बाढीले बस्ती बगाउँदा बाह्र बेपत्ता

52

काठमाडौं – बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ मा बाढीले बगाउँदा बाह्र जना बेपत्ता भएका छन् ।

सुकुर्दुङ खोलामा बाढी आउँदा कम्तिमा १० घर बगेका छन् । सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको स्थानीयले बताएका छन् । अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा आएको बाढीले घर बगाउँदा करिब १२ जना सम्पर्क विहीन रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।

‘रातिको समयमा खोला उर्लेर आउँदा कति क्षति भयो र कति बेपत्ता भए भन्ने यकिन हुन सकेको छैन’, भण्डारीले भने, ‘अहिले उद्दारको काम भइरहेकोछ, बस्ती सानो भएका कारण मानिसलाई खोलाले नै बगाएको अनुमान छ ।’

बाढीका कारण एक दर्जन मानिस बेपत्ता भएको र एक जनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए । उनले राति नै घटनास्थलमा प्रहरी परिचालन गरिएको भन्दै बिहान नेपाली सेना र सशस्त्र प्रहरी बललाई घटनास्थलमा पठाइएको जानकारी दिए । घटनाको विषयमा बुझ्न प्रमुख जिल्ला अधिकारीको टोली ढोरपाटन जान लागेको छ ।

स्थानीयका अनुसार ढोरपाटन शिकार आरक्षको प्रवेशद्वार मानिने देउराली पहाडबाट पहिरो पनि खसेर गाउँमा क्षति पुर्याएको स्थानीयले बताएका छन् । लाकुरीबोटमा ३ जना, दुनेपधेँरीमा ३ जना, घट्टबोटमा ७ जना, भुसुन्डेमा ३ जना सम्पर्कविहीन भएका छन् ।

लाँकुरीबोटका ११ घर, दुनेपधेँरीका ५ घर, घट्टबोटमा ८ घर, भसुन्डेमा १ घर बगेका छन् । यसैगरी सकुरदुङको सरस्वती आधारभूत विद्यालय, सुप्राङको जनचेतना प्रावि र बोबाङका तीनवटा जलविद्युत आयोजना र तीन वटा झोलुङ्गे पुलसमेत बगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here