नेपाललाई जलमग्न गराएर भारतले ४९ अर्ब लगानी गर्दै

62

काठमाडौं । भारतले नेपाललाई जलमग्न गराएर भारतमा सिंचाईको ब्यवस्था गर्ने महत्वाकांक्षी योजना बनाएको खुलासा भएको छ । कोशी नदीको पानी मेची नदीमा पुर्‍याएर आफ्नो भूमि सिँचाइ गर्ने भारतको महत्वाकांक्षी परियोजना एक कदम अगाडि बढेको थाहा भएको छ ।

लामो समयदेखि चर्चामा रहेको सो परियोजना कोशी–मेची रिभर इन्टरलिनिङ प्राजेक्ट हो । जस अनुसार वर्षायाममा कोशीमा जम्मा गरेको पानी हिउँदमा भारतमा पर्ने मेची नदीमा खसालिनेछ र भारतका सुख्खा खेतमा सिँचाइको लागि उपयोग गरिनेछ ।

नेपाल–भारतको सीमाबाट बग्दै जाने मेची नदी भारतको महानन्दा बेसिन अन्तरगत पर्छ । सो बेसिनमा सुख्खायाममा पनि पर्याप्त पानी पुर्‍याउने गरी कोशी ब्यारेजमा पानीको क्षमता बढाउने भारतीय योजनामा लगानी गर्न सिफारिस गर्ने निर्णय भारतको ‘इन्भेष्टमेन्ट क्लियरेन्स कमिटी’ को १४ औं बैठकले गरेको छ ।

यो कमिटीमा भारतको केन्द्रीय जलशक्ति मन्त्रालय अन्तर्गतको जलस्रोत विभागलगायत जलस्रोतसम्बद्ध संस्था र एजेन्सीहरु छन् । गत वर्ष नै भारतको केन्द्र सरकारले यसका लागि बजेट विनियोजन गरेको थियो ।

भारतको यो योजना उसको इच्छाअनुसार नै अघि बढे नेपालमा कोशीको बाढी झन् खतरनाक हुने नेपालका बिज्ञहरुको ठहर छ ।  अहिले पनि कोशीको ब्यारेजको ढोका समयमै नखोल्दा  नेपालका विभिन्न भाग डुबानमा पर्दै आएका छन् । झन् ब्यारेजको क्षमता विस्तार गरेर पानी रोक्दा नेपालतर्फको भूभागमा थप जोखिम निम्तिन सक्ने विज्ञहरुको दाबी छ ।

बर्खायाममा कोशीका कारण भारतको उत्तरी बिहारमा ठूलो बाढी आउने गरेको छ । नदी नियन्त्रण गर्ने योजनाका साथ भारतले यसलाई अघि बढाउन खोजेको हो । भारतले पाँच वर्षभित्र यो परियोजना बनाइसक्ने लक्ष्य लिएको छ । विहारमा बाढीले निम्त्याउने बितण्डा हटाउन बिहार सरकारले पनि यो परियोजना छिटो अघि बढाउन जोड दिँदै आएको छ ।

नेपालका विज्ञहरुले लामो समयदेखि भारतलाई मात्रै फाइदा हुने गरी प्रस्तावित उच्च बाँध र नदी जोड (रिभर लिंकिङ) कार्यक्रमको विरोध गर्दै आएका छन् । भारतले नेपालतर्फ उच्च बाँध निर्माण गरेर अहिले उसले मात्रै पानी उपयोग गर्न बनाएको पूर्वी कोशी नहरबाटै मेचीसम्म पानी लैजाने योजना बनाएको हो ।

सन २०१९ को अगस्टमा नै भारतको केन्द्र सरकारले यो परियोजना अघि बढाउने निर्णय लिएको थियो । मध्यप्रदेश र उत्तरप्रदेश जोड्ने केन–बेटवा नदी जोड परियोजनापछिको यो दोस्रो ठूलो नदी जोड परियोजना हुने भारतले जनाउँदै आएको छ ।

प्रस्तावित कोशी–मेची रिभर लिंकिङ परियोजनामा ४९ अर्ब भारतीय रुपैयाँ लाग्ने अनुमान छ । अब यो रकम खर्चिन भारत सरकार तयार भएको छ । यो परियोजनाबाट भारतको अररिया, पूर्णिया, किसनगञ्ज, कटिहार लगायतका जिल्लामा सिँचाइ सुविधा पुग्ने छ ।

कोशी बाँधको क्षमता बढाएर ५७३ क्यूसेक बनाइने छ र कोशीको त्यो पानीलाई ७६ किलोमिटर लामो नहर बनाएर मेचीमा खसाल्ने भारतको योजना छ । योजनाअनुसार जूनदेखि अक्टोबरसम्म वर्षाको पानी कोशीमा जम्मा गरिने छ । जम्मा भएको पानीलाई हाल सञ्चालनमा रहेको पूर्वी कोशी नहरमा राखेर भारतले  नहर विस्तार गरी मेची नदीसम्म पुर्‍याउने योजना बनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here