले ज्यादै विषम परिस्थितिको सामना गर्नु पर्ने उनको आँकलन छ ।
मोर्गन स्टान्ले र गोल्डम्यान साच जस्ता वित्तीय फर्महरूले अमेरिकाको कूल गार्हस्थ उत्पादन पहिलो चौमासिकको अवधिमा ६ प्रतिसत र दोस्रोमा २४ देखि लिएर ३० प्रतिसतसम्म घट्ने अनुमान गरेकाछन् । वेरोजगारीको समस्यासंग जुधिराखेको त्यो मुलुकमा उक्त दर २० प्रतिशत पुग्न जानेछ , जव कि सन् २००८ को वित्तीय संकटमा त्यो दर केवल १० प्रतिसत मात्रै रहेको थियो । अमेरिकामा मा औद्योगिक अर्थतन्त्रको आर्थिक उत्थानका लागि सरकारले उद्योग क्षेत्रको उत्थानका लागि ऋण उपलव्ध गराउने पहल गर्नेछ तर यसरी अत्याधिक ऋण लिई सकेको उक्त क्षेत्रलाई फेरी ऋण थप्दा त्यसले अर्को आर्थिक समस्याको सृजना गर्ने पनि त्यत्तिकै संभावना रहनेछ ।
प्रायः सवै मुलुकहरूले विश्वव्यापिकरणको अवधारणालाई आत्मसात गरिसकेको यस अवस्थामा सर्वशक्तिशाली अमेरिका र विकसित पश्चिमी युरोपेली मुलुकहरूमा देखिने समस्याले विश्वको कुनै पनि भाग अछुतो रहनेछैन भन्ने कुरा सन् २००८ मा अमेरिकामा देखापरेको वित्तीय संकटले निम्त्याएको आर्थिक संकटको मारबाट पूर्णरूपमा कोही पनि बच्न नसकेको र विश्व अर्थतन्त्र नै प्रभावित भएको तथ्यले प्रष्टयाउदछ । कोभिड – १९ को महामारीले गर्दा अमेरिकाले झेल्नु परेको दवावको अध्ययन हामीहरूका लागि पनि आवश्यक हुन्छ , किनभने प्रत्यक्षरूपमा नभए पनि अप्रत्यक्ष ढंगले त्यसले नेपाल जस्तो टाढाको मुलुकको अर्थव्यवस्थालाई समेत प्रभावित नगरी राख्नेछैन ।
कोभिड – १९ का कारणले सन् १९२९ को महान आर्थिक महामन्दीपछिको सबैभन्दा विकराल आर्थिक समस्याको भुमरिमा अमेरिकी मात्रै नभएर समस्त विश्व अर्थतन्त्र पर्दैछ अर्थात मन्दिको अवस्था देखिदैछ । मन्दि कुनै पनि मुलुकको अर्थव्यवस्थाका लागि सबैभन्दा कठिनतम् अवस्था हो । विश्वका प्रायः जसो सबै भागहरूमा उत्पादन , उपभोग , लगानी , पुजिगत खर्च जस्ता सम्पूर्ण आर्थिक कृयाकलापहरू बन्द हुन गएका कारणले अब निम्तिने मन्दिको संकटबाट विश्व अर्थतन्त्र निरन्तर खस्कि रहने तर त्यो कति समयपछि पहिलेकै अवस्थामा छिट्टैनै फर्केला भन्न गाह्रो छ । यो महामारीको कारण देखा पर्ने मन्दि अंग्रेजी अक्षरको ‘आई ( I )’ को आकारको हुने आँकलन विश्लेषकहरूले गरेकाछन् । सम्भवतःअहिलेको अवस्था विश्व युद्धहरूको भन्दा डरलाग्दो हुनेछ भन्ने पनि आँकलन गर्न सकिन्छ , किनभने ति युद्धहरू चलिराखेको समयमा पनि अमेरिका लगायत मुलुकहरूले आर्थिक उत्पादनलाई गति दिएकै थिए र विश्व आर्थिक वृद्धि दर अहिलेको जस्तो विजोगपूर्ण अवस्थामा पुग्ने अवस्था थिएन ।
के विश्व अर्थतन्त्रको तस्बिर अहिलेकोभन्दा बेग्लै हुने संभावना देखिदैछ ?
कोभिड – १९ को यस महामारीका कारण विश्वका सबै जसो औद्योगिक मुलुकहरूका अर्थतन्त्र तहसनहस हुने अवस्था देखिदैछ । ए थान यू र द डलर ट्र्याप पुस्तका लेखक इश्वर प्रसादका अनुसार अनुसार कोभिड – १९ को चीनको जस्तो नियन्त्रित अर्थव्यवस्था भएको मुलुकको हकमा भने यो महामारीको मार बजार अर्थव्यवस्थालाई आत्मसात गर्ने अमेरिकाको तुलनामा कम हुनेछ किनभने त्यहाँ सरकारलाई उद्योग र बैंकलाई अपेक्षित दिशा प्रदान गर्ने राज्यको अधिकारलाई चुनौति दिन सक्ने अर्को कुनै शक्ति हुदैन । यसबाट यो महामारीका कारण विश्व अर्थतन्त्रको बागडोर चीनको हातमा पुग्ने खालको उनीहरूको अनुमान रहेको जस्तो देखिन्छ। हुन पनि आफ्नो यहि विशेषताका कारण नै २००८ को विश्वव्यापि संकटको चीनिया अर्थतन्त्रमा अन्य मुलुकको भन्दा कम दुष्प्रभाव परेको थियो ।
तर चीनले आफ्नो अर्थन्त्रलाई सुधारोन्मूख अवस्थामा लग्न सफल भईहाले पनि दोस्रो लहरको कोरोना भाईरसको संक्रमण र विश्व आर्थिक मन्दिले चीनलाई चैनको सास फेर्न दिने छैन , बढ्दो वेरोजगारी, कमजोर आन्तरिक तथा वाह्य माग पनि यसका समस्या रहनेछन् भन्ने पनिउनीहरूको आसय छ ।
यो आर्थिक मन्दिको कहिले अन्त्य हुन्छ ?
यसको मूल जड कोभिड – १९ ले जन्माएको स्वास्थ संकट हो । अहिले देखा पर्ने भनिएको आर्थिक मन्दि सन् १९२९ को महान् आर्थिक मन्दि र सन् २००८ को महान् आर्थिक सुस्तता भन्दा फरक यस अर्थमा छ कि उनिहरूको प्रारम्भिक विन्दु अधिक समग्र पुर्तीको तुलनामा न्यून समग्र माग थियो भने अहिलेको भनेको स्वास्थ संकटका कारण उत्पन्न न्यून समग्र पुर्ति हो । जवसम्म यस उक्त महामारीको निराकरणको समाधानको भरपर्दो उपाय निस्किदैन कसैले माने पनि नमाने पनि लामो समयसम्म आर्थिक मन्दि निरन्तर चलिराख्ने र सर्वसाधारणको पिडा लम्बिदै जाने सम्भावना देखिदैछ ।
E-mail – [email protected]
















