एजेन्सी – अहिले प्रायः जसाे नोट लिनका लागि मानिसहरुले फोन या कम्प्युटरको प्रयोग गर्ने गरेका छन् । तर वास्तवमा हाम्रो मस्तष्किलाई परम्परागत पेन र पेपरले नोट प्रयाेग गर्दा नै फाइदा पुग्ने वैज्ञानिक अनुसन्धानले देखाएको छ ।
हातले प्रयोग गर्ने प्रत्येक साधनले दिमागलाई सक्रिय परिरहेको हुन्छ जसकारण नै बौद्धिक क्षमता वृद्धि गर्ने विषयमा हातले नोट लेख्नु बढी शक्तिशाली माध्यम साबित हुने गर्दछ । यसले उक्त जानकारी वा नोट छिटै याद गर्ने क्षमता बढाउँछ । त्यस्तै लेखेर नोट लिनुको अर्को फाइदा भनेको यसले बाहिरी स्मरण भण्डारको काम पनि गर्दछ ।
हामीले प्रभावकारी रुपमा हातले लेखेर जानकारीहरु टिप्न ३ या ४ कक्षादेखि नै सिकका हुन्छौँ तर यसले जुनसुकै उमेरका व्यक्तिलाई पनि दिमागी फाइदा गराउने हुँदा यो शैलीको बानी पार्न कहिल्यै ढिलो नहुने विज्ञहरु बताउँछन् । हामी अहिले डिजिटल युगमा भएकाले पनि दैनिकीका कामहरु प्रविधि मार्फत गरिरहेका हुन्छौँ । यसमा मोबाइल वा कम्प्युटरको किबोर्डको प्रयोग गर्न सक्नु पनि धेरै महत्वपूर्ण क्षमता हो । तर किबोर्डले, हातले लेख्दा जसरी हाम्रो दिमागमा प्रभाव पार्न सक्दैन । अर्थात पेन्सिल वा पेन अनि कागजसँग हातको सम्पर्कप्रति दिमागले जति प्रभावकारी रुपमा प्रतिक्रिया दिन्छ त्यति किबोर्डले टाइप गर्दा दिँदैन ।
व्यवहारिक रुपमा सबैलाई ल्यापटप नै अधिक छिटो र प्रभावकारी माध्यम लाग्न सक्छ तर हातमा पेपर र पेन लिनु पछाडिका थुप्रै राम्रा कारणहरु छन् । अनुसन्धानकर्ताहरुले किबोर्ड मार्फत नोट लिनुले दिमागमा जानकारीहरु प्रोसेस हुने प्रक्रिया अवरुद्ध गर्ने भएकाले यसलाई ‘नन–जेनेरेटिभ’ अर्थात गैर उत्पादक बताएका हुन् । तर यसको विपरित हातले नोट लिनु चाहिँ बौद्धिक सञ्चालनसँग सम्बन्धित भएको हुँदा यसले कुनैपनि जानकारीलाई गहिराइपूर्वक बुझ्न मद्दत गर्ने गरेको पत्ता लगाएका छन् ।
त्यस्तै नोट लेखेर साथीसाथीबीच साटासाट गर्ने अनि एकअर्काको लेखाइ र बुझाइलाई तुलना गर्नु धेरै पहिले देखिको अध्ययन रणनीति रहँदै आएको छ । तर राम्रो नोट लेख्न हातको गतिका साथै स्पष्ट हुन पनि आवश्यक पर्दछ । यसका लागि अक्षरहरु नछुटाइ लेख्नुपर्ने हुँदा ‘कर्सिभ राइटिङ’ प्रभावकारी हुन सक्छ । त्यस्तै निरन्तर लेखिरहन सक्ने कला, स्कुलका प्रारम्भिक कक्षामा हुँदाको अभ्यासमा पनि भर पर्ने गर्दछ । यसैकारण कक्षा तीनदेखि चारबीचको समय बालबालिकाहरुका लागि अधिक महत्वपूर्ण मानिएको हो । यसरी प्रत्येक वर्ष माथिल्लो कक्षा पुग्दैगर्दा उनीहरुको पढ्ने, लेख्ने अनि बुझ्ने क्षमतामा सुधार आउँदै जान्छ ।
तर जानकारीहरुलाई चित्रका रुपमा पनि उतार्न सकिन्छ । लिओनार्दो दा भिन्सीले भनेका थिए, “जति धेरै वर्णन गर्यो पाठक उत्तिनै द्विविधामा पर्न सक्छन् र त्यति नै उनीहरुको दिमाग व्याख्या गरिएका ज्ञानका कुराबाट हट्दै जानेछ । त्यसैले व्याख्या गर्नुका साथै चित्र बनाउन पनि उत्तिकै जरुरी छ । ” उनका नोटबुकहरुले पनि विभिन्न रचनात्मक, जिज्ञासापूर्ण मस्तिष्कको झलक दिन्छ जसबाट उनीसँग आफ्नो समय भन्दा धेरै शताब्दी अगाडिको बौद्धिक क्षमता रहेको खुलासा हुन्छ ।
यसमा अवलोकनात्मक लिखित नोटहरु सबैभन्दा प्रभावकारी हुने बताइएको छ जस्तै कि पाइ–चार्ट । विशेषगरी पत्रकारीता, शिक्षण, आर्किटेक्चर, इन्जिनियरिङ, फेशन लगायतका पेशाका लागि लेख्नु विकल्प नभएर आवश्यकता भएको हुँदा यसमा संलग्नहरु नोट लिनु र स्केच गर्नुका फाइदा र महत्वबारे पहिले नै धेरै जानकार हुन्छन् ।
किनकी गहिराइपूर्वक बुझ्न र जानकारीहरु सम्झिरहनमा रचनात्मक सोचका साथै नोटले पनि मुख्य भूमिका निर्वाह गर्ने गर्दछ । राम्रो पढ्ने विद्यार्थीहरुका लागि नोट लिनु एक अपरिहार्य हतियार समान रहँदै आएको छ । यसरी लामो समयसम्म पढेका वा सुनेका कुराहरु स्मरण गरिरहन ‘ह्यान्ड–ब्रेन कम्प्लेक्स’ मार्फत ‘न्युरो–सर्किटरी’ सिर्जना गर्नका लागि हातले नोट लिनु अधिक जरुरी छ । बीबीसी


















