बाबु आमाको श्राद्ध गरौं, पिण्डदान नगरौैं

81

-चन्द्रप्रकाश बानियाँ

श्राद्ध पक्ष अर्थात भाद्र कृष्ण पक्ष नजिकिन थाल्यो । प्रारम्भमा औंसीमा मात्र गरिने श्राद्ध कसरी मरेतिथिमा स¥यो । मरेतिथिले मात्र पुगेन, अर्को एउटा पक्ष नै श्राद्धको निमित्त किन तोकियो भन्ने कुराको स्पष्ट आधार र कारण कतै फेला पर्दैन । तैपनि पितृ अर्थात जन्मदाता अग्रजहरुलाई मृत्युपश्चात पनि सम्झँदै रहनु, कृतज्ञता ज्ञापन गर्नु, सकिन्छ भने उनीहरुका स्मृतिमा दान दक्षिण गरिदिनु, समाजपयोगी कामहरु गरिदिनु राम्रो परम्परा हो । त्यही असल मनसाय र भावनाबाट शुरु भएको परम्पराको विकृत र भद्दा रुप पिण्डतर्पण हो । शास्त्रीय परिभाषा हेर्दा श्राद्ध आयोजनाको त्यति विशाल उद्देश्य देखिदैन । पितृका नाममा संकल्प गरिएको धन माल र दान दातव्य ब्राह्मणहरुले स्वीकार गरिदिनुलाई “श्राद्ध” को रुपमा परिभाषित गरिएको छ । श्राद्धविधिको सन्दर्भमा विशेष रुपमा उदाहरण लिइने देवल ऋषिको कथनले त्यसै भन्छ । खासगरेर, श्राद्धको नाममा पितृका नाममा पिण्डतर्पण दिने परम्परा  विशुद्ध नौटङ्की होइन भन्न सकिदैन ।

पितृका नाममा जल, अग्नि वा पृथ्वीमा सेलाइएका पिण्डहरु श्राद्धदेव मानिएका विश्वदेवहरुले मरेर अनेक जुनि लिएका र अनेक लोकमा पुगेका पितृहरुलाई तत्तत ठाउँमा पु¥याइदिन्छन भन्ने मान्यता बनाइएको छ । यज्ञको सन्दर्भमा पढिने मन्त्रहरुमा देवतालाई ठाउँको ठाउँ बोलाउन सक्ने शक्ति हुन्थ्यो भने आपतविपत आइलाग्दा मन्त्रोच्चारण गरेर देवता बोलाउन सकिन्थ्यो । एक ठाउँबाट अर्को ठाउँमा कुनै वस्तु पठाउन वा मगाउने सकिने शक्ति मन्त्रहरुमा हुन्थ्यो भने हुलाक, बैंक, कुरिएर जस्ता संस्थाको विकास गर्नुपर्ने जरुरत पर्दैनथ्यो । एउटा ग्रहबाट अर्को ग्रह वा लोकमा मन्त्रद्वारा वस्तुहरु पठाउन सकिने भैदिएका भए जहाज वा अन्तरिक्षयानको आविष्कार नै हुनैनथ्यो ।

मानिस नामको प्राणी भौतिक शरीर र आत्मा नामका दुई भिन्न तत्वहरुको संयोजन हो र मान्छेको मृत्यु हुँदा शरीरबाट निस्केर आत्माले उन्नत लोकको यात्रा प्रारम्भ गर्छ भन्ने मान्यताका आधारमा श्राद्धविधिको निर्माण भएको छ । वास्तवमा आत्मा नामको अमर तत्व मानिसको शरीरमा विराजमान छ र मानिसको मृत्युपछि त्यसले बसाई सर्छ वा पुनर्जन्म लिन्छ भन्ने मान्यताको कुनै वस्तुगत आधार छैन । त्यो नितान्त काल्पनिक कुरा हो । मानिसको आयु रुपी जीवन यात्राको अन्तिम गन्तव्य मसानघाट हो । मसानघाट अर्थात चिहानघारीभन्दा उता कतै जाने ठाउँ नै हुदैन । त्यस्तो शक्ति सामथ्र्य मान्छे्मा हुदै हुदैन । मानिसको जीवनको सम्पूर्ण विसर्जन प्रक्रिया मसानमा पुगेर समाप्त हुन्छ ।

