भारतबाट बिजुली ल्याउने तयारी

203

काठमाडौं – दुई दिनदेखि देशभर भएको वर्षात र बाढीका कारण विद्युत् आयोजनाहरूमा क्षति पुग्दा करिब पाँच सय मेगावाट विद्युत् उत्पादन अवरुद्ध हुन पुगेको छ । बाढीका कारण हालसम्म नेपाल विद्युत प्राधिकरणमातहत २४० मेगावाट र निजीक्षेत्रका २५० मेगावाट विद्युत् उत्पादन अवरुद्ध हुन पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

वर्षाका कारण मुलुकका विभिन्न स्थानमा विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणालीसमेत प्रभावित भएका छन् । ठूलो १४४ मेगावाटको कालीगण्डकी ए विद्युतगृह शुक्रबार बिहान ८ बजेबाट बन्द भएको छ । कालीगण्डकी नदीमा पानीको बहाव बढ्दो रहेकाले विद्युत्गृह कतिबेला सञ्चालन गर्न सकिन्छ भन्ने निश्चित नभएको केन्द्र प्रमुख पशुपति गौतमले जानकारी दिनुभयो ।

प्राधिकरण स्वामित्वका ७० मेगावाटको मध्यमर्स्याङदी, १६ मेगावाटको त्रिशूली, १४ मेगावाटको देवीघाट विद्युत्गृह अहिले बन्द हुन पुगेका छन् । निजी क्षेत्रको ४५ मेगावाटको माथिल्लो भोटेकोसीको उत्पादन पनि बन्द भएको छ । भारी वर्षाले इलामको सिद्धीथुम्कामा काबेली करिडोर प्रसारण लाइनमा क्षति पुग्दा यस लाइनमा जोडिएका विद्युत आयोजनाहरूको करिब १५० मेगावाट विद्युत उत्पादन बन्द गर्नुपरेको प्राधिकरणले जनाएको छ ।

भारी वर्षाका कारण देशका विभिन्नस्थानमा प्रसारण तथा वितरण लाइनको तार चुँडिने, रुखहरू ढल्दा लाइनमा क्षति पुग्दा विद्युत् आपूर्तिमा समस्या आइरहेको प्राधिकरणले जनाएको छ । स्वदेशी उत्पादन आकस्मिकरुपमा बन्द भएपछि कटैया र ढल्केबरहुँदै विद्युत् आयात गर्न लागिएको जनाइएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार बन्द भएका विद्युत्गृह, प्रसारण तथा वितरण लाइन यथासशीघ्र सञ्चालन गरी विद्युत् आपूर्तिको व्यवस्थापन गर्न प्राविधिक टोली खटिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार केही स्थानमा न्यूनतम विद्युत् कटौती गरी आपूर्तिको व्यवस्थापन भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here