बीमा समितिले निजी ल्याबको परीक्षणलाई मान्यता दिए पनि नयाँ बीमालेख जारी गर्ने र पोजेटिभ देखिएकाको भुक्तानी गर्ने प्रक्रियामा भने निकै कडाइ गरेको छ ।
व्यक्तिगत बीमालेख बन्द
बीमालेख र मापदण्ड संशोधन भएसँगै व्यक्तिगत रुपमा गरिने बीमा बन्द भएको छ । यसअघि व्यक्तिगत तथा सामूहिक रुपमा बीमा गर्ने विकल्प रहेकोमा अब सामूहिक बीमालेख मात्रै जारी हुने भएको हो ।
यसअघि व्यक्तिले चाहेमा १ लाख बराबरको बीमाका लागि १ हजार रुपैयाँ र ५० हजारको बीमाका लागि ५ सय रुपैयाँ प्रिमियम तिरेर एकल बीमा गर्न सकिन्थ्यो । सामूहिक बीमालेखका लागि भने १ लाखको लागि ६ सय रुपैयाँ र ५० हजारको लागि ३ सय रुपैयाँ शुल्क तोकिएको थियो । यो संशोधनपछि कोरोना बीमाको शुल्क एउटै मात्र कायम भएको छ ।
उपचार गरे मात्रै पूरा भुक्तानी
यसअघि कोरोना संक्रमण पोजेटिभ देख्नेबित्तिकै तोकिएको बीमा बराबरको रकम भुक्तानी गर्नेगरी बीमालेख जारी गरिएको थियो । त्यो प्रावधानलाई संशोधन गरेर बीमा समितिले कोरोना पोजेटिभ देखिएमा तत्काल २५ प्रतिशत रकम मात्रै दिने र अस्पताल भर्ना भएमा वा औषधोपचार गर्नुपर्ने भएमा मात्रै सो औषधि उपचारको बिल बमोजिमको थप ७५ प्रतिशत बराबर हुने रकम नबढ्ने गरी भुक्तानी गर्ने व्यवस्था गरेको छ ।
अब कुनै अस्पताल वा ल्याबमा काम गर्ने कर्मचारीले आफ्नै अस्पताल वा ल्याबमा गरेको परीक्षणलाई मान्यता नदिने व्यवस्था समेत गरिएको छ । आफ्नो ल्याबबाट परीक्षण गर्दा गलत रिपोर्टिङ गर्नसक्ने सम्भावना भएकोले यस्तो व्यवस्था गरिएको हो ।
त्यस्तै, कुनैपनि बीमकले दाबी भुक्तानी गर्दा एउटै स्थानबाट मात्रै भुक्तानी गर्नुपर्ने व्यवस्था समेत गरिएको छ । बीमितले कोरोना पोजेटिभ देखिएको सक्कली प्रमाणपत्र पेश गरेपछि मात्रै भुक्तानी प्रक्रिया अघि बढ्नेछ । यदि कुनै बीमितले पेश गरेको प्रमाणपत्रमा शंका लागेमा बीमकले आफ्नै खर्चमा त्यस्तो बीमितको पुनः कोरोना परीक्षण गर्नसक्ने व्यवस्था समेत मापदण्डमा गरिएको छ ।

