प्रकृतिको रचना विचित्र र विराट छ । कुनै आकस्मिक घटना–दूर्घटनाको परिणाम स्वरुप सूर्यबाट एउटा चोइटो उछिट्टियो र त्यसलाई मान्छेले पृथ्वी भन्ने नाम दियो । सूर्यबाट पृथ्वी चोइटिनुको कारण अवश्य थियो तर विशेष उद्देश्य थिएन । त्यो नितान्त आकस्मिक घटना थियो । पृथ्वीले निरन्तर अविछिन्न सूर्यको परिक्रमा गर्छ । त्यसको वैज्ञानिक कारण छ र उद्देश्य भने छैन । पृथ्वी आफ्नै कक्षमा पश्चिमबाट पूर्वाभिमुख भएर घुम्छ । त्यसको परिणाम स्वरुप दिन रात हुन्छ । तर पृथ्वी घुम्नुको उद्देश्य त्यो पनि होइन । सूर्यको वरिपरि घुम्ने अनेक ग्रह उपग्रहहरु छन् । तिनीहरु सबैको परिभ्रमण निरुद्देश्य हुन्छ । सबै ग्रह पिण्डहरुको गति निरन्तरता संयोग मात्र हो । ब्राह्माण्डको निर्माण पनि संयोग मात्र हो । कमसेकम त्यसको निर्माण र सञ्चालनमा कुनै सचेत तत्वको हात छैन ।

यो पृथ्वीमा अनेक भाँती र जातिका करोडौं अरबौं जीवजन्तुहरु छन् । तिनको जन्म वा विनासको पनि कुनै निश्चित उद्देश्य रहँदैन । पदार्थमा अन्तर्निहीत  आन्तरिक गुण र वाह्य शक्तिको प्रभावका कारणको प्रतिक्रिया स्वरुप अनेक वस्तु र जीवजन्तुहरुको निर्माण तथा विकास हुन गएको हो । कसैले विशेष उद्देश्य राखेर तिनको विकास वा सृष्टि गरेको होइन । विशेष उद्देश्य परिपूर्तिका लागि निश्चित आकार र आकृति दिएको पनि होइन । तिनको निर्माणमा न कुनै उद्देश्य छ न त्यो कुनै रहस्य हो ।

धर्तीमा अनेक रुप रंग, आकार र विशेषताका अनेक वनस्पतिहरु उम्रन्छन् । तिनको विवधता र गुणवत्ता निर्माणमा कसैको विशेष उद्देश्य थिएन । तिनै विविधतामध्येको एउटा अलग अस्तित्व भएको जीव हो –मानव । ब्रह्माण्डको आकार यति विशाल छ कि त्यस अन्तर्गत मान्छेको अस्तित्वको गणना नै हुदैन । अर्थात भीमकाय सिर्जना अन्तर्गतको एउटा सानो कण मात्रै हो– मानवजीवन । अर्थात ब्रह्माण्डको सापेक्षतामा मानवको कुनै मूल्य छैन । मूल्यहीन वस्तुको निर्माणमा कसैको कुनै उद्देश्य निहित रहने प्रश्नै उठ्दैन । त्यसो हो भने मानिसको उत्पत्ति किन कसरी भयो त ? पदार्थमा निरन्तर पविर्तन हुने विलक्षण गुण रहन्छ । पदार्थमा हुने त्यही निरन्तर प्रक्रियाबाट जीवनको उत्पत्ति भएको हो । अर्थात मानिस नामको जन्तुको विकास भनेको पदार्थमा निरन्तर भैरहने रुप परिवर्तनको परिणाम हो ।

