काठमाडौं – नवगठित नेपाल कम्युनिष्ट पार्टी (बोल्सेभिक) ले भारत–चीन युद्धमा गोर्खा राइफल्सको प्रयोग नहोस् भनि बक्तब्य सार्वजनिक गरेको छ ।
चीन भारत सीमा द्वन्द्व बारे भन्दै २०७७ असार ४ गते नेपाल कम्युनिष्ट पार्टी (वोल्सेभिक)को केन्द्रिय समितिद्धारा जारी गरीएको बिज्ञप्तिमा भनिएको छ :-
‘हालैका दिनहरुमा चीन भारत वीचको सीमा विवाद हिंसात्मक द्वन्द्वमा परिवर्तन भएको छ । भारतले आफ्ना २० जना विभिन्न दर्जाका सेना मारिएको तथा चिनियाँ सेना तर्फपनि ठुलो हताहत भएको जनाएको छ । हाम्रो पार्टी भारत चीन वीचको सीमा विवादलाई शान्तिपूर्ण रुपमा वार्ताको माध्यमवाट हल गर्न आह्वान गर्दछ ।
साथै भारत सरकारले नेपाली दाजुभाइहरु भर्ति हुने गरेको गोर्खा राइफल्स लगायतको फौजी टुकडी अर्काे छिमेकी देश संगको द्वन्द्वमा प्रयोग नगरोस् भनि भारत सरकार समक्ष माग गर्न नेपाल सरकार समक्ष हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (वोल्शेभिक) जोडदार अपील गर्दछ ।
चीनसँगको सम्भावित द्वन्द्वमा कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका भूभागहरु भारतले प्रयोग नगरोस् भन्ने नेपाली जनताको अपेक्षालाई भारत समक्ष दृढतासाथ राख्न ओली सरकार समक्ष माग गर्दछौं । भारत लगायत विदेशी सेनामा नेपाली युवाहरु भर्ति गर्न दिने राजतन्त्रकालिन अपमानजनक सन्धीहरु खारेजीकालागि तत्काल पहल गर्न ओली सरकार समक्ष जोडदार माग गर्दछ ।
ठुलो जनदवावका कारण लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतका भूभाग सहितको नयाँ नक्सा सार्वजनिक गर्न सरकार वाध्य भएपनि महाकाली सन्धी लगायतका राष्ट्रघाती सन्धीहरु र १९५० को असमान सन्धी खारेजी गर्न ओली सरकारले कुनै पहल नगरेकोले विगतको राष्ट्रघात नपखालिएको र आगामी दिनमा थप राष्ट्रघात गर्न सक्ने तर्फ सचेत र सतर्क रहन सबै नेपाली जनसमुदायमा हार्दिक अनुरोध गर्दछौं ।’
नेपाली बाम आन्दोलनका बिभिन्न धारमा रहेका ब्यक्तिहरुले हालै नेपाल कम्युनिष्ट पाटी (बोल्सेभिक) गठन गरेका छन् ।


















