भीमदत्तमा वायु गुणस्तर मापन केन्द्र सञ्चालन

117

महेन्द्रनगर – कञ्चनपुरको भीमदत्त नगरपालिकामा वायु गुणस्तर मापन केन्द्र स्थापना गरिएको छ । वातावरण विभागको सहयोगमा स्थापना गरिएको वायु प्रदुषण मापन केन्द्र सञ्चालनमा आएको हो ।

भीमदत्त नगरपालिकाका वातावरण शाखाका वातावरण अधिकृत गणेश ठगुन्नाले विभागको सहयोगमा वायु गुणस्तर केन्द्र सञ्चालनमा ल्याइएको बताए । उनका अनुसार महेन्द्रनगरसहित देशभरका वायु गुणस्तर मापन गर्ने केन्द्र स्थापना गरिएको हो ।

वायुको गुणस्तर मापनका लागि सोलार प्यानलसहितका उपकरण, कन्टेनर, डिस्प्ले बोर्डलगायत सामग्री जडान गरिएका छन् । केन्द्रले पीएम २ दशमलव ५ र पीएम १० माइक्रोमिटर भन्दा साना कणहरूको वायु तापक्रम र गुणस्तरबारे जानकारी दिने शाखा प्रमुख ठगुन्नाले जनाए ।

वायु गुणस्तरको मान ५० भन्दा कम भएमा वायु गुणस्तर राम्रो मानिनुका साथै ५१ देखि १०० सम्म सुरक्षित र सो भन्दा माथि बढ्दै गए वायु स्वास्थ्यका लागि हानिकारक बन्दै जाने उनको धारणा छ ।

भीमदत्त नगरपालिकाको कार्यालय परिसरमा राखिएको डिस्प्ले बोर्डमा महेन्द्रनगर बजारसहित अन्य शहरको वायु प्रदुषणको अवस्थाबारे जानकारी दिने व्यवस्था मिलाइएको छ । केन्द्रमा राखिएका उपकरणको मद्दले हावाको आद्रता, हावाको तापक्रम, हावाको गति, हावा बहने दिशालगायत जानकारी दिने छ ।

वातावरण विभागले भीमदत्तसहित देशका अन्य भागमा मापन केन्द्र स्थापनाका लागि रू. १÷१ करोड बजेट विनियोजन गरेको थियो । सुदूरपश्चिम प्रदेशमा यसअघि धनगढीमा केन्द्रको स्थापना भइसकेको छ । – आर्थिक अभियान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here