जसरी ब्रह्माण्डमा अन्य चीजवस्तु र जन्तु वनस्पतिहरु विकसित भए मानिस पनि त्यही प्रक्रियाको अभिन्न र अति सुक्ष्म अंश हो । धर्मशास्त्रहरुले भने जस्तो विशेष उद्देश्यका निमित्त कुनै विशेष शक्ति वा इश्वर अथवा परमात्माले मानिसको सिर्जना गरेका होइन । मान्छे कल्पनाशील छ । त्यसैले मानवजीवनको बारेमा अनेक कल्पना गरेको छ । इश्वरले मासिनको रचना ग¥यो भन्ने कुरा त्यही उर्वर कल्पनाको कथा मात्र हो । जसरी वनस्पति जगतमा प्राकृतिक रुपमा अनेक रुप रङ्गका फूलहरु फुल्छन्, फलहरु लाग्छन् त्यसैगरी जन्तु जगतमा लागेको एउटा मनोहर फूल मात्र हो –मानव उत्पत्ति ।

मान्छे भनेको भौतिक पिण्ड हो । त्यस पिण्डभित्र आत्मा नामका विशेष तत्व बस्छ, देह विसर्जित हुँदा पनि त्यो स्वतन्त्र र अमर तत्व नासिदैन भन्ने कुरा पनि कल्पना मात्र हो । जसरी एउटा हरियो विरुवामा रातो गुलाव फुल्छ, त्यसैगरी मानवरुपी पूmल पनि प्रकृतिको बगैचामा प्राकृतिक रुपमै उत्पन्न हुन्छ । प्रांकृतिक रुपमै प्रकृतिमै विलीन हुन्छ । मानव जीवनको निर्माण र विनासमा कसैको कुनै उद्देश्य रहँदैन । जसरी बलिरहेको दियोमा तेल सकिएपछि अन्धकार नासगर्ने प्रदिप्त ज्वाला सून्यमा विलीन हुन्छ, त्यस ज्वालाको अस्तित्व पुनः कसैले फेला पार्न सक्तैन, त्यसैगरी मानव शरीरले जीवनका लागि आवश्यक पर्ने पोषण ग्रहण गर्ने क्षमता गुमायो भने चेतना स्वतः सून्यमा विलुप्त हुन्छ ।

उदाहरणका लागि अनसनमा बसेको मान्छेलाई लिन सकिन्छ । आवश्यक पोषण प्राप्त नहुने हुनाले शारीरिक रुपमा अनसनकारी शिथिल हुन थाल्छ । शरीर गल्दै जाँदा चेतना विलुप्त हुदै जान्छ । आत्मा भनेको त्यही शरीरले दुख पाउँदा  विलुप्त हुन खोज्ने चेतनतत्व हो ।  आत्मा भनेको शरीरबाट अलग, स्वतन्त्र र अमर तत्व हुन्थ्यो भने शरीरले अन्नपानी ग्रहण नगरे पनि त्यो अप्रभावित रहनु पथ्र्यों । ठूलो घाउ चोट लाग्दा शरीरबाट धेरै रगत बग्यो भने रगतको अभावको कारणले पनि मानिसको मृत्यु हुन्छ । रगतको अभावमा मस्तिष्कलाई आवश्यक पर्ने पोषण र अक्सिजनको आपूर्ति बन्द हुन्छ । ती दुई वस्तुको अभावमा मानव चेतना विलुप्त हुने हो । शरीर असक्त र कमजोर हुँदा चेतनाको अस्तित्व संकटमा पर्छ । आत्माको अलग अस्तित्व हुने भैदिएका भए शरीरमा आउने परिवर्तन वा क्षतिको प्रभाव आत्मामा नपर्नु पथ्र्यो ।

