ललितपुर – रातो मच्छिन्द्र नाथ तान्ने क्रममा भाद्र १८ गते विहिबार भएको झडपको क्रममा पक्राउ गरि हिरासतमा राखिएका अभियन्ता तथा स्थानीय युवा र पत्रकारहरुको बिना शर्त रिहाईको माग राख्दै ठाउँ- ठाँउमा प्रदर्शन जारी रहेको छ । यसैबीच बुधबार पनि उपत्यकाका विभिन्न ठाउँमा प्रदर्सन भएका छन् ।
काठमाडौंको असनमा रिहाईको प्लेकार्ड बोकेर स्थानीय युवाहरूले प्रदर्सन गरेका छन् । यसप्रकारको विरोध प्रदर्शनकारी उपत्यकाका टोल टोल र बस्ती बस्तीमा बिस्तारित हुँदै गएको छ ।
सम्पदा अभियन्ताहरुको रिहाइको माग गर्दै सम्पदाप्रेमी स्थानीय युवाहरुले जल देय् हरिसिद्धिमा मसाल जुलुस निकालेका छन् । ठूलै युवा समूहको सहभागिता रहेको यस मशाल जुलुसले सरकार विरोधी नारा समेत लगाई हिरासतमा लिइएका आफ्ना सहकर्मीहरुको रिहाईको माग गरे ।
मशाल जुलुस लाछीबाट सुरु भइे हरिसिद्धिका बिभिन्न स्थानको परीक्रमा गरी त्यहाँको धल्कोमा एक कोण सभा गरी समापन गरिएको थियो । कोण सभामा बोल्दै अभियन्ता कृष्ण गोपाल भायोले लगायतका वक्ताहरुले प्रक्राउ परेका सबैको रिहाइ नभएसम्म आन्दोलन जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।
गत बिहीवार पुल्चोक रथयात्राको क्रममा बल प्रयोग गरि नियन्त्रणमा लिइएका अभियन्ता युवाहरूको रिहाईको माग राख्दै हिजो बुधबार ललितपुरको मंगल बजार, जलदेय् हरिसिद्धी , बुंगमति ,काठमाडौंको जोशीदेगल , असन ,टोखा लगायतया ठाउंमा विरोध प्रर्दशन भएका छ्न् । यसरी ऊनीहरुले सामाजिक दुरी कायम गर्दै शान्तिपूर्ण जुलुस , मशाल जुलुस, प्लेकार्ड सहित शान्तिपूर्ण विरोध प्रदर्शन गरी अभियन्ताहरुको रिहाईको माग गरेका थिए ।
पक्राउ गरि हिरासतमा राखिएका अभियन्ताहरुको रिहाईको माग राख्दै काठमाडौं बाहिर रौतहटमा पनि विरोध प्रदर्शन भएको थियो । यसैक्रममा टोखा,साँखु ,थिमि, खोकना, कीर्तिपुर, पनौती ,लगायतका ठाँउमा दिनहुँ जस्तै प्रदर्शन भइरहेको छ ।
पुल्चोक घटनामा गिरफ्तार गरिएका २० जना मध्ये बुधबारसम्ममा १२ जनालाई रिहा गरिएको छ । बुधवार रत्नलाल श्रेष्ठ र अनिस महर्जन रिहा भएका थिए भने अझै आठ जना युवा अभियन्ताहरु हिरासतमा रहेका छन् ।
उनीहरूलाई छोड्नको निम्ति आवश्यक सबै प्रक्रिया पूरा भइसक्दा पनि रिहा नगरिएकोमा आशंका व्यक्त गरिन थालिएका छन् । पक्राउ परेका अभियन्ताहरुमध्ये केही काठमाडौं उपत्यकाका सम्पदा अभियानमा सक्रिय युवाहरु तथा खोकनामा फास्ट ट्रायकले त्यहाँको आदिवासीलाई विस्थापित गर्न लागेको विरोधमा उत्रिएका नेतृत्व गरेका अभियन्ताहरु समेत रहेका छन् ।
उनीहरूको रिहाइको निम्ति सर्वत्रबाट दबाब दिने कार्य भइरहेपनि अझै रिहा नगरेकोमा सम्पदाप्रेमी जन समुदाय आक्रोसित बनेको छ ।
“उहांँरूलाई अन्य मुद्दामा फसाउन त खोजेको हैन” एक अभियन्ताले आशंका व्यक्त गरे ।”हामी रिहा नगरिएसम्म विरोध जारी राख्ने छौं उनले भने ।
पछिल्लो समयमा राजनीतिकवृत्तबाट समेत उनीहरूको रिहाइको पहल भइरहेको जनाए । सेभ नेवाः भ्यालीका तर्फबाट पनि अभियन्तताहरुको रिहाइको पहल गरिरहेको संस्थाका संयोजक शैलेश शाक्यले जानकारी दिए ।

















