नागरिक आवाजका अभियान्ता अनिस वैद्यकोे नेतृत्वमा आज बिहान ८ बजे भक्तपुरको मध्यपुर थिमी ७ बाट उक्त पदयात्रा सुरु गरिएको उपत्यका आन्दोलन परिचालन कमिटीका संयोजक सुमन सायमीले जानकारी दिए ।
शुक्रबार पदयात्राको नेतृत्व गरिरहेका अभियान्ता वैद्यले आज थिमीबाट सुरु भएको “राष्ट्रिय स्वाधीनता, सहअस्तित्व तथा सुशासनका लागि उपत्यकाव्यापी सांस्कृतिक शान्ति पदयात्रा” बोडे, सरस्वती खेल हुँदै साँखु पुग्ने कार्यक्रम रहेको जानकारी दिए ।

उनले यो पदयात्रा कोरोना संक्रमणलाई ख्याल गर्दै भौतिक दुरी कायम राखेर एकहप्ताभित्र भक्तपुर ललितपुर हुँदै काठमाडौंका टोलटोलमा पुगेर यही असार १२ गते काठमाडौंको बसन्तपुरमा भेला हुने कार्यक्रम रहेको बताए ।
यो पदयात्रा किन भन्ने सवाललाई प्रष्ट पार्दै अभियान्ता वैद्यले भने, “विश्व नै कोरोना भाइरसको संक्रमणले लकडाउनको अवस्थामा रहेको बेलामा सरकार निर्लज्ज भई भ्रष्टचारमा लिप्त छ । र, यही बेलामा जनताले स्वीकार नगरेको राष्ट्रघाती अमेरिकी सहयोग परियोजना एमसीसी, मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट)लाई जवर्जस्ती संसदबाट पास गर्न खोजिरहेको छ, हामी एमसीसी खारेजीका लागि जनतालाई यसमा के छ भन्ने कुरा उत्यकावासीलाई बताउन गइरहेको छौं ।”

यसैगरी उपत्यका आन्दोलन परिचालन कमिटीका संयोजक सुमन सायमीले उपत्यकाका नेवाःको गुठी स्वायत्तताको मागको मर्म विपरीत सरकारले गुठी विधेयक सुझाव समिति गठन गरेको साथै यहाँको कृषि भूमि समाप्त पार्ने उद्देश्यसहित स्मार्ट सिटी, फास्ट ट्रयाक बाह्य चक्रपथ निर्माण कार्य अघि बढाइएको हुँदा सोको विरोध स्वरुप उपत्यकाव्यापी सांस्कृतिक शान्ति पदयात्रा सुरु गरिएको जनाए ।
यस्तै नागरिक आवाजका अभियान्ता रविन्द्र श्रेष्ठले नागरिकहरूको उद्देश्य “शान्ति, सदभाव र सहअस्तित्वको स्थापना गरी सम्वृद्धितर्फ उन्मूख हुनु हो” भन्दै देशमा बढिरहेको भ्रष्टाचारकाविरुद्ध नागरिकलाई सचेत गर्न गराउन पद यात्रा जरुरी रहेकाले अभियानमा जुटेको जनाए ।
नागरिक आवाजका संयोजक असोज महर्जनले पछिल्लो समय एउटा समूह राष्ट्रघाती एमसीसी संसदबाट पास गर्न लागि परेकाले सोको खारेजीका लागि जनदबाब बढाउन पदयात्रामा थालिएको जनाए ।


















