रथ तान्ने क्रममा कुटपिट गरेको आरोपमा नाै जनालाई अनुसन्धान शुरू

234

काठमाडौं –  ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका ९ जनालाई प्रहरीले चार वटा मुद्दामा अनुसन्धान शुरू गरेकाे छ । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार बिहीबार पक्राउ परेका ९ जनालाई हिरासतमा लिई विभिन्न मुद्दामा अनुसन्धान थालिएको हो। उनीहरूलाई परिसरले शुक्रबार ललितपुर जिल्ला अदालतमा म्याद थपका लागि लैजाँदैछ।

म्याद थपेर हिरासतमा राख्ने अनुमति लिनुअघि परिसर प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक टेकप्रसाद राईले भने,  ‘अहिले हामीले चार वटा मुद्दा आकर्षित हुने देखेका छौं, सोही कसुर स्थापित हुने गरी अनुसन्धान गरिरहेका छौं।’ उनका अनुसार संक्रामक रोग ऐन २०२०, कुटपिट, स्थानीय प्रशासन ऐन २०२८ र सार्वजनिक शान्तिविरूद्धको कसुरमा उनीहरूलाई अनुसन्धान भइरहेको छ।

निषेधाज्ञाको समयमा यी अपराध स्थापित हुने गरी पक्राउ परेकाहरूले कार्य गरेको देखिन आएको राईले बताए। बिहीबार रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा भीडले प्रहरी जवान घिमिरेलाई ज्यान मार्ने उद्देश्यले आक्रमण गरेका थिए।

जवान घिमिरे भाग्न सकेका कारण उनको ज्यान जोगिएको थियो। टाउकोमा रहेको हेल्मेट नफुस्किएका कारण इँटा प्रहारबाट उनी बचेका थिए।

घटनापछि ललितपुर परिसरले बेलुका सिसिटिभी भिडिओसमेत अनुसन्धान गरी ९ जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा ललितपुर-१६ गावाहलका महेश बज्राचार्य, ललितपुर-११ का पृथबिन्दु महर्जन, २१ का अशोजकुमार महर्जन, ६ का रवि शाक्य, १६ का रविन शाक्य, महालक्ष्मी नगरपालिका-१ इमाडोलका सुविन शाक्य, ध्रुवराज बज्राचार्य, भक्तपुर ठिमी-८ का श्याम श्रेष्ठ र काठमाडौं-१६ का यादवलाल कायस्थ छन्। अन्य केहीलाई प्रहरीले पक्राउ सूचीमा राखेको छ। ‘यो कार्यमा जो-जो संलग्न देखिन्छन्, ती सबै पक्राउ पर्छन्,’ राईले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here