
काठमाडौं-राष्ट्रिय नागरिक आन्दोलन, २०७७ ले यही मंसिर २० गते विहान ११ बजे विभिन्न माग राखी माईतीघरमा बृहत्त प्रदर्शन गर्ने भएको छ । राष्ट्रिय नागरिक आन्दोलन, २०७७ ले बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर वर्तमान सरकार असफल भएको भन्दै यसको विकल्प खोजिनेपनि जनाएको छ ।
राष्ट्रिय नागरिक आन्दोलन समिति २०७७ ले नागरिकतन्त्रसहितको राजसंस्था स्थापना गर्नुपर्ने माग राखेको छ । त्यस्तै, लुटतन्त्र, बेथिति, महँगी, बेरोजगारी र राज्य आतंक बन्द गर्नुपर्ने पनि उसको माग छ । समितिले अघि सारेका अन्य मागहरुमा शिक्षा र स्वास्थ्यलाई निःशुल्क, सर्वसुलभ र गुणस्तरीय बनाउनुपर्ने, मुलुकले धान्न नसक्ने संघीयताको विकल्प खोज्नुपर्ने, धर्मसापेक्ष राज्य स्थापना गर्नुपर्ने, युवा पुस्तालाई स्वदेशमै रोजगारीको व्यवस्था गर्नुपर्ने, बन्द रहेका सम्पूर्ण उद्योगहरु पुनः सञ्चालन गर्नुपर्ने, मुलुकले धान्न नसक्ने व्यापार घाटा अन्त्य गर्नुपर्ने, एमसीसी लगायतका सम्पूर्ण राष्ट्रघाती कदमको विरोध गरिने र असमान सन्धि सम्झौता खारेज गर्नुपर्ने पनि रहेका छन् । लिपुलेक, कालापानी, लिम्पियाधुरा, सुस्ता लगायत मिचिएका सम्पूर्ण नेपाली भूभाग रक्षा गर्नुपर्ने र मौलिक मानव अधिकारको रक्षा गर्दै कोरोनाको निःशुल्क उपचार र कोरोना पीडितलाई राहत सुनिश्चित गर्नुपर्ने माग र नारा रहेका छन् ।
पत्रकार सम्मेलनमा राष्ट्रिय नागरिक आन्दोलन समिति २०७७ का तर्फबाट संयोजक बालकृष्ण न्यौपानेले १२ बुँदे दिल्ली सम्झौताबाट सुरु भएको व्यवस्था असफल भएको बताएका थिए । उनले भने,‘अहिलेको व्यवस्थाको गाडी र चालक दुवै खराब भए । जनताले विकल्प खोज्नुपर्छ । देशमा भ्रष्टाचार बढ्यो । पञ्चायतकालदेखि अहिलेसम्म राजनीतिज्ञ र उच्च ओहादाको मान्छेको सम्पत्ति छानबिन गर्नुपर्छ । अबको मन्त्रिमण्डलको संरचना दश जनाको बनाउनुपर्छ । र, