फेरि पनि सत्तासीन नेकपाको सचिवालय बैठक प्रधानमंत्री केपी ओलीको अस्वस्थताका कारणबाट स्थगित भएको सूचना जारी गरिएको छ । अमेरिकी सैन्य योजना मातहतको एमसीसी स्वीकार गर्ने वा नगर्ने भन्ने सम्बन्धमा केन्द्रीत हुने गरी बोलाइएको सचिवालय बैठक स्थगित भएको यो तेस्रो पटक हो । प्रधानमंत्री ओलीले यो अमेरिकी योजनाबाट बाहिर निस्किने चाहना नराख्दासम्म सचिवालय बैठकले एमसीसीबारे निर्णय लिन सक्ने अवस्था देखिदैन ।
बालककालमै एउटा किम्बदन्ती सुनिएको थियो , ‘ म ताक्छ्ु मुढो, बञ्चरो ताक्छ घुँडो ’ प्रधानमन्त्री केपी ओली मिर्गौला प्रत्यारोपण पश्चात राजनीतिमा सक्रिय बन्नुको कारण नेपाल र नेपाली जनताका लागि दुर्भाग्य हुने लक्षण देखिएको छ । कामना गरौं त्यस्तो नहोस् ! अमेरिकी अनुदान सहयोगका नाममा नेपालमा आउन चाहेको एमसीसी आवरणको ईण्डोप्यासिफिक सैन्य रणनीति नेपाल र नेपाली जनताका लागि ठूलो दुर्भाग्य हुने निश्चित छ । यो नेपाल र नेपाली जनताको हितमा छैन भन्ने कुरा स्पष्ट हुँदा हुँदै पनि प्रधानमंत्री केपी ओलीले यस्लाई आफ्नो राजनीतिक प्रतिष्ठासंग जोडेर हेर्न थाल्नु भएपछि सर्वत्र आश्चर्य मानिएको छ । यसै सन्दर्भमा प्रधानमंत्री आलीलाई केही सुझाव राख्न मन लाग्यो ।
सर्वप्रथम त देशमा शान्ति र सुब्यवस्था कायम गरेर नेपाललाई समृद्द र आत्मनिर्भर बनाउने कि सामा्रज्यबादको उपनिवेश बनाएर नेपाली जनतालाई बिदेशी सैनिकहरुको बुटमुनी आतंकित बनाउने ? यो रोजाई तपाईको बिवेकमा निर्भर छ । हुन त तपाईको कार्यशैलीलाई नियाल्दा र कार्यशैलीमा केही सुधार ल्याउन तपाईसमक्ष पुगेका शुभेच्छुकहरुका सुझावहरुप्रति तपाईको अहंकारी जवाफबाटै पनि तपाईको मनोदशा बुझ्न सकिन्छ । तथापी तपाईलाई नेपाली जनताले जुन बिश्वासका साथ देशको अभिभावक बनाएका छन् , त्यसको महत्व बुझेर तपाईले मेरा सुझावहरुमा अलिकति ध्यान दिन सक्नु होला भन्ने आशा गरेको छु । तपाईले देश र जनताका लागि राम्रो काम गर्ने हो भने तपाईको बिरोधमा हैन समर्थनमा जनताको जुलुस सडकमा निरन्तर निस्किरहने छन् , तपाईले कुनै शक्ति राष्ट्रको निर्देशनमा नेपाली जनताका राजनीतिक गतिबिधि माथि प्रतिबन्ध लगाउनु पर्ने अवस्था रहने छैन ।
मिर्गौला प्रत्यारोपणको जटिल उपचार पछि राजनीतिमा देखिएको तपाईको सक्रियताले देशलाई सकारात्मक प्रभाव दिने भन्दा पनि नकारात्मक दिशातर्फ घचेटेर दीर्घकालसम्म नेपाली जनतालाई अमेरिकी दासताको साङ्गलोमा बाँध्ेर फसाउने अपराधकर्मतर्फ उद्यत देखिन्छ । तपाईले राजनीतिमा गरेको त्याग र योगदानलाई फर्केर हेर्ने हो भने महाकाली सन्धि बाहेक अन्य कुनै पनि सवालमा तपाई माथि शंका गर्नु पनि अन्याय हुने जस्तै लाग्दछ , तर दुश्परिणामहरु देखिने गरी तपाईले गर्न खाजिरहेका कामहरु नेपाली जनताका लागि जघन्य अपराधीले पनि गर्न नसक्ने जस्ता छन् , जो चर्चामा आईरहेका छन् ।
दास्रोपटक प्रधानमंत्री बनेदेखि नै तपाईका कामहरु बिबादास्पद बन्दै आए । हुन त चुनावी गठबन्धनका नाममा भएका आश्चर्य लाग्दा गतिबिधिहरुले पनि शंका नजन्माएका होईनन् , तथापी संसदीय राजनीतिको उपयोगमा यस्ता खेलहरु हुनु कुनै अनौठो होईन भनेर सबैले चित्त बुझाउने गरेका थिए । तर क्रमशः तपाईका क्रियाकलापले पार्टी पंक्ति भित्र पनि अशन्तुष्टि बढाएर लगेको अवस्थाले अब तपाईप्रति सबै सशंकित बनिरहेको देखिन्छ । पार्टी पद्दतिलाई नै मिचेर तपाईले देशप्रति घात हुने कामलाई महत्व दिईरहनु भएको छ । देशको राजनीति भ्रष्टाचारले संक्रमित भएको छ । कोरोना भाईरसको महामारी नियन्त्रण गर्ने नाममा समेत आर्थिक अनियमितता भएका समाचारहरु बाहिरिएका छन् । सरकारले भ्रष्टाचारबारे बाहिरिएका समाचारहरुको खण्डन गर्ने वा सम्बद्द भ्रष्टलाई कार्वाही गर्नेतर्फ कुनै चासो देखाएको छैन , बरु उल्टै सञ्चारमाध्यमको बिरोध गरेर आफ्नो नियत उदाङ्गो बनाउने काममा सरकार प्रस्तुत भैरहेको छ ।
सानातिना ठेक्काहरुमा पनि राजनीतिक दलका नेताहरुका नाम जोडिएर चर्चामा आईरहेका छन् । सरकारले कुनै पनि आरोपको पर्वाह गरिरहेको नै छैन , कसैप्रति जवाफदेही हुनै नपर्ने गरी सरकारले आर्थिक अराजकता मच्चाईरहेको छ , यसले गर्दा जनता आक्रान्त भैरहेको अवस्था छ ।
यस्तो अवस्थामा पनि कोरोना भाईरसको महामारीबाट सबैभन्दा बढि संक्रमित भैरहेको देश अमेरिकाको स्वार्थलाई तपाईले महत्व दिईरहेको र त्यसमा प्रमुख प्रतिपक्षी दल पनि कृतसंकल्पित भएर लागिरहेको देखिन्छ । यो अवस्थाले नै देश झनै डरलाग्दो दुर्घटनामा जाकिने सम्भावनालाई संकेत गरिरहेको छ । संसदीय ब्यवस्थामा सरकारका गलत कामहरुलाई खबरदारी गर्ने र गलत काम हुनबाट रोक्ने नै प्रमुख प्रतिपक्षी दलको कर्तब्य हो , तर हाम्रो देशको संसदमा अमेरिकी अनुदानका नाममा हुन गैरहेको एमसीसी सम्झौता पारित गर्ने गम्भिर राष्ट्रघाती काममा सरकार र प्रमुख प्रतिपक्षी दल लगायत संसदमा रहेका लगभग सबै दलहरुले सहमति जनाएका छन् । यो अवस्थालाई मध्यनजर गर्दा भारतमा सिक्किम बिलय गराईंदा सिक्किमको संसदको अवस्थाको सम्झना गर्नु पर्ने भएको छ । एमसीसी तपाईको रोजाईमा पर्नु नै ठूलो दुर्भाग्य देखिएको छ । निषेध गर्नु पर्ने एमसीसीलाई हो , तर तपाईको निषेध नेपाली जनतामाथि लक्षित छ ।
देशमा दलीय राजनीति सुरु भएको करिब ७ दशक बितिसकेको छ । नेपालका प्रमुख राजनीतिक दलहरु सशस्त्र संघर्षबाट नै राजनीतिमा उदाएका हुन् । कांग्रेस, तत्कालीन एमाले र माओवादीले त्यस समयको शासन व्यवस्थाको विरुद्ध हतियार नै उठाएका थिए । जनताले उनीहरुलाई साथ दिए र अहिलेको अवस्थामा पु¥याएका छन् । राजतंत्रलाई बिघटन गरेर ल्याईएको गणतंत्र छोटो अवधिमै देशलाई संकटतर्फ धकेल्न सफल भैरहेको छ । यस्लाई बिदेशी योजनाकारहरुको वा राजनीतिक दलका नेताहरुको सफलता मान्ने कि कस्को भन्ने प्रश्न उठेको छ ।
