छैटौं संस्करण यलम्वर संगीत पहिलो चरणबाट ५० प्रतिभा छनोट

63

खोटाङ-यलम्वर संगीत प्रतियोगिताको छैटौं संस्करणअन्तर्गत पहिलो चरणको छनौट सम्पन्न भएको छ। अनलाइनमार्फत विश्वव्यापीरूपमा सञ्चालन गरिएको प्रतियोगिताको पहिलो चरणबाट ५० जना किराँत राई गायन प्रतिभा छानिएका छन्।

किराँत राई सांस्कृतिक कलाकार संघ केन्द्रीय कार्य समितिले आयोजना गर्दै आएको यस शृंखलामा पहिलो चरणमा १० देशका २ सय १३ जना प्रतिस्पर्धीले सहभागिता जनाएका थिए। सो मध्येबाट ५० जना छनोट गरी संस्थाको आधिकारिक युट्युब च्यानल किराँत राई कलाकारवाट सार्वजानिक गरिएको प्रतियोगिताको प्रचार–प्रसार विभाग संयोजक पदम थुलुङ राईले जानकारी गराए। प्रतियोगिताका लागि गत भदौ २५ देखि गीत पठाउन सकिने व्यवस्था मिलाइएको थियो।

वार्षिकरूपमा राष्ट्रव्यापी बनाइँदै आएको प्रतियोगितालाई कोरोनाका कारण यो वर्ष विश्वव्यापीरूपमा अनलाइनबाट सञ्चालन गरिएको उनले बताए। प्रतियोगितालाई सामाजिक–सांस्कृतिक जागरणका लागि अभियानका रूपमा सञ्चालन गरिँदै आएको संघका केन्द्रीय अध्यक्ष रामकर राईले बताए। किराँती इतिहास, मौलिकता, भाषा, संस्कार–संस्कृतिको संरक्षण, प्रवद्र्धन तथा उत्थानका लागि प्रतियोगिताको आयोजना गरिने अध्यक्ष राईले उल्लेख गरे। प्रतियोगिताका लागि सहभागी किराँत राई समुदायका हुन अनिवार्य, प्रतियोगीले प्राकृतिक अर्थात् वास्तविक गायकी भएको सँगैको एमपीफोर फाइल भिडियो आयोजकको ईमेल ठेगानामा पठाउने व्यवस्था गरिएको थियो। साप्ताहिकरूपमा छनोट गरी प्रतियोगीहरूलाई उत्कृष्ट १० मा सीमित गर्दै अन्तिम चरणको प्रतिस्पर्धा गराइने आयोजकले जनाएका छन्। किराँती विषयमा सम्बन्धित गीतलाई ट्रयाकमा प्रस्तुत गर्नुपर्ने प्रतियोगितामा अनुशासन तथा गायन र किराँत राई समुदायप्रतिको प्रतिबद्धतालाई समेत मूल्यांकन गरिने संस्करणको संयोजक गायक तथा संगीतकार राई नवीनले बताए। प्रतियोगिताका प्रथम, दोस्रो, तेस्रो र उत्कृष्ट दर्शक छनोटको विजेताले क्रमशः नगद ३० हजार, १५ हजार, १० हजार र ५ हजार रुपियाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ।

यलम्वर संगीतको पहिलो संस्करणको उपाधि सागर संसार राईले जितेका थिए। यस्तै, दोस्रो संस्करण निश्चल राई र तेस्रो संस्करणमा नम्रता राईको नाममा उपाधि गएको थियो। किराँत राई समुदायका प्रतिभाका लागि प्लेटफर्मका रूपमा स्थापित हुँदै आएको प्रतियोगितको चौथो संस्करणमा सोनाम राई प्रथम भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here