संक्रमितले आफ्नै खर्चमा उपचार गर्नुपर्ने, विपन्न वर्गलाइ मात्र निःशुल्क

176

काठमाडौं – सरकारले कोरोना संक्रमित विपन्न नागरिकको मात्र उपचार गर्ने निर्णय गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितीमा आइतबार बसेको मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमान्ड सेन्टरको बैठकले उक्त निर्णयसहितका १२ वटा निर्णय गरेको छ।

बैठकले गरेको निर्णय कार्यान्वयनका लागि मन्त्रालयले माताहतका निकायमा पत्र समेत पठाइसकेको छ। मन्त्रालयका सहप्रवक्त डा समिरकुमार अधिकारीको हस्ताक्षरमा उक्त १२ बुँदे निर्णय कार्यान्वयनका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डे, मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम, व्यवस्थापन महाशाखाका प्रमुख डा रमेश खरेल र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी सदस्य सचिव डा प्रदीप ज्ञवालीलाई पत्र पठाइएको छ।

मन्त्री ढकालको उपस्थितीमा भएको बैठकले अबदेखि कोरोना संक्रमित विपन्न नागरिकको उपचार निशुल्क गर्ने र अन्यको उपचार अफ्नै खर्चमा गर्ने निर्णय गरेको हो।

बैठकले गरेको निर्णय नम्बर ८ मा उपचार सम्बन्धमा उक्त कुरा उल्लेख गरिएको छ। उक्त निर्णयमा अबदेखि लक्षण भएकाको मात्र उपचारको व्यवस्था गर्ने कुरा पनि उल्लेख छ।

‘चिन्ह वा लक्षणहरु देखिएका व्यक्तिहरुको मात्र उपचार व्यवस्थापन गर्ने स् विपन्न नागरिकको उपचार निःशुल्क गर्ने अन्यको उपचार आफ्नै खर्चमा गर्ने’ मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले निर्णय कार्यान्वयनका लागि पठाएको पत्रमा उल्लेख छ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम भने यो विषय अझै छलफलका क्रममा रहेको बताउँछन्। ‘हाल छलफलकै क्रममा रहेकाले मन्त्रिपरिषदबाट निर्णय भएपछि मात्र यो लागू हुने छ,’ उनले भने। यो निर्णय लागू भएपछि विपन्न बाहेक अन्यले भने आफ्नै खर्चमा उपचार गर्नुपर्ने हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here