हरेक परिवर्तनले देशमा नयाँ राजनीतिक दल र राजनीतिक व्यक्तित्वलाई जन्म दियो । पुरानो व्यवस्थाबाट आजित भएका जनताले राजनीतिक दलहरुबाट परिवर्तनको अपेक्षा गरे । विकास र समृद्धिको चाहना राखे । तर, त्यो अत्यन्त न्यून मात्र परिपूर्ति भयो । अझ भनौं नयाँ नेतृत्वले पुरानो शासक र शासनव्यवस्था फाल्नु र आफ्नो उदय हुनुको औचित्य नै साबित गर्न सकेनन् । फलस्वरुप मुलुकमा शासनव्यवस्था परिवर्तनको केही वर्षमा नै जनतामा निराशा छाउन थाल्यो, उनीहरु असन्तुष्ट भए । दलीय राजनीतिक व्यवस्थाको यो अवधिसम्ममा सबै जनताले सम्मानपूर्वक शीर झुकाउने राजनीतिक नेतृत्व देखिएन ।
कुनै पनि नेतृत्वको परीक्षा तब हुन्छ, जब उसको हातमा शासनव्यवस्थाको बागडोर हुन्छ । उसले मुलुकलाई कुन दिशामा डो¥याउँछ ? देशलाई कसरी आत्मनिर्भर बनाउने योजनाहरु कार्यान्वयनमा लैजान्छ ? जनताको जीवनस्तर माथि उठाउन कस्ता योजनाहरु लागू गर्न खोजिरहेको छ ? भन्ने जस्तायो मापदण्डले मात्र उसको सफलता मापन हुनसक्छ । त्यही नेतृत्व नै महान् कहलाउँछ, जसले देश र जनतालाई एउटा सुन्दर भविष्य उपहारमा दिन्छ । तर, दुर्भाग्यवश भन्नुपर्छ नेपालको राजनीतिक इतिहासमा यस्तो नेतृत्व देख्न पाइएन । यस्तो किन भइरहेको छ ? संघर्ष र क्रान्तिको समयमा देशभक्ति अनुपम नमूना पेश गर्ने नेताहरु शासनसत्तामा पुगेपछि किन बदलिन्छन् ? यो एउटा खोजको विषय भएको छ । यो खोज तपाईको मनोदशामा केन्द्रित गर्नु पर्ने अवस्था बिकसित भएको छ ।
विश्वमा यस्ता थुप्रै नेताहरु छन््, जसलाई ती मुलुकका जनताले वर्षौंदेखि श्रद्धाका साथ सम्झिँदै आएका छन् । अन्य मुलुकका जनताले पनि उनीहरुलाई विकास र समृद्धिको संवाहकको रुपमा उदाहरण दिने गर्दछन् । आधुनिक सिंगापुरका लि क्वान यु हुन् वा दक्षिण अफ्रिकाका नेल्सन मण्डेला वा अहिले चीनका राष्ट्रपति सी चिनफिङ नै किन नहोऊन् ? मुलुकको विकासका लागि गरेका उनीहरुका कामहरुको उदाहरण आज विश्वभर नै दिने गरिएको छ । तर, दुर्भाग्य नै हो यस्ता नेता हाम्रो देशमा जन्मिन सकेनन् ।
हाम्रो देशमा राजनीतिक नेतृत्वहरु सत्ता सञ्चालनको हैसियतमा पुगेपछि किन असफल भइरहेका छन् ? यसमा एउटा कारण त नैतिकता, इमान्दारी, र जिम्मेवारी महसूस कम हुनु नै मान्न सकिन्छ । मुलुकको शासन गर्ने अधिकार पाएपछि देश र जनतालाई स्वच्छ मनले सेवा गर्ने नेताहरुको खडेरी परेको नै मान्न सकिन्छ । कतिपयले आफ्नो पदको नै दुरुपयोग गरेका छन् । कतिपयले आफूले नै अनियमितता नगरे पनि उनीहरुको आडमा गलत काम गर्ने व्यक्तिहरुले लाभ उठाएका छन् । नेपालको शासनसत्तामा पुग्ने हरेक दलका नेतृत्वहरुले विभिन्न प्रभाव र दबाबमा परेर यस्ता नीतिगत निर्णय र कामहरु गरेका छन्, जसले देशलाई दीर्घकालीन रुपमा नोक्सानी पु¥याएको तीतो बिगतलाई तपाईले झनै डर लाग्दो बनाउँदै हुनुहुन्छ । राम्रो गर्न चाहने राजनीतिक नेतृत्व पनि गलत कामहरुबाट वितृष्णाको शिकार बन्दै गएका छन् ।
