काठमाडौं – कोभिड–१९ को जोखिम बढेसँगै अन्य प्रकृतिका बिरामी रोग पालेर बस्न बाध्य भएका छन् । गम्भीर प्रकृतिका रोग लागेका बिरामीका लागि अस्पतालको आकस्मिक सेवा खुले पनि उपचार नपाउँदा रोग पालेर बस्न बाध्य हुनु परेको छ ।
मुख्यतः दीर्घ तथा विभिन्न प्रकृतिका रोगले ग्रसित बिरामीको नियमित चेकजाँचमा सकस भएको छ । यस्तै, मुटु रोगी, दम, मधुमेह, क्यान्सर र मिर्गौलापीडित मारमा परेका छन् ।
कोभिड–१९ संक्रमणको जोखिम बढ्नुअघि सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालमा दैनिक १ हजार बढी बिरामी आउँथे । त्रिवि शिक्षण अस्पतालमा दैनिक १ हजार २ सय बढी बिरामी उपचारका लागि आउने गरेका थिए । तर, हाल त्रिवि शिक्षण अस्पतालमै संक्रमण पुष्टि भएपछि अस्पतालमा स्वास्थ्य सेवा आंशिक रूपमा प्रभावित भएको आजको राजधानी दैनिकमा खवर छ ।
















