कोरोनाको प्रभावले ल्याउन सक्ने परिणाम

163
– कृष्ण बेलवासे

देशमा  कोरोना संक्रमणको संत्रास बढ्दो छ । यो संत्रासका बहु-आयामिक असरहरु देखापर्दै छन् । पहिलो कुरा,यदि केही गरी यसले महामारीको रुप लिन पुग्यो भने चीन, स्पेन र ईटालीमा जस्तै धेरैको ज्यान जानसक्छ भन्ने कुरोको डर जन मानसमा ब्याप्त छ ।दोश्रो, कोरोना संक्रमणको त्रासका कारण एक महिना जति लकडाउन(स्व-नियन्त्रण) हुने हुंदा धेरैको रोजगार,ब्यवसाय,अध्ययन संगै अन्य कतिपय कुराहरु प्रभावित हुनेछन् । तेश्रो, कोरोनाले गर्दा सरकार,नेतृत्व र अन्तत: ब्यवस्थाकै सक्षमताको परीक्षण हुने भएको छ । चौथो, यसले नयां पुस्तालाई उसका अग्रजहरु संगै आफैले भोगेको/अवलम्बन गरेको संस्कृति-परम्परा, सिद्धान्त-बिचार, विज्ञान- प्रविधि, विकास-निर्माण प्रक्रिया जस्ता सवालहरुको सान्दर्भिकता सम्बन्धमा गम्भीरता पुर्वक चिन्तन मनन गर्नुपर्ने अवस्थामा पुर्याएको छ । अझ विश्व परिवेशलाई हेर्दा, कोरोना संत्रासले बिपन्न एवं अविकसित भनिनेहरु लाई मात्र त्रसित न तुल्याएर साम्राज्यवादी, आतंकवादी, क्रान्तिकारी? अनि धार्मिक कट्टरतावादी सम्मको होशहवास उडाई दिएको छ । त्यति मात्र न भएर सबैलाई एकै किसिमको उपाय (स्व- नियन्त्रण, औषधि र आहार बिहार)हरु अपनाउन बाध्य तुल्याएको छ । यस भन्दा बढी विज्ञान-प्रविधि र विकास जस्ता कुराहरुको प्रबर्द्धनको नाऊंमा प्रकृति संग खेलबहाड गर्नेहरुलाई आफ्नो गलत सोंच र ब्यवहार बारे पुनर्बिचार गर्नुपर्ने अवस्थामा ल्याई पुर्याएको छ । यद्यपि कोरोनाको खास उत्पत्ति स्थल र कारणबारे विवाद देखिन्छ, तापनि यसबाट सबै भन्दा आतंकित अमेरिका, बेलायत, स्पेन, टर्की लगायतका पश्चिमी मुलुकहरु संगै दक्षिण कोरीया, जापान र अष्ट्रेलिया  जस्ता उदार पूंजिवादी ब्यवस्था अंगालेका विकसित भनिने मुलुकहरु हुनपुगेका छन् । ती मुलुकका शासकहरु यतिबेला कोरोना रोगको सामना गर्ने सवालमा निकम्मा साबित हुन पुगेका छन् ।

यस बिपरित समाजवादी मुलुकहरु मध्येको चीन (जहाँ कोरोनाको उत्पत्ति भएको बताइन्छ?) ले त आफुलाई कोरोना मुक्त तुल्याएर यूरोपीयन एवं अन्य मुलुकहरुलाई उक्त रोग नियन्त्रणमा सघाई रहेको छ । त्यसैगरी अर्को समाजवादी मुलुक क्यूबाले पनि कयौं मुलुकहरुलाई कोरोना नियन्त्रणमा सहयोग पुर्याई रहेको छ भने उत्तर कोरीया बिश्वका कोरोनामुक्त सिमित राष्ट्रहरु मध्ये एक रहेको बताइन्छ । यसले समाजवादी हरु कसरी आफ्ना नागरिकको ज्यू-ज्यानको सुरक्षा संगै बिदेशीहरुको सुरक्षा गर्न समेत सक्षम छन् भन्ने कुरालाई देखाएको छ । हुन पनि त हो, समाजवाद एउटा मानवीय बिचार भएकोले समाजवादी मुलुकहरुको शासन ब्यवस्था मानव हितमा समर्पित रहन्छ । तर पूंजिवाद मानव हितको सट्टा नाफा केन्द्रित बिचार भएकोले त्यसले मानव मूल्य र सुरक्षालाई खासै महत्व दिंदैन । आज सम्म धनबल, सामरिक शक्ति र प्रोपगाण्डाकै आधारमा मात्र आफ्नो श्रेष्ठताको दावीगर्दै आएका पूंजिवादीहरु लाई कोरोना जस्तो सामान्य महामारी नियन्त्रणको बिषयले उपायहिन र डरछेरुवा प्रमाणित गरिदिएको छ । अर्को कुरा,आधुनिक बिश्वमा विकास र निर्माणको क्षेत्रमा पश्चिमी ढांचा नै बढी प्रयोग हुने गरेको छ।