मुलुकको नेतृत्वमा पुगेपछि कसरी अगाडि बढ्ने भन्ने कुरामा स्पष्ट कार्यदिशा तय गर्न नसक्दा पनि धेरै राजनीतिक नेतृत्वहरु असफल भएका हुन् भन्ने बुझ्न सकिन्छ । उनीहरुले पद त पाए, तर मुलुकलाई समृद्ध बनाउने योजना ल्याउन सकेनन् । आफ्ना कामकारबाहीलाई पारदर्शी बनाउन सकेनन् । सर्वहारा वर्गलाई केन्द्रित गरेर जनताको जीवनस्तर माथि उठाउन सकेनन् । फलस्वरुप उनीहरुले पाएको अवसर दुरुपयोग भएर गयो । आफ्नै अक्षमताका कारण पटक–पटक प्रधानमन्त्री बन्ने सौभाग्य पाए पनि उनीहरुले जनताको सम्मान जित्न सकेनन् ।
वर्तमान प्रधानमन्त्री तपाई केपी ओलीलाई नेपालको इतिहासमै सबैभन्दा बलियो अवसर समयले दिएको छ । दुई तिहाइ बहुमतका साथ दोस्रो पटक प्रधानमन्त्री बनेका तपाईको साढेदुई वर्ष देश र जनताका लागि उपलब्धिमूलक हुन सकेको छैन । कमजोर स्वास्थ्य अवस्था हुँदाहुँदै पनि तपाईमा देखिएको आत्मविश्वास र मुलुकको कामकारबाहीमा देखाएको सक्रियता प्रशंसनीय छ । अब केवल आफ्नो उपस्थितिलाई अवसरको रुपमा सदुपयोग गर्न जरुरी छ । नेपालको राजनीतिक इतिहासमा राजनेताको दर्जामा कुनै नेता पनि पुग्न सकेका छैनन् । तपाईले पछिल्लो समय जुन सपना जनतालाई देखाउनुभएको थियो, ती योजनाहरु कार्यान्वयनतर्फ ध्यान पु¥याउने हो भने तपाई केपी ओली नेपालको राजनीतिक इतिहासमा राजनेता बन्ने अवसर प्राप्त छ । विज्ञान र प्रविधिले सायद त्यही राजनेताको स्थानमा तपाईलाई सम्मान गर्नकै लागि आयू थपिएको हो भन्ने विश्वासका साथ काम गर्न सक्नु भएमा नेपाली जनताले चाहे अनुसारको परिवर्तन अवश्य पाउने छन् । जनताले कम्युनिष्ट आन्दोलनलाई र तपाई केपी आलीलाई त साथ दिएकै हुन् तर तपाईको साथ कम्युनिष्ट आन्दोलनले र नेपाली जनताले होइन साम्राज्यबादी अमेरिका र नेपालका बदनाम भ्रष्टहरुले मात्र पाइरहेका छन् । भ्रष्टहरुको घेराबन्दीबाट बाहिर निस्किएर जनताको विश्वास प्राप्त गर्न र जनताको चाहनालाई सम्बोधन गर्न तत्परता देखाउन सकिएन भने अवसरले पछ््याइरहने छैन ।
आम नेपाली जनतालाई बिश्वास छ कि केपी ओलीलाई सम्पत्तिको कुनै लोभ गर्नुपर्ने आवश्यकता छैन, नेपाली जनताको समृद्धि नै आफ्नो समृद्धि ठानेर नेपालको अभिभावकको भूमिकामा तपाईलाई प्रस्तुत हुने अवसर प्राप्त भएको छ । यो अवसर कसैले चाहेर पनि पाउन सक्ने अवस्था छैन । तपाईमा रहेको दृढताले तपाईबाट जनता आशावादी बन्नु स्वाभाविक हो । जनताको विश्वास जित्न जनताको पक्षमा काम गर्न सक्नुपर्दछ । तर दुर्भाग्य नै भन्नु पर्दछ, तपाईको आडमा राजनीतिक आवरणका केही भ्रष्ट व्यक्तिहरु र देश लुट्न पाएका केही व्यापारीहरु मात्र तपाईको प्रश्ांसामा उफ्रिरहेका देखिन्छन् । उनीहरु बाहेक अरु कसैले पनि तपाईको शासनकाल राम्रो छ भन्ने अवस्था छैन । राजनेताको सम्मानका लागि तपाईलाई स्वागत गर्न प्रतिक्षारत नेपाली जनतालाई निराश बनाएर लुटेराहरुको स्वार्थमा आफूलाई बिसर्जित नगर्नुस् ! यस्तो राम्रो अवसर तपाईबाहेक अरुलाई प्राप्त छैन ! आगे तपाईंलाई चेतना भया !


















