टोटेनहम हट्सपरका फरवार्ड सन सैन्य तालिममा अब्बल

166

 एजेन्सी –  दक्षिण कोरिया तथा इंग्लिस क्लब टोटेनहम हट्सपरका फरवार्ड ह्युङ मिन सन सैन्य तालिममा अब्बल ठहरिएका छन् । झन्डै तीन साता लामो अनिवार्य सैन्य तालिममा सहभागी सन तालिम लिने उत्कृष्ट पाँच सहभागीमा पर्न सफल भएका हुन् । कोरियाको दक्षिणी भेगको जेजुस्थित मारिन कर्पस ट्रेनिङ क्याम्पमा १ सय ५७ जना सहभागी रहेको तालिममा सनले सुटिङ विधामा उत्कृष्ट नतिजा हासिल गर्दै पिल्सुङ अवार्ड जितेका छन् ।

मानसिक मूल्यांकनमा पनि सनले शतप्रतिशत अंक हासिल गरे । उनले अन्य विषयमा पनि उत्कृष्ट नतिजा हासिल गरेको जसमा १० सुटिङमध्ये १० सुटिङ नै निसानीमा लाग्नु पनि एक हो । कोरोना भाइरस संक्रमणका कारण समापन समारोह सार्वजनिक रूपमा गरिएको थिएन ।

कोरोना महामारीको कारण प्रिमियर लिग स्थगित भएपछि सन सैन्य तालिमका लागि तीन साताअघि लन्डनबाट कोरिया पुगेका थिए । कोरियामा हरेक नागरिकले २१ महिने सैन्य तालिम अनिवार्य रूपमा लिनुपर्ने प्रावधान छ । तर, सनले सन् २०१८ को एसियाली खेलकुदमा देशका लागि स्वर्णपदक जितेपछि उनको तालिम अवधि घटाइएको थियो । अब सनले ३४ महिनाभित्र सेनाको रूपमा ५ सय ४४ घन्टा सामुदायिक सेवा दिनुपर्नेछ ।

सनले चोटका कारण गएको फेब्रुअरीबाट खेलेका छैनन् । सन मार्च अन्तिम साता लन्डन फर्कनेछ । उनको टोली टोटेनहमले अहिले सामाजिक दूरी कायम राख्दै प्रशिक्षण थालिसकेको छ । उनी इंग्ल्यान्ड फर्किए पनि दुई साता क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ । लिग सुचारु हुने विषयमा भने हालसम्म कुनै निर्णय भएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here