कथाकार शोभा ज्ञवालीकाे सम्पूर्ण आकाश सार्वजनिक

281

काठमाडौं – पछिल्लो समय कथा लेखनमा कलम चलाउँदै आएकी कथाकार हुन् शोभा ज्ञवाली । उनको पहिलो कथासंग्रह ‘सम्पूर्ण आकाश’ सार्वजनिक भएको छ ।

ज्ञवालीका कथाहरू बितेको समयमा नागरिक, परिवारलगायत विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदैआएका हुन् । उनका कथाहरूमा नारीमाथिको विभेदका विषयहरू पाठकले पाउन सक्छन् । समाजमा मौलाएको महिलाप्रतिको दृष्टिकोणबाट उनका कथा उनिएका छन् । उनी महिलालाई खेद्‍ने कार्य रूचाउँदिनन् । त्यसैले पनि विद्यमान विकृतिविरुद्ध उनको कलम कथा लेखनमार्फत जागरुक भएको हो । उनी यस्ता विकृति विसंगति आफ्ना लेखनका माध्यमबाट उखेल्न चाहन्छिन् ।

समाजका विभिन्‍न विषयवस्तुलाई केन्द्र बनाएर लेखिएका २५ वटा कथा ज्ञवालीको यस संग्रह ‘सम्पूर्ण आकाश’मा संगृहीत छन् । कथाले समाजका विभिन्‍न आयामहरूलाई प्रस्तुत गरेको छ ।

‘सकारात्मक सोच लिएर अगाडि बढेको अवस्थामा सफलता अवश्य पनि हासिल हुन्छ’ भन्‍ने मान्यतामा विश्‍वास गर्छिन्, कथाकार शोभा ज्ञवाली । आजको युग भनेको स्पर्धाको हो । यो प्रतिस्पर्धाको समयमा असल नागरिक भएर प्रस्तुत हुनसके मात्रै जन्मिएको सार्थकता पुष्टि हुने उनको तर्क छ ।

नागरिक दैनिक, रिपब्लिका दैनिक पत्रिकाहरूको प्रकाशन संस्था नेपाल रिपब्लिक मिडिया प्रालिकी निर्देशकसमेत रहेकी कथाकार ज्ञवालीको कलमले नेपाली समाज र माटोका कथाहरू पस्केको छ । कथासंग्रह ‘सम्पूर्ण आकाश’लाई सम्पादन गरेका हुन् रघुनाथ लामिछानेले । हालै प्रकाशनमा आएको यो संग्रहलाई मञ्‍जरी पब्लिकेसन्सले बजारमा ल्याएको छ । पुस्तकको मूल्य ३८५ रुपैयाँ तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here