सागमा दोहोरो स्वर्णधारी मन्डे समाजसेवामा

157

काठमाडौं –  १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णधारी करातेका मन्डेकाजी श्रेष्ठको दैनिकी अहिले फेरिएको छ । हरेक दिन प्रशिक्षण र खेलका लागि भनेर दौडिरहने मन्डे अहिले समाजसेवीका रूपमा पनि अघि बढेका छन् । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ का कारण नेपाल ११ चैतदेखि लकडाउनमा रहँदा खेलकर्मीहरूले प्रशिक्षण र खेल्ने वातावरण पाएका छैनन् ।

यो विषम परिस्थितिमा खेल्ने वातावरण नभएपछि लकडाउनकै कारण विपद्मा परेकाको सेवामा यिनै स्वर्णधारी मन्डेकाजी श्रेष्ठ निरन्तर लागिपरेका छन् । लकडाउनको सुरुवाती दिनमा घरमै बसेर रमाइरहेका मन्डेको मन पछिल्लो विकसित घट्नाक्रमले घरमा बस्नै सकेनन् । कोभिड–१९ का कारण देश पूर्ण रूपमा लकडाउन भएपछि विपद्मा परेका परिवारलाई आफ्नो र विभिन्न संघसंस्थाको सहयोगमा खाना खुवाउने, काठमाडौं उपत्यकाबाट या अरू कुनै जिल्लाबाट भक्तपुर हुँदै आफ्नो घर फर्कन चाहेका र हिँडिरहेकालाई बाटैमा खाना खुवाउने, आर्थिक सहायता र जुत्ताचप्पल किनिदिने उनको दैनिकी बनेको थियो ।

अहिले लकडाउनको ४५ दिन पुग्दा पनि समस्या र विपद्मा परेकाको सेवामा उनी र उनको टोली अनवरत छन् । मन्डेको नेतृत्वमा शुक्रबार भक्तपुर मध्यपुरठिमी नगरपालिका कौशलटारमा रहेको मानवसेवा आश्रम र भक्तपुरकै चाँगुनारायण नगरपालिका झौखेल गेलाल गाँउमा रहेको मानवकल्याण समाजसेवा घरमा रहेका अशक्तलाई खाना खुवाएर समाज सेवालाई निरन्तरता प्रदान गरेको हो । मन्डेसँगै टोलीमा कलाकार सरिता लामिछाने र गोपाल ढकाल ९छन्दे०को पनि उपस्थिति रहेको थियो ।

उनले अस्ट्रियामा बसोबास गर्दै आइरहेका समाजसेवी तथा एनआरएनए अस्ट्रियाका वरिष्ठ उपाध्यक्ष विकास कार्कीको सहयोगमा दुई आश्रममा खाना खुवाउने कार्यक्रम राखिएको बताए । मन्डेले यो संकटको घडीमा प्रवासमा रहेर पनि मातृभूमिमा अफ्टेरो अवस्थामा रहेकाको घाउमा मलमपट्टी लगाउन सहयोग गर्ने कार्की र उनको टिमलाई विशेष धन्यवाद ज्ञापन गरे । दुई आश्रममा १ सय ६० जनालाई खाना खुवाइएको स्वर्णधारी मन्डेकाजी श्रेष्ठले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here