एजेन्सी – संसारभरि लकडाउनका बेलामा जनावरहरूको फरक रूप देख्न पाइएको छ । बेलायतमा चाहिँ ठूला मुसाहरूले आतंक मच्चाइरहेका छन् । यी मुसाहरू १८ इन्चसम्म लामा हुन्छन् । लकडाउनका बेलामा यिनीहरूको व्यवहार आक्रामक बनेको छ र संख्या पनि बढेको छ ।
विगत दुई महिनामा यी मुसाहरू भूमिगत नालीबाट निस्केर आवासीय क्षेत्रतिर जान थालेका छन् । भोकले आत्तिएर उनीहरू एकअर्कालाई खान थालेका छन् । विषको असर पनि उनीहरूमा परिरहेको छैन । विषप्रति उनीहरूले इम्युनिटी हासिल गरिसकेका छन् ।
बेलायतीहरू सामाजिक सञ्जालमा मरेका मुसाको फोटो राखिरहेका छन् । मुखदेखि पुच्छरसम्म ती मुसाको लम्बाइ १८ देखि २० इन्च देखिन्छ । खानेकुरा पाइने ठाउँमा लामो समयसम्म बन्द हुनुपरेकाले यी मुसाहरू क्रोधी भएका छन् ।
अमेरिकामा पनि सेन्टर फर डिजीज कन्ट्रोलले मुसाहरूको आक्रामक व्यवहारका विषयमा मानिसहरूलाई सचेत गरेको छ । मुसाहरूले खाद्यान्नका अन्य स्रोतको पनि खोजी गरिरहेको र लकडाउनमा उनीहरूले सफलता पाएको सेन्टरका वैज्ञानिकहरूको कथन छ ।
बेलायतको पेस्ट कन्ट्रोल एसोसिएसनको सर्वेक्षणबाट पत्ता लागेअनुसार, बेलायतमा ठूला मुसाको उपद्रोको घटनामा ५० प्रतिशत वृद्धि भएको छ । द सन पत्रिकाको खबरअनुसार, देशभरि मुसा समात्नेले आफूहरूको व्यस्तता बढेको जनाए । एसोसिएसनकी प्राविधिक अधिकारी नताली बुंगले भनिन्, ‘अहिले मुसाहरू खाली भवनमा नबसी आवासीय गृह नजिक नडराइकन घुमिरेहका देखिन्छन् ।’
ग्रीनविचमा नेचुरल रिसोर्स इन्स्टिच्युटका प्राध्यापक स्टिभन बेलम्यानले खानेकुराको खोजीमा आवासीय क्षेत्र गएका मुसाहरूले त्यहीँ बस्ने निर्णय लिएको जनाए ।

















