ट्रम्पलाई नेटो राष्ट्रहरुकै असहयोग !

12

इरान–अमेरिका युद्ध नयाँ मोडमा, विश्व जगत्बाट एक्लिँदै अमेरिका
काठमाडौं । युद्ध सुरु भएको डेढ महिना पुग्दा पनि अमेरिकी–इजरायल र इरानबीचको तनाव उस्तै छ । पछिल्लो समय त अमेरिका र इरानबीचको वार्ता असफल भएको मात्रै छैन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटोमा आबद्ध देशहरुबाट सहयोग पनि पाउन सकेका छैनन् । यसले अमेरिका विश्वजगत्बाट एक्लिँदै गएको स्पष्ट हुन्छ । अर्कोतर्फ यो युद्धमा सफलता पाउन नसक्ने भएपछि अमेरिका सहमतिको बाटोमा जानुपर्ने बाध्यतामा पनि पुगेको छ ।
अमेरिका लामो समयदेखि नेटोको नेतृत्वदायी शक्ति रहँदै आएको भए पनि इरानसँगको युद्धका विषयमा सदस्य राष्ट्रहरूबीच एकमत देखिएको छैन । फ्रान्स, जर्मनी, इटालीजस्ता प्रमुख युरोपेली राष्ट्रहरूले कूटनीतिक समाधानलाई प्राथमिकता दिनुपर्ने धारणा सार्वजनिक रूपमा राखेका छन् । युरोपेली मुलुकहरू केवल युद्धमा संलग्न हुन नचाहेका मात्र होइनन्, उनीहरूले अमेरिकी नीतिप्रति असन्तुष्टि पनि व्यक्त गरेका छन् । विशेषगरी एकतर्फी निर्णय गर्ने प्रवृत्ति, अन्तर्राष्ट्रिय सहमतिबिना कदम चाल्ने रणनीति र बहुपक्षीय संस्थाहरूलाई बेवास्ता गर्ने व्यवहारप्रति उनीहरूको आलोचना केन्द्रित देखिन्छ ।
अर्कोतर्फ, ट्रम्पले लामो समयदेखि नेटोका सदस्य राष्ट्रहरूलाई ‘फ्री–राइडर’ भनेर आलोचना गर्दै आएका छन् । उनको दोस्रो कार्यकालमा पनि यो क्रम जारी छ । उनले नेटो सदस्यहरूलाई रक्षा खर्च ५ प्रतिशत जीडीपीमा पु¥याउन दबाब दिएका थिए । हेग सम्मेलनमा केही प्रतिबद्धता भए पनि इरान युद्धमा सहयोग नहुँदा ट्रम्प झन् आक्रामक बने ।
मार्चमा ट्रम्पले नेटोका सदस्यहरूलाई होर्मुज खोल्न नौसेना पठाउन आग्रह गरे । तर जर्मनी, फ्रान्स, बेलायत, स्पेन जस्ता प्रमुख राष्ट्रहरूले ‘यो हाम्रो युद्ध होइन’ भन्दै अस्वीकार गरे । स्पेनले आफ्नो हवाई क्षेत्र र आधारहरू अमेरिकी हमलाका लागि प्रयोग गर्न नदिने घोषणा ग¥यो । इटाली, फ्रान्स र पोल्यान्डले पनि सीमित सहयोग मात्र गरे ।
ट्रम्पले ट्रुथ सोसलमा लेखे, ‘नेटो हामीलाई चाहिएको बेला त्यहाँ थिएन । उनीहरूले हामीलाई सधैं असहयोग गरे । यदि हामीले उनीहरूलाई चाहिएको बेला सहयोग गर्नुपर्छ भने किन ?’ उनले नेटो ‘पेपर टाइगर’ भएको टिप्पणी गरे र पुटिन पनि नेटोसँग डराएको छैनन् भन्ने धारणा राखे । नेटो महासचिव मार्क रुट्टेले ट्रम्पसँगको भेटमा पनि पूर्ण सहयोगको वाचा गरेका छन् । ट्रम्प प्रशासनले अब असहयोगी राष्ट्रहरूबाट अमेरिकी सेना हटाएर सहयोगी राष्ट्रहरूमा सार्ने योजना बनाइरहेको छ । यो कदमले नेटोको एकता थप कमजोर बनाउने देखिन्छ ।
