कक्षा छाड्ने दर बढ्न सक्ने

125

काठमाडौँ । वैकल्पिक विधिको पठनपाठनमा विद्यार्थीको सहभागिता हुन नसक्दा आगामी दिनमा कक्षा छाड्ने दर ९ड्रपआउट० बढ्न सक्ने अवस्था देखिएको छ । सरकारले वैकल्पिक विधि अन्तर्गत अनलाइन, रेडियो, टेलिभिजन लगायतका माध्यमबाट विद्यार्थीको सिकाइ सहज बनाए पनि अझै लाखौँ विद्यार्थी त्यसमा समेटिन नसकेपछि कक्षा छाड्ने दर डरलाग्दो हुनसक्ने चेतावनी सरोकारवालाले दिएका छन् ।
छात्रा बढी समस्यामा
विद्यालय तहमा कक्षा छाड्ने दर छात्राको अधिक रहेको नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारी बताउनुहुन्छ । सरकारले यसलाई दृष्टिगत गर्दै छात्रालाई छात्रवृत्ति लगायतका कार्यक्रम विगतका वर्षदेखि नै सञ्चालन गर्दै आएको छ । यस वर्ष पनि सरकारले बजेट भाषण मार्फत त्यसलाई सम्बोधन गर्ने प्रयास गरेको थियो ।
सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ५ सम्मका विद्यार्थीलाई विद्यालयमा राख्न यसै वर्षबाट देशभर दिवा खाजाको प्रबन्ध गर्ने घोषणा गरेको थियो । साथै देशभरका सबै सामुदायिक विद्यालयमा अध्ययनरत १३ लाख ४० हजार छात्रालाई सेनेटरी प्याड निःशुल्क उपलब्ध गराउन स्थानीय तह मार्फत सशर्त अनुदानको व्यवस्था गरेको थियो ।
दिवा खाजाका लागि सात अर्ब ५२ करोड र सेनेटरी प्याडका लागि एक अर्ब ८२ करोड रुपियाँ विनियोजन गरिएको थियो तर विद्यालय नखुलेका कारण सो रकम अहिलेसम्म खर्च हुन सकेको छैन । सरकारले छात्रालाई विद्यालयमा आकर्षित गर्न र विद्यालयमा नियमित गराउन ल्याएका कार्यक्रम नै यसपटक कार्यान्वयन हुन नसक्दा यसको प्रभाव आगामी दिनमा पर्न सक्ने औँल्याइएको छ ।
महासङ्घका अध्यक्ष भण्डारी घरमा बसेका विद्यार्थीलाई प्रविधिसित जोड्न नसक्दा विद्यार्थीलाई वैकल्पिक विधिको पठनपाठनमा सहभागिता गराउन समस्या भएको बताउनुहुन्छ । विद्यार्थीको उपस्थिति किन हुन नसकेको हो भनेर यस पटक खोजी नगर्ने हो भने यसको समस्या धेरै वर्षसम्म देखिने उहाँ बताउनुहुन्छ । छिटो विवाह हुने, नपढे पनि हुन्छ भन्ने सामाजिक मानसिकता तथा विद्यालयमा छात्रामैत्री शौचालय लगायतको प्रबन्ध हुन नसकेका कारण छात्राको कक्षा छाड्ने दर घट्न सकेको छैन ।
राजधानीको विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्ब कँडेल वैकल्पिक विधिमा सहभागी हुन नसकेको तथा लामो समयदेखि विद्यालय आउन नसक्दा बालबालिकामा कक्षा छाड्ने दर बढ्ने अवस्था देखिएको बताउनुहुन्छ । एक वर्ष नियमित पठनपाठन हुन नसक्दा अर्को वर्षमा पनि यसको असर पर्न सक्ने भएकाले सरकारले आफ्नो जिम्मेवारी प्रभावकारी बनाउनुपर्ने उहाँ बताउनुहुन्छ ।
वैकल्पिक विधिमा कति विद्यार्थीको सहभागिता छ भन्ने स्पष्ट तथ्याङ्कको अभाव देखिएको जनाइएको छ । इन्टरनेट सर्वसुलभ बनाएर स्थानीय गैरसरकारी सङ्घ संस्थालाई समेत यसमा आबद्ध गराउन सकिएको अवस्थामा कक्षा छाड्ने दरमा केही कमी आउने र बालबालिकाको पठनपाठनले निरन्तरता पाउने उहाँ बताउनुहुन्छ । स्थानीय तहले एफएम रेडियोको माध्यम प्रभावकारी बनाउने र बालबालिकालाई रेडियो उपलब्ध गराउन सके वैकल्पिक विधिको पठनपाठन प्रभावकारी हुने उहाँ विश्वास गर्नुहुन्छ । साथै कोरोना भाइरस सङ्क्रमण न्यून भएका क्षेत्रका विद्यालय खोलेर पनि बालबालिकालाई सिकाइ सहज बनाउन आबद्ध गराउनुपर्नेमा उहाँ जोड दिनुहुन्छ ।
प्रविधिमैत्री बनाउन जरुरी
नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापा यस वर्ष विद्यार्थी कक्षा कोठामा आउन नसकेका कारण विद्यार्थीको कक्षा छाड्ने दर आगामी वर्ष बढ्ने बताउनुहुन्छ । त्यसलाई रोक्न अहिलेदेखि नै तयारी गर्नुपर्ने र यस विषयमा सबैले सोच्नुपर्ने आवश्यकता उहाँ औँल्याउनुहुन्छ । वैकल्पिक विधिको पठनपाठनमा सामुदायिक विद्यालयमा १५ प्रतिशतभन्दा बढी विद्यार्थी जोडिन नसकेका कारण पनि छुटेका विद्यार्थीलाई सिकाइ सहज बनाउने कुरामा सबैले ध्यान दिनुपर्ने भनाइ छ ।
यस वर्ष बजेट फ्रिज हुन सक्ने भएकाले प्रविधिमैत्री शैक्षिक कार्यक्रम विद्यालयमा सञ्चालन गर्न र विद्यार्थीको सिकाइ सहज बनाउने कुरामा लगानी गर्नुपर्ने उहाँको भनाइ छ । अहिले वैकल्पिक विधिमा सहभागी नभएका विद्यार्थीलाई समेत स्तर वृद्धि गर्ने हिसाबले अगाडि बढ्नुपर्ने उहाँ बताउनुहुन्छ ।  गाेरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here