पश्चिमाहरु विकासको नाऊंमा प्रकृतिलाई चुनौति दिने कुरालाई प्राथमिकतामा राख्दछन् । सोही मान्यता अनुसार विकासको नाऊंमा प्राकृतिक साधन र श्रोतको अस्वाभाविक दोहन गर्ने गरेका कारण वातावरण सन्तुलन खल्बलिन पुगेको छ । यसैको परिणाम अनेकौं प्राकृतिक बिपदाहरुको श्रृजना भइरहेको छ । कोरोनाको उत्पत्ति र बिस्तारलाई पनि यसबाट फरक गरेर हेर्न मिल्दैन । त्यसैले अब उत्तर-कोरोना कालमा विकासको कुन ढांचा उपयोगी होला? भन्ने बारेमा गम्भीर बहसको श्रृजना हुने र दीर्घकालीन विकास लक्षले गतिलिन सक्ने देखिन्छ । यसै संग सम्बन्धित अर्को महत्वपूर्ण कुरा, कोरोनाको प्रकोपले पश्चिमा संस्कृतिको तुलनामा पुर्वीय संस्कृतिको श्रेष्ठतालाई प्रमाणित गरिदिएको छ । यस सन्दर्भमा पश्चिमाहरुले अपनाउने हात मिलाउने,अंकमाल गर्ने व्यवहार भन्दा पुर्वीयाहरुले अपनाउने हात जोडेर अभिवादन (नमस्कार) गर्ने, लासलाई समाधिस्थ तुल्याउनुको सट्टा शवदाह गर्ने र योगाभ्यास जस्ता व्यवहार/संस्कारहरु स्वास्थ्य र जीवनको लागि बढी उपयोगी रहेको कुरा प्रमाणित हुन पुगेको छ ।

जहांसम्म नेपालको सन्दर्भ छ, यहां कम्तिमा बिगत ३ दशक देखि अवलम्बन गरिंदै आएको पश्चिमा भद्दा विकास प्रक्रियाले प्राकृतिक श्रोत साधनको अत्यधिक दोहन संगै वातावरण सन्तुलनमा समेत नकारात्मक प्रभाव पारिरहेको छ । यस संगै देश लोकतान्त्रिक परिवर्तनको नाऊंमा भ्रष्ट र लुटाहाहरुको कब्जामा पुगेकोले वातावरण संरक्षण, विकास, सदाचार जस्ता कुराहरु अप्रासंगिक र असम्भवप्राय: हुनपुगेका छन् । उल्टो मुलुक पराधिनता संगै परावलम्बनको बाटोमा अग्रसर हुन पुगेको छ । त्यसैले अब हामीले कथित प्रजातन्त्र र लोकतन्त्रको नाउंमा अवलम्बन गर्दै गरेको दुराचरणयुक्त, पतनोन्मुख पश्चिमी चिन्तन, संस्कार र जीवन शैलिको बारेमा गम्भीर समीक्षा गर्नुपर्ने भएको छ ।

यो कुरातर्फ ध्यान दिन सकेमा नै देशको लागि उपयुक्त राजनीतिक, आर्थिक, सामाजिक बिकल्पको ठहर/चयन गर्न सघाऊ पुग्न जानेछ । त्यसैले कोरोनाको कहरबाट तर्सिएर स्वदेश र बिदेशमा जहांसुकै भएपनि स्व-नियन्त्रणमा रहन बाध्य नेपालीहरुले बिदेशीको प्रभावमा परेर स्वदेशीपन र स्वदेश प्रतिको दायित्वलाई बिर्संदै स्वच्छन्द एवं स्वेच्छिक दास बन्ने कुरोलाई होइन, सही बिचार एवं कार्यशैलिलाई अवलम्बन/अनुसरण गर्दै मातृभूमिको भविष्य सपार्ने कुरोलाई गम्भीरता पुर्वक लिनुपर्ने बेला आएको छ । यहींनेर ‘अविवेकोऽनुशयाय कल्पते’ भन्ने कुरोलाई स्मरण गर्नु उपयोगी हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here