यता, युरोपेली राष्ट्रहरूको तर्क छ— नेटो रक्षा गठबन्धन हो, आक्रमणकारी युद्धमा सामेल हुने होइन । अनुच्छेद ५ (सामूहिक रक्षा) केवल सदस्य राष्ट्रमाथि आक्रमण भएमा लागू हुन्छ । इरानले अमेरिकालाई प्रत्यक्ष आक्रमण गरेको थिएन । त्यसैले उनीहरूले यो युद्धमा सामेल हुन बाध्य नभएको बताएका छन् ।
अमेरिकाको एक्लोपन केवल नेटोभित्र मात्र सीमित छैन । विश्वका अन्य शक्तिशाली मुलुकहरूले पनि तटस्थ वा सावधानीपूर्ण धारणा अपनाएका छन् । चीनले शान्तिपूर्ण समाधानको पक्षमा जोड दिँदै सैन्य हस्तक्षेपको विरोध गरेको छ भने रुसले अमेरिकाको कदमलाई क्षेत्रीय अस्थिरता बढाउने भन्दै आलोचना गरेको छ । यी दुवै देशको धारणा अमेरिकाविरुद्धको अन्तर्राष्ट्रिय दबाबका रूपमा व्याख्या गरिएको छ ।
युद्धले विश्व अर्थतन्त्रमा पनि असर पारेको छ । तेलको मूल्य अस्थिर बन्दै गएको छ र अन्तर्राष्ट्रिय बजारमा अनिश्चितता बढेको छ । पश्चिम एसिर्या विश्वको प्रमुख ऊर्जा स्रोत क्षेत्र भएकाले त्यहाँको अस्थिरताले विश्वव्यापी प्रभाव पारेको छ । यसले नेपालजस्ता विकासशील मुलुकहरूलाई झनै प्रभावित पारेको छ । अहिलेको अवस्था केवल सैन्य वा कूटनीतिक संकट मात्र होइन, यो नेतृत्व र विश्वासको संकट पनि हो । अमेरिकाले लामो समयदेखि आफूलाई विश्व नेतृत्वको रूपमा प्रस्तुत गर्दै आएको भए पनि पछिल्ला घटनाक्रमहरूले त्यो भूमिकामा चुनौती थपेका छन् । सहयोगी राष्ट्रहरूको विश्वास घट्दै जानु र बहुपक्षीय समर्थन कमजोर हुनु यसका प्रमुख संकेतहरू हुन् ।
पाकिस्तानको इस्लामाबादमा अमेरिका र इरानबीच भएको वार्ता पनि असफल भएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा अमेरिकी टोली र इरानी पक्षबीच होर्मुजको स्थिति, क्षतिपूर्ति, आणविक कार्यक्रम र क्षेत्रीय युद्धविरामजस्ता मुद्दामा ठूलो मतभेद देखियो । वार्ता असफल भएपछि ट्रम्पले अप्रिल १४ देखि इरानी बन्दरगाहहरूमा नौसेना ब्लकेड सुरु गरे । अमेरिकी नौसेनाले इरानी जहाजहरूलाई चेतावनी दिँदै ‘नजिक आएमा नष्ट गरिनेछ’ भनेको छ । इरानले यसलाई अन्तर्राष्ट्रिय कानुन उल्लंघन भनेको छ र जवाफ दिने चेतावनी दिएको छ ।
यो ब्लकेडले विश्व अर्थतन्त्रलाई थप प्रभावित पार्ने देखिन्छ । तेल मूल्य बढेर विश्वव्यापी मुद्रास्फीति बढाउने जोखिम छ । साउदी अरेबियाले समेत अमेरिकालाई ब्लकेड हटाउन दबाब दिइरहेको छ । इजरायलले युद्ध जारी राखेको छ भने इरानले पनि इजरायलमा हमला गर्न छोडेको छैन । हजारौं नागरिक मारिएका छन्, लाखौं विस्थापित भएका छन् । यसले पश्चिम एसियाको मात्र होइन, विश्वकै शक्ति सन्तुलन पूर्ण रुपमा बदलिएको छ । जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here