– राज्यलक्ष्मी शाक्य
कोभिड-१९ को विश्वव्यापी महामारी शुरू भएदेखि नै पश्िचमा मुलुकमा एशियाली विरोधी भावना बढ्दो छ । र, अब यो घृणाको सामना गर्ने अघिल्लो पंक्तिमा फेसन क्षेत्र उभिएको छ । बेलायतमा जातीय भेदभावका घटना बढेका छन् । घृणाजन्य अपराध २१ प्रतिशतले बढेको छ । त्यस्तै संयुक्त राज्य अमेरिकामा एशियाली मूलका अमेरिकीहरू विरुद्ध जातीय घृणा उत्प्रेरित हमला बढेको छ । अमेरिकी डिजाइनर फिलिप लिम भन्छन्, ‘हिंसा र भेदभावको सिलसिला वास्तवमा हामी सबैको घरनजिक छ । हामीजस्तै मानिस, हाम्रा साथीभाइ र परिवारका सदस्यहरू, सहकर्मीहरूमाथि हमला भइरहेको देखिरहेका छौँ । हामी चुप लाग्न सक्दैनौँ ।’
टिसर्ट, क्यापलगायत कपडाको फेसन डिजाइन गर्ने फिलिप लिम लेबल र प्रबल गुरुङ अहिले ‘अल अमेरिकन्स मुभमेन्ट’ मा सहभागी छन् । कोभिड(१९ प्रभावित सीमान्तकृत समुदायका मानिसलाई सहयोग गर्ने अभियान हो यो ।
‘यो अन्तरसांस्कृतिक आन्दोलन हो, जसले अमेरिकी हुने धेरै तरिकाहरू छन् भन्ने विचारलाई अझ सुदृढ पार्छ’, नेपालीमूलका अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङ भन्छन्, ‘यो एउटा विचार हो । विभिन्न संस्कृति, समुदाय र सपनाहरूको संगम हो । विभिन्न अल्पसंख्यक समूहहरू एक भएर खडा हुन्छन्, भएपछि एउटा आश्चर्यजनक स्तरको समर्थन हुन्छ । त्यसले अधिक न्यायसंगत र शान्तिमय भविष्यका लागि उत्प्रेरित गर्छ ।’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महामारीलाई ‘चिनियाँ भाइरस’ भनिरहेको र जातीय आधारमा विभेद भइरहेको समयमा यो भनाइ आफैँमा एक शक्तिशाली सन्देश हो । ‘भाइरसलाई जातीय नाम दिनु गलत हो । गलत सूचना प्रवाहको प्रभावमा परेर मानिसहरू आक्रामक भइरहेका छन् । भाइरसबारे सही सूचना प्रवाह हुनुपर्छ,’ गुरुङ भन्छन् ।
जातीय हिंसा बढाउन घृणाजन्य भाषा वा अभिव्यक्तिले पनि मुख्य भूमिका खेलेकोमा लिम पनि सहमत छन् । उनी भन्छन्– ‘अमेरिकी नेताहरूले यस्तो खालको जातीय घृणा फैलाइरहेको देख्दा दिक्क लाग्छ ।’
‘धेरै व्यक्ति असल व्यवहार गर्न चाहन्छन्,’ गुरुङ भन्छन्, ‘म जातिवादी विचारले अचम्मितचाहिँ छैन । यो देशको अतुलनीय सौन्दर्य देखेर म सधैँ यसको जगमा भएका चिराबारे सचेत थिएँ ।’
प्रबलले पहिले पनि आफ्न डिजाइनमार्फत् राजनीतिक मुद्दाहरू उठाउने गरेका छन् । उनका मोडलहरूले लगाउने टिसर्टमा ‘भविश्य महिलाको हो’, ‘हाम्रो शरीर, हाम्रो छनोट, हाम्रो शक्ति’, र ‘म एक आप्रवासी हुँ’ जस्ता नारा लेखिएका हुन्थे ।
आयोजक ट्रम्पको निम्ति चन्दा उठाउने व्यक्ति भएको थाहा पाएपछि प्रबलले हड्सन यार्डमा १० औं वार्षिकोत्सवको अवसरमा भइरहेको न्यूयोर्क फेसन सप्ताह बीचमै रोकिदिएका थिए । त्यस्तै ट्रम्पको अध्यागमन प्रतिबन्धको समयमा उनले आफ्नो फेसन शोमा मोडलहरूलाई ‘को अमेरिकी हुन सक्छ?’ भन्ने प्रश्नसहितको ब्यानर भिरेका थिए ।
त्यस्तो विरोध प्रदर्शनको विचार एउटा व्यावसायिक बैठकबाट आएको उनी बताउँछन् । एक बैठकमा उनले व्यवसायीहरूलाई अमेरिकी सौन्दर्यको पुनः परिभाषा गर्नेबारे बताइरहेका थिए । सहभागीमध्ये एक व्यवसायीले प्रबललाई सोधे, ‘तिमी अमेरिकीजस्तो त देखिदैनौँ, अनि कसरी अमेरिकालाई परिभाषित गर्न सक्छौ ?’
यो प्रश्नपछि प्रबलले आफ्ना मोडलहरूलाई ‘को अमेरिकी हुन सक्छ?’ भन्ने थिममा ब्यानर बनाएका थिए । प्रबल भन्छन्, ‘यो एक शक्तिशाली क्षण र दृश्य थियो संसारभरबाट आएका अनेकौं मोडलले अनेकौं अमेरिकी सपनालाई प्रस्तुत गरेका थिए ।’
फेसनको दुनियाँमा राजनीतिक विचारको प्रवेश पनि पुस्ता परिवर्तनको लक्षण हो । लिम भन्छन्, ‘एशियाली संस्कृतिमा हामीलाई आमाबुवाले आफ्नो शीर तल राख्न सिकाउँछन् । जातीय भेदभावलाई नजरअन्दाज गर्न सिकाउँछन् । जसले गर्दा यस्तो घृणाभाव टाढा जाओस् । जातीय सद्भाव हाम्रो भावनामा सम्मिलित छ । तर हाम्रो वर्तमान अवस्था ठीक विपरीत छ । मौन रहँदा अधिकारबाटै वञ्चित हुने अवस्था आउनसक्छ । त्यसैले पाएको अवसर सुनिश्चित गर्न पनि हामी बोल्नुपर्छ ।’

















