यसकारण आयाे डबल नेकपाका अध्यक्षद्वय बीच फरक-फरक विज्ञप्ति ?

218

काठमाडौं – नेपालमा कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको आज ७१ वर्ष भएको छ । ७१ वर्षअघि अर्थात सन् १९४९ को अप्रिल २२ मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । स्थापनाको ७१ वर्ष पुग्दा नेपालमा झण्डै आधा दर्जनभन्दा धेरै कम्युनिष्ट पार्टीहरु सक्रिय छन् । देशको मूल नेतृत्वदायी भूमिकामा पनि कम्युनिष्ट पार्टी नै छ ।

पुष्पलाल श्रेष्ठको नेतृत्वमा नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य र नारायणविलास जोशीले राणाशाही विरोधी आन्दोलनलाई सही दिशावोध गर्दै सामन्तवाद र साम्राज्यवाद विरोधी आन्दोलनको रूपमा अगाडि बढाउन र राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई अगुवाइ गर्न नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । मोतिदेवी श्रेष्ठलाई संस्थापक मान्ने वा नमान्ने भन्ने विषयमा अहिलेसम्म पनि विवाद छ ।

देशकै ठूलो पार्टी नेकपाका अध्यक्षको फरक-फरक विज्ञप्ति

देशमा सबैभन्दा ठूला पार्टीको भूमिका निर्वाह गरिसकेका तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीभित्र फेरि एकपटक विवाद उत्कर्षमा पुगेको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले फरक फरक विज्ञप्ति निकालेका छन् ।

पार्टी स्थापना दिवसको अवसरमा बुधबार ओली र प्रचण्डले पार्टीभित्रको विवादलाई संकेत गर्दै विज्ञप्ति निकालेर सुदृढ एकताका लागि अपिल गरिएको छ । दुवैले विज्ञप्तिमा पार्टी एकताका बाँकी कामलाई टुंगोमा पुर्याउनुपर्ने संकेत गरेका छन् ।

तर नेकपाका नेताहरुले यसलाई पार्टीमा देखिएको विवाद उत्कर्षमा पुगेको बताएका छन् । विवाद उत्कर्षमा पुगेकाले दुवैले आआफ्नो समूहलाई बलियो बनाउने प्रयास गरेका हुन् । नेकपाका एक सचिवालय सदस्य भन्छन्, ‘सामान्यतया यस्तो हुन नपर्ने हो । सामान्य अवस्था हुँदा यो विषय ठूलो नहुन सक्थ्यो । तर अहिले विवाद बढेका बेला एक अध्यक्षले विज्ञप्ति निकालेपछि प्रतिउत्तरमा विज्ञप्ति आउनु राम्रो विषय हुन सक्दैन । विज्ञप्ति दुईवटा भन्दा पनि त्यहाँ प्रस्तुत भाषालाई हेर्दा राम्रो देखिएन ।’

प्रधानमन्त्रीसमेत रहेका ओलीले आफूइतरको समूहलाई भनेका छन् ‘सिद्धान्तको अन्धानुकरण र यान्त्रिक प्रयोगको सट्टा सिर्जनात्मक प्रयोग मार्फत मौलिक एवम् सही विचारको विकास र अवलम्बन गर्दै सामन्ती, प्रतिगामी, निरङ्कुश र जनविरोधी शक्तिसँग जुधेर नै नेपाली कम्युनिष्ट आन्दोलनले आजको उचाइ हासिल गरेको हो।’

 प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीको विज्ञप्ति

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को विज्ञप्ति

पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले भनेका छन्, ‘ऐतिहासिक पार्टी एकतापछि देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा निरन्तर लागिरहेका छन्। प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नु, जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार हो। पार्टीभित्र खुला र जनवादी छलफल गरी तथ्यद्वारा सत्यको अन्वेषण गर्ने विधिमार्फत् पार्टी एकतालाई थप सुदृढ बनाउन सकिन्छ।’

प्रधानमन्त्री ओलीले पार्टीसँग परामर्स नगरीकन पार्टी विभाजनलाई सजिलो पार्नेगरी अध्यादेश ल्याएपछि नेकपाको विवाद उत्कर्षमा पुगेको हो । नेकपाका अर्का एक सचिवालय सदस्य भन्छन्, ‘अहिले कार्यशैली र एकताको पक्षमा नेतृत्वबाट काम भएको छैन । अबका केही महिनामा पार्टी नयाँ ठाउँमा पुग्ने संकेतको रुपमा दुई अध्यक्षको विज्ञप्तिलाई लिनुपर्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here