गजल १ छोडिदिनुहोस् कहाँ सम्म लानुहुन्छ यसरी कर गरेर! मलाई रमाउनु छ मेरै बस्तीहरु समथर गरेर! जाल थापेर हिड्ने मछुवाले न भेटेको छ न देखेको छ सागरको गहिराइ नाप्न निस्कियो डुङ्गाको भर गरेर! तपाई भन्नु हुन्छ बाटो भेटेको भए म पनि पुग्ने थिएँ उस्ले पहाडको शिर चुमेको हो काँडामा सफर गरेर! देखाउँनेले मुहार देखायो मैले तारिफ गरेँ सोच्नुहोस् सत्य अर्कै हुन सक्छ कसैको प्रभावले असर गरेर! देख्दै छु वासना बेगर फूलको अहंकार गमला सङ्गै आफ्नो नै अवसान हो माछाले जमिनको रहर गरेर! गजल २ म एक अन्जान यात्री यो शहर उनैको हो! अँधेरी रात रातो लाल्टिन भर उनैको हो! बन्द चाहतहरु पनि आँफै ब्युझँदा रहेछन् भो समिप नजानू प्यासी अधर उनैको हो झरीले निथ्रुक्क रुझेकी गुलाफ अझै पनि मुस्कुराउदै सोच्छिन् सारा सगर उनैको हो! सुन्दर सानो मन्दिर उनी मूर्ति म पुजारी कस्तो हुने हो पहिलो पुजा डर उनैको हो! गर्दै नौलो भूल रमाउनु छ मलाई उस्तै थोरै हो मेरो रहर धेरै कर उनैको हो! गणेश बाबु अधिकारी (बाबू)
















