क्लोस बने वायर्नका सहायक प्रशिक्षक

221

एजेन्सी – विश्वकप तथा जर्मनीका सर्वाधिक गोलकर्ता मिरोस्लाभ क्लोस जर्मन च्याम्पियन वायर्न म्युनिखका सहायक प्रशिक्षक नियुक्त भएका छन्।

४१ वर्षीय क्लोसले आगामी सिजनदेखि जिम्मेवारी सम्हाल्नेछन्। यसअघि उनी वायर्नका युवा टिमका प्रशिक्षक थिए। सन् २०१६ मा अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएपछि उनले दुई वर्ष वायर्नको युवा टिम सम्हालेका थिए।

उनले सन् २००७ देखि वायर्नमा चार सिजन बिताएका थिए। त्यसक्रममा उनले लिग र लिग कपको उपाधि जितेका थिए।

सन् २०१४ का विश्वकप विजेता क्लोसले राष्ट्रिय टिमबाट १३ वर्ष खेले। उनले २००१ देखि २०१४ सम्ममा जर्मनीका लागि १३७ खेलमा ७१ गोल गरे। यो गोल जर्मनीका लागि व्यक्तिगत सर्वाधिक गोल हो।

यस्तै उनी विश्वकप फुटबलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि हुन्। उनले २००२, २००६, २०१० र २०१४ गरी चार संस्करणको विश्वकप खेल्दा २४ खेल खेल्दै १६ गोल गरे।

उनले सन् २०१४ को विश्वकपमा ब्राजिलियन रोनाल्डोको नाममा रहेको १५ गोलको कीर्तिमान भंग गरेका थिए। सो विश्वकपमा जर्मनीले ब्राजिलविरुद्ध ७-१ को जित निकालेको खेलमा गोल गर्दा सो कीर्तिमान तोडिएको थियो।

रोचक कुरा उनले गोल गरेको खेलमा जर्मनीले कहिल्यै हारेन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here