काठमाडौं – वैदेशिक रोजगारीका नाममा चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म ५४ करोड रुपैयाँ ठगी भएको छ। ठगी रोक्न सरकारले सक्रियता बढाएको दावी गरे पनि ठगी रोकिएको छैन। ठगी गर्नेमा दलालभन्दा म्यानपावर व्यवसायी अत्यधिक छन्।
चालू आर्थिक वर्षको चैतसम्म दर्ता भएको तीन सय ३७ उजुरीसहित विगतदेखि थाती रहेका एक हजार एक सय ९२ जनाको ८० करोड ३६ लाख ६२ हजार आठ सय ९० रुपैयाँ ठगी भएको छ। यसमध्ये यो वर्ष उजुरी परेका एक सय ८७ जनाको १८ करोड ७७ लाख बिगोसहित विगतदेखि थाती रहेका तीन सय ९६ जनाको ४१ करोड ३४ लाख अदालतमा बिगो दावी गरिएको छ। संस्थागत रूपमा भएका ठगी छिटो छिनोफानो हुने गरी व्यक्तिगत ठगीका उजुरीमा समयमै सुनुवाई हुन नसक्दा कामदार मारमा परेका छन्।
सरकारले घोषणा गरेको फ्री भिसा, फ्री टिकट कार्यान्वयन गर्नुपर्ने म्यानपावर व्यवसायीले कामदारमाथि खुलेआम ठगी गर्दै आएका छन्। सरकारले सेवाशुल्क १० हजारभन्दा बढी लिन नपाउने नियम बनाए पनि म्यानपावर व्यवसायीले त्यसको २० गुणाभन्दा बढी रकम असुल्दै आएका छन्। दुई लाख ५० हजारभन्दा बढी रकम असुल्दा पनि सरकारले ठगी रोक्न कुनै कदम चाल्न नसकेको आजको अन्नपूर्र्ण पोस्ट् दैनिकमा खवर छ ।


