उपयुक्त मात्रामा ताप र ओस मिल्यो भने वीज अङ्कुरित हुनथाले जस्तै मानव शरीरमा आत्मा अर्थात चेतना उत्पन्न हुनका लागि आवश्यक तत्व पुग्यो भने चेतना स्वतः उत्पन्न हुने हो । अनेक रासायनिक जैविक तत्वहरुबीचको प्रतिक्रिया स्वरुप चेतना उत्पन्न हुने हो । मानव शरीरमा रहने रासायनिक भौतिक तत्वहरुको उचित संयोजन बाहेक चेतनासँग अन्य कुनै अलौकिक तत्वको साइनो सम्बन्ध रहँदैन । मानव शरीर र त्यससँग सम्बन्धित भएर जन्मने चेताना दुबैको आदि र अन्त भौतिक तत्वमा आउने आकस्मिक परिवर्तन हो । शरीरको नाससँग चेतना पनि स्वतः नास हुन्छ । हेर्दा सग्लो र तन्दुरुस्त देखिने शरीरबाट कहिलेकहीँ चेतना अकस्मात विलुप्त हुनुको कारण दियो र बाती साबुत रहँदा रहँदै पनि तेल सकिएपछि बत्ती निभे जस्तै हो । अर्थात चेतना उत्पन्न हुने र त्यसलाई टिकाइरहने आवश्यक तत्वहरु नपुग्दा चेतनाको विनास निम्तिने हो ।

भौतिक शरीरभन्दा त्यसबाट उत्पन्न हुने चेतना अपेक्षाकृत कमजोर र अल्पायुको हुन्छ । जसरी दियो र बाती साबुत हुँदा पनि तेल नपुगे बत्ती निभ्छ, तेल बाँकी भएर बाती तुरियो भने पनि बत्ती निभ्छ, त्यसैगरी यो वा त्यो तत्वको कमि शरीरमा हुनगयो भने चेतना नामको बत्ती पनि निभ्छ । शरीरमा चेतना वा आत्मा बाहिरबाट आउने होइन । शरीर भित्रैको जैविक रासायनिक भौतिक क्रिया प्रतिक्रिया स्वरुप उत्पन्न हुने हो । अन्तबाट आएर बस्ने प्रकृति नभएको हुनाले शरीरबाट निस्केर अन्त जाने सामथ्र्य पनि चेतनासँग रहँदैन ।

आत्मा भनेको स्वतन्त्र रुपमा आउ जाउ गर्ने तत्व होइन । त्यसैले मृत्युपछि त्यसको अर्को कुनै अर्को गन्तव्य पनि हुन सक्तैन । आत्मा, परमात्मा र पुनर्जन्मको कथा मनगढन्ते कल्पना हो । मानव शरीर विनाउद्देश्य निर्माण हुन्छ, विनाउद्देश्य त्यसबाट चेतना उत्पन्न हुन्छ र विनास पनि विनाउद्देश्य नै सम्पन्न हुन्छ । सिङ्गो चराचर जगतको उत्पत्ति वा विकास संयोग मात्र हो । मावन विकासको पनि कुनै उद्देश्य रहेको हुृदैन । जब उत्पत्ति नै विनाकारण भएको हुन्छ भने त्यसको निरन्तरता अर्थात जन्म पुनर्जन्म हुदै रहन्छ भन्ने कुराको औचित्य कतैबाट पुष्टि हुदैन ।

शरीरको मरणपछि आत्माको कुनै गति बाँकी रहँदैन । त्यसैले मराणपछि आत्माको सहुलियत वा सुविधाका लागि कुनै कर्मविशेष गरिदिनुपर्छ, त्यसबाट आत्माले लाभ लिन्छ वा तृप्त हुन्छ भन्ने कुरा कल्पना मात्र हो । मानिसको मृत्युपछि उसको नाममा गरिने दान, पुण्य, पिण्ड, तर्पण श्राद्ध जस्ता कर्महरु पूर्वजहरुप्रतिको प्रेम, श्रद्धा, सद्भाव, आस्था, ममता र कृतज्ञताको अभिव्यक्ति मात्र हो । परमार्थ भन्ने कुरा काल्पनिक हो । मान्छेको अतृप्तताको सान्त्वनाको लागि गरिएको कल्पना हो । आत्माको पारमार्थिक अस्तित्व पनि काल्पनिक हो । त्यसैले श्राद्धमा मृतजनहरुको सम्झना गरौं । इष्टिमित्र, आफन्त, दुःखी, गरीबहरुलाई भोजन गराउँ तर पिण्ड दिने नौटङ्की चाहिँ नगरौं । दानदक्षिणा पनि नगरौं । तिनको कुनै औचित्य छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here