नयाँदिल्ली — नेपाललगायत छिमेकी मुुलुकसँग सम्बन्ध बिग्रिएको विषयलाई लिएर विदेशमन्त्री एस जयशंकर र विपक्षी भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीबीच जुहारी चलेको छ ।
गान्धीले चीनसँगको पछिल्लो सीमा संघर्षको कारण खुलाउँदै मोदी सरकार विदेश नीति, छिमेकसँगको सम्बन्ध, अर्थतन्त्र सबै क्षेत्रमा असफल भएको आरोप लगाएका छ्न् । ‘यी सबै क्षेत्रको समायोजनबाट मात्र मुलुकको सुरक्षित हुने हो तर मोदी सरकारको पालामा यी सबै क्षेत्र संकटग्रस्त देखिएका छन्’ गान्धीले भनेका छन् । त्यसैगरी पाकिस्तानबाहेकका सबै छिमेकीहरुसँग भारतको पहिले घनिष्ट सम्बन्ध रहेको तर मोदी सरकारको कार्यकालमा त्यो सम्बन्ध क्षतिग्रस्त बनेको गान्धीको भनाइ थियो ।
साथै उनले नेपाल पहिले भारतको घनिष्ट मित्र भएको तर, अहिले मोदी सरकारका कारण नेपाल र नेपाली जनता भारतसँग रिसाएको दाबीसमेत गरेका छन् । ‘पाकिस्तानबाहेक सबै छिमेकी भारतसँग मिलेर कार्य गर्थे र भारतलाई आफ्नो साझेदार ठान्थे । नेपाल पहिले घनिष्ट मित्र थियो अहिले नेपालसमेत भारतसँग रिसाएको छ’ गान्धीले भनेका छन् । नेपाल गएर नेपाली जनतासँग कुरा गर्ने हो भने पनि अहिलेको अवस्थाप्रति उनीहरुको भारतविरुद्धको कत्तिको आक्रोशित छन् भन्ने थाहा पाउन सकिने समेत राहुलको भनाइ थियो ।
तर, विदेशमन्त्री जयंशकरले गान्धीका सबैजसो आरोपको खण्डन गरेका छ्न् । उनले भारतबाट १७ वर्षमा पहिलो पटक प्रधानमन्त्रीको भ्रमण भएको र जनस्तरको सम्बन्ध सुधारलाई प्राथमिकतामा राखिएको दाबी गरेका छन् । ‘प्रधानमन्त्रीबाट १७ सालपछि नेपालको भ्रमण भयो । त्यहाँका जनतालाई सोध्नु होस् उर्जा, इन्धन, आवास, अस्पताल र सडकलगायतका ठूलो क्षेत्रमा विकास परियोजनामा छन्’, जयंशकरले ट्विटमा उल्लेख गरेका छन् ।
त्यसैगरी जयंशकरले अर्थतन्त्र, परराष्ट्रनीतिलगायतका क्षेत्र संकटग्रस्त भएको क्षेत्रसम्बन्धी विषयमा पनि खण्डन गरेका छन् । उनले कांग्रेस नेतृत्वको सरकारले लिएका गलत नीति अंगीकार गरेको आरोप लगाएका छ्न् । कान्तिपुरबाट

















