
हेटौंडा- बागमती प्रदेशको राजधानी हेटौंडामा व्यवस्थित आइसोलेसनको अभाव भएपछि कोरोना संक्रमण पुष्टि भएकाहरू घरैमा छन्। संक्रमण परीक्षणको सिफारिस गर्ने हेटौंडा अस्पतालका चिकित्सकलाई नै संक्रमण पुष्टि भएको छ।
७० बेड क्षमताको आइसालेसन भनिएकोमा हाल ४४ जना बसेका छन्। ‘साँघुरो भवन, अव्यवस्थित शौचालय, बसाइ र कम्पाउन्ड पनि साँघुरो छ’, आइसोलेसनमा रहेका हेटौंडा– ४ का एक युवाले भने, ‘यहाँ भएकै मान्छेको व्यवस्थापन गर्न सकेको छैन, थप मान्छे ल्याएर जोखिम मात्र बढाउने काम हुन्छ।’
स्वास्थ्यकर्मीको अभावमा अस्पतालको आकस्मिक कक्षमै अन्य बिरामीसँगै कोरोनाको आशंका गरिएकाको पनि चेकजाँच गर्नुपरेको अस्पताल व्यवस्थापनले जनाएको छ। यसअघि आइतबार हेटौंडामा २३ जनामा कोरोना संक्रमण देखिएपछि समस्या समुदायस्तरमा फैलिएको पुष्टि भएको हो। मकवानपुरमा संक्रमितको संख्या ९७ पुगेको छ। विद्यालयमा आइसोलेसन वार्ड नराख्न शिक्षा मन्त्रालयले निर्देशन दिए पनि अन्यत्र व्यवस्थापन हुन सकेको छैन।
हेटौंडाको गौरीटार रंगशालाको भवनमा आइसोलेसन वार्ड सार्ने भनिए पनि काम भएको छैन। जिल्लाभर २० मध्ये १७ क्वारेन्टाइन सामुदायिक विद्यालयमा राखिएको छ। ‘अब थपिने संक्रमितहरूलाई राखेर उपचार गर्ने आइसोलेसन कक्षको अभाव छ’, स्थानीय स्वास्थ्यकर्मी उत्सव चौलागाईंले भने, ‘कमजोर तयारीका कारण समुदायमा तीव्र गतिमा संक्रमण फैलँदै गएको छ।’ आइसोलेसन वार्डबाट २ सय २६ जनाको स्वाब संकलन गरिएकोमा ९२ जनाको रिपोर्ट नेगेटिभ आएको छ। अन्यको रिपोर्ट आउन बाँकी रहेको वार्ड इन्चार्ज चौलागाईंले बताए। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रवीण श्रेष्ठका अनुसार दैनिक दुई सयभन्दा बढी व्यक्ति स्वाब परीक्षणको सिफारिस लिन आउँछन् यो समाचार अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।


















