काठमाडौं – कोरोना भाइरसका कारण बन्दाबन्दी र निषेधाज्ञाका कारण ज्याला मजदुरी गर्ने र मागेरै जिउने मानिसमाथि नराम्रो असर परेको बेला सारथिका रुपमा विनयजङ्ग बस्नेत एक समाजसेवीको रुपमा उभिनुभएको छ । अधिकांश मानिसले निषेधाज्ञाका कारणले घरमै बसेर सामाजिक सञ्जालमा व्यस्त हुने गरेका छन्, समाजसेवी बस्नेतको भने खाना पकाएर ठाउँठाउँमा बेवारिसे मानिसको लागि खुवाउनमै दिन बित्ने गरेको छ ।
साथीभाइ र सहयोगी हातहरूका कारणले खाद्यान्न, तरकारी, तेल , नुनलगायत सामान सहयोगको रुपमा आउने गरेकाले अहिले केही सहज भएको उहाँले भन्नुभयाे ।
उहाँले घरमै खाना बनाएर पशुपति र बालकुमारीलगायत विभिन्न ठाउँमा रहेका व्यक्तिलाई खाना पुर्याउने गर्नुहुन्छ । साथै, चितवनमा उहाँको सहयोगीहरूले पनि निषेधाज्ञामा परी खाना नपाएकाहरूको लागि खाना खुवाउँदै आएका छन् ।
अघिल्लो लकडाउनमा जस्तै अहिले पनि दैनिक तीन सय जना असहाय व्यक्तिलाई खाना खुवाएको उहाँ बताउनुहुन्छ । यस्ता बेवारिसे मानिसको लागि सरकारले सहयोग गर्ने कार्यक्रमहरू रहे पनि पुग्दो नभएको समाजसेवी विनय जनाउनु हुन्छ ।
आगामी दिनमा सडकमा बेवारिसे मानिस हुन नदिने गरी सरकारले काम गर्न जरुरी रहेको उहाँले गोरखापत्रलाई बताउनुभयो । उहाँले अहिलेसम्म २८० वटा बेवारिसे लासको दाहसंस्कार गरिसक्नुभयो । केही लास व्यवस्थापन गर्न कागजी प्रक्रियामा रहेको पनि उहाँले जनाएका छन् ।


















