नेपाली सेनाभित्र भ्रष्टाचारमा शून्य सहनशीलता : ‘ठूला माछा’सहित २६ सय सैनिकलाई कारवाही !

881

राजनीतिक र प्रशासनिक क्षेत्रमा भ्रष्टाचार गर्ने ‘ठूला माछा’लाई कारवाही नहुने गरेको गुनासो जनस्तरमा सुनिन्छ । तर कडा अनुशासन रहेको नेपाली सेनामा भने ‘ठूला माछा’लाई समेत कारवाही भइरहेको छ ।

केही दिनअघि नेपाली सेनाका सहायक रथी (जर्नेल) प्रयोग जबरालाई सरकारी सेवामा अयोग्य हुने गरी सैनिक सेवाबाट हटाइयो । पाँचखालमा रहेको नेपाली सेनाको ‘वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र’ अर्थात् शान्ति मिसनको व्यवस्थापन तथा तालिम दिने केन्द्रको प्रमुखका रूपमा रहँदा ‘सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको’ अभियोगमा जबरामाथि कारवाही भयो ।

केन्द्र प्रमुख हुँदा भ्रष्टाचार गरेको अभियोगमा नेपाली सेनाको समरी जनरल सैनिक अदालतले सैनिक ऐन २०६३ अनुसार कसूर गरेको भन्दै साउन ३२ गते जबरालाई १ करोड ७२ लाख जरिवानासहित सेवाबाट हटायो । उनीसँगै महासेनानी नविन सिल्वाल, प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई दोषी भन्दै सेवाबाट हटाइए भने सोही दिन सहसेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भाजबहादुर विष्ट र जमदार विनोद बस्नेतलाई १ तह दर्जा घटुवा गरियो ।

प्राविधिक सहसेनानी फिरोज महर्जन र जमदार भद्रबहादुर शाहीलाई नसिहत र महासेनानी राजेन्द्रमणि गिरी र लेखा सुवेदार नवराज पाण्डेलाई अवकाशपछि सफाइ दिने गरी फैसला सुनाइयो ।

जेठ ९ गते सैनिक आवासीय महाविद्यालय भक्तपुरमा आर्थिक अनियमिता गरेको भन्दै महासेनानी भुपालमान अधिकारीलाई १ करोड ८५ लाख ४० हजार रुपैयाँ असूलउपर गर्दै सरकारी सेवामा अयोग्य ठहरिने गरी सैनिक अदालतले बर्खास्त गरेको थियो । आवासीय महाविद्यालयमा आर्थिक अनियमितता भएको भन्ने गुनासो आएपछि २०७६ फागुन २३ गते सहायक रथीको अध्यक्षतामा कोर्ट अफ इन्क्वायरी बोर्डको सिफारिशमा सैनिक अदालतले उनलाई दोषी ठहर गर्दै बिगोसहित १ करोड ८५ लाख ४० हजार जरिवाना गरेको थियो ।

अधिकारीलाई सैनिक ऐन २०६३ को दफा ४९ को खण्ड (क), दफा ५२ को खण्ड (६) र (झ) कसूरमा दोषी ठहरिएको भन्दै दफा १०१ को उपदाफा (१) खण्ड (ग) र (घ) बमोजिम २ महिना कैद सजाय समेत गरिएको थियो ।

आर्थिक अनियमितता गरेको भन्दै अर्का प्रमुख सेनानी देवबहादुर क्षेत्रीलाई २ वर्ष बढुवा रोक्ने गरी ४ लाख ४० हजार जरिवाना गरिएको थियो भने हुद्दाद्वय यज्ञराज पोखरेल र गणेशबहादुर अधिकारीलाई आर्थिक अनियमितता गरेको भन्दै ३ लाख ६० हजार र १० हजार असूलउपर गर्ने निर्णय गरिएको थियो ।

पछिल्लो समयमा आर्थिक अनियमितता गरेको भन्दै माथिल्लो दर्जाका सैनिक रथी पनि कारवाही र बर्खास्तीमा परिरहेका छन् । भ्रष्टाचारमा सेनाका अधिकारीको नाम बाहिरिरहेका बेला प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक संगठन सुदृढीकरण र भ्रष्टाचारमा शून्य सहनशीलता भन्दै छानबिन र कारवाही प्रक्रिया अगाडि बढाइरहेका छन् ।

प्रधानसेनापति थापाले सेनामा हुने भ्रष्टाचारलाई शून्यमा ल्याउने भन्दै २०७६ भदौ २४ गते आर्थिक वर्ष २०७५/०७६ सालको आफ्नो सम्पत्ति विवरण समेत सार्वजनिक गरेका थिए । तर अन्य नेपाली सेनाका अधिकृतले भने हालसम्म पनि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् ।

नेपाली सेनाले दण्ड सजाय मात्र नभइकन पुरस्कार पनि दिएको छ । सेवामा राम्रो काम गर्ने अधिकृत, रथी र पदिक तथा अन्य दर्जालाई पुरस्कार पनि दिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले बताए ।

‘सेनाले नराम्रो काम गर्नेलाई दण्ड सजाय मात्र होइन, राम्रो काम गर्नेलाई  पुरस्कार पनि दिएको छ,’ प्रवक्ता पौडेलले लोकान्तरसँग भने ।

२ वर्षमा १६१ सैनिकमाथि कारवाही

पछिल्लो २ वर्षमा सेनाको सहसेनानीदेखि रथीसम्मका १६१ उच्च सैनिक अधिकारी कारवाहीमा परेका छन् । जसमध्ये ६ रथी बर्खास्त भएका प्रवक्ता पौडेलले बताए । रथीहरूलाई भावी सेनापतिको रुपमा हेरिन्छ ।

विगत २ वर्षमा सेनामा २ हजार ६४२ जना अधिकृत र पदिक कारवाहीमा परेका छन् । जसमध्ये २ हजार ४८१ जना पदिक र अन्य दर्जाका सैनिक छन् ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार २०७५ सालमा ३ जना रथी बर्खास्तसहित ९५ जना अधिकृत कारवाहीमा परेका थिए । पदिक तथा अन्य दर्जाका १ हजार ६७ जना कारवाहीमा परेका थिए ।

२०७६ सालमा अधिकृतभन्दा माथिका ३ जना बर्खास्तसहित ६६ जनाले दण्डसजाय पाएका छन् भने पदिक तथा अन्य दर्जाका १ हजार ४१४ जना कारवाहीमा परेका छन् ।

राम्रो गर्नेलाई पुरस्कार

२०७५ सालमा तक्मा र विभुषण पाउने १२६ जना, कमान्डेसन ब्याच (प्रधानसेनापति प्रशंसा निशान) २६५ जना, विशेष बढुवा ३०७ जना, मानार्थ बढुवा १५३ जना, शान्ति सेनामा अवसर पाउने १ जना र नगद पुरस्कार पाउने ४७४ जना सेनाका खेलाडी रहेका सहायक रथी पौडेलले बताए ।

तक्मा विभुषण पाउने ९ हजार ९०० जना, कमान्डेसन ब्याज पाउने ४९० जना, विदेश तालिमको अवसर पाउने १ जना, विशेष बढुवाको अवसर १०३ जना, मानार्थ बढुवा ११० जना, शान्ति सेनामा १ जना र नगद पुरस्कार पाउने सेनाका खेलाडी ५५ जना रहेका छन् । – गगन अर्याल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here