यसरी परिवारलाई काेभिड १९ काे संक्रमणबाट जोगाउन सकिन्छ ?  

143

– डा. अच्युत खनाल

समुदाय स्तरमा कोरोना फैलिनु भनेको एउटा छिमेकिलाई लाग्यो भने अर्को छिमेकिलाई लाग्ने मात्र होइन , एउटा परिवारको सदस्यलाई लाग्यो भने अरु सदस्यहरूलाई पनि लाग्न सक्ने अवस्था हुनु हो । तसर्थ तपाईको घर भित्रको चालचलनहरु , आनि बानि  केही हेरफेर हुनु जरूरी छ । यस्ता हेरफेरले कुनै एक  परिवारको सदस्यलाई कोरोना सङ्क्रमण भइहाले अरु सदस्यलाई पनि सर्ने जोखिम कम गर्न मद्धत गर्दछ । घरको कुन ठाँउमा कस्तो व्यवहार गर्ने , परिवारका कस्ता व्यक्तिले कस्तो व्यवहार गर्ने त ? आउनुहोस यसको बारेमा केही चर्चा गरौं ।

१. मुल ढोका वा गेट । 

यहाँ सबैको हात दिनको धेरै चोटि पर्छ । यस्तो ठाँउमा परिवारका कुनै एक संक्रमित  सदस्यले या वहालमा बस्ने व्यक्तिको हातले छोएको हुन सक्छ ।  सङ्क्रमितले खोल्दा त्यो व्यक्तिको हात बाट सर्न सक्छ । के ले सफा गर्ने ? वाहिरको गेटको ह्‌यान्डलहरू साबुन पानीले सफा गर्ने । भित्रका काठका ढोकाहरुको ह्‌यान्डल , वाथरूमका चुकुलहरू स्पिरिट वा स्यानिटाइजरले सफा गर्ने ।

२. घर भित्र सबै परिवारका सदस्यहरूले छुने चिजहरू । 
टिभिको रिमोट , वत्तिको स्विच , वाथरूमको धाराको टुटि , बाथरूको कमटको स्प्रे,  किचनको धाराको टुटि , सधै समाएर हिड्ने भर्‍याङका रेलिङ लगायतका सामानहरू सधैं स्पिरिटले वा स्थानिटाइजरले वा पानि हाल्न मिल्ने ठाँउमा भए साबुन पानिले सफा गर्ने ।

३. मोवाइल फोन ।

मोवाइल फोन हरबखत हाम्रो हातले समाएको हुन्छ । दिनभरी विभिन्न ठाँउमा गएर आएर हामी हातगोडा ,मुख धोएर खाना खान्छौं । मोवाइल त सफा गर्दैनौं ।  हामीले नुहाइधुवाई गरेर सफा भएर फेरी त्यही सफा नगरिएको मोवाइल समायो भने हामीले नुहाएको , हात धोएको मतलब नै हुंदैन । तसर्थ बाहिर बाट घर आउनासाथ मोवाइलाई स्पिरिट र कपास वा कपडाले पुछेर सफा गर्नुपर्दछ । यसो गर्दा मोवाइलमा टासिएको भाइरसहरू निर्मुल हुन मद्धत पुग्छ ।

४. के के कुराहरू परिवारका अरु सदस्यहरूको प्रयोग नगर्ने ?

– मुख पुछने रुमाल ।

– सुत्ने ओछ्‌यान र विशेष गरी तकिया ( रोग सार्न सक्ने प्रमुख कारण हुन सक्छ । ) अरु सदस्यको ओछ्‌यान प्रयोग गर्नु परे तन्ना र तकियाको खोल फेर्ने । यसो गर्दा तकियाको खोलमा लागेको भाइरस अरुलाई सर्ने जोखिम कम हुन्छ ।

– दाँत माझ्ने ब्रस ।

– सफा नगरिएको मोबाइल ।

– कपडाहरू ।

५. कस्ता कुराहरु परिवारमा कम गर्दै लाने ? 

– लामो समयसम्म हावा कम चल्ने बैठक कोठामा वा आफ्नो कोठामा धेरै जना नबस्ने ।

– धेरै जना बस्नु परे सकेसम्म वरण्डा ,छत वा खुल्ला ठाँउमा बसेर दुरी कायम गरेर बस्ने ।

– बच्चाहरूलाई परिवारका सबै सदस्यले मायाले गालामा म्वाई खाने गर्छन । त्यो गर्न बन्द गर्नु पर्दछ । यसो गर्दा बच्चलाई सर्ने सम्भावना हुन्छ । साथै म्वाई खाने सबैलाई संङक्रमण हुन सक्दछ ।

६ . भान्छा वा खाने व्यवहारमा कस्तो परिवर्तन गर्दा राम्रो होला ?  

– ठूली परिवार छ भने भान्छामा सबैले एकैपटक खाना खानु पर्छ भन्ने छैन । २ -३ जना गरेर खाने ।

– जुठो खाने चलन छ भने त्यो तत्काल बन्द गर्ने ।

– एउटाले खाएको जुठो  ग्लासमा , कचौरामा , थालमा अरुले खाँदै नखाने ।

– खाइसकेपछी भाँडाहरूलाई साबुन पानिले राम्रोसँग एक मिनेट सम्म माझ्ने । जुठा भाँडालाई सादा पानिले मात्र पखालेर कुनै औचित्य छैन ।

७ . एउटा छुट्टै कोठाको व्यवस्था गर्ने । 

हालको अवस्थालाई मध्यनजर गरेर सम्भव भए सम्म घरमा एउटा छुटै कोठाको व्यवस्था गर्न सके राम्रो हुन्छ । त्यस्ता कोठामा केही लक्षणहरु देखियो भने गएर छुट्टै बस्न मिल्ने गरी बनाउने । सकभर उक्त कोठालाई बच्चाहरू र वृद्धवृद्धाबाट अलि टाढा बनाउने । वैठक कोठाहरू त हामीले बनाउँदै आएका छौं तर अबका केही समय त्यस्ता छुट्टै बस्न मिल्ने कोठाको पनि ख्याल राख्दै गरौं ।

यस्ता कुराहरू मनन गरेर दैनिक व्यवहारमा उतार्न सके धेरै हदसम्म परिवार भित्र फैलिन सक्ने सङ्क्रमण रोक्न सकिन्छ ।

याद राखौं कोरोना भाइरस लाग्दैमा आत्ति हाल्नु पर्दैन। अधिकांस संक्रमण केही दिनममा नै  निको भएर जान्छन । आफू जोगियौं र आफ्ना परिवारलाई जोगाउन सक्यौं भने समाजलाई जोगाउन सकिन्छ । तसर्थ केही समयको लागी अलि अप्ठ्‌यारो परे पनि आफ्ना घर भित्रका बानिहरू केही हेरफेर गरौं । आफू बचौं अरुलाई पनि बचाऔं ।

धन्यवाद ।

  • बाह्रखरी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here