साताका सबै मुद्दा स्थगित

149

काठमाडौं – लकडाउनको अन्त्यपछि गति लिएको सर्वोच्च अदालतमा एक जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण भेटिएपछि पुनः गतिरोध उत्पन्न भएको छ ।

यही साउन ७ गतेदेखि मुद्दाको सुनुवाइ गर्ने क्रमले तीव्रता लिएको भए पनि सर्वोच्चमा कार्यरत एक जना कर्मचारीमा संक्रमण भेटिएपछि उक्त कार्यमा पुनः गतिरोध उत्पन्न भएको हो ।

आज आइतबारका लागि सुनुवाइ गर्न भनी गत साता नै ५८ थान मुद्दा तय गरिएको थियो । कोरोना भाइरसको संक्रमण देखिएपछि ती सबै मुद्दाको सुनुवाइ अव नहुने भएको छ । सर्वोच्च अदालतका अनुसार ती सबै मुद्दाको सुनुवाइ स्थगित गर्ने निर्णय भएको र सो निर्णय आज सुनाइने भएको छ ।

सर्वोच्च अदालतमा कार्यरत कर्मचारीमध्ये १ सय ८० जनाको कोरोना भाइरसको परीक्षण गरिएको थियो । त्यसमध्ये केहीको रिपोर्ट आउँदा १ जनामा पोजेटिभ देखिएको सर्वोच्चले जनाएको छ । त्यसपछि मुद्दाको सुनुवाइ रोक्नुपरेको बताइएको छ ।

आइतबार सुनुवाइका लागि तोकिएका विषयमध्ये झन्डै १७ थान रिट र बाँकी फौजदारी मुद्दा थिए । यस्तै सोमबारका लागि ३७ थान मुद्दा सुनुवाइका लागि तोकिएको थियो । ती मुद्दा पनि सबै स्थगित गरिएका छन् । यसै गरी मंगलबारका लागि ५८, बुधबारका लागि ४७, बिहीबारका लागि ४५ र शुक्रबारका लागि पनि ४५ थान मुद्दा बहस गर्नका लागि तोकिएको थियो । सर्वोच्चले यो साताभरि नै ती मुद्दाको सुनुवाइ नगर्ने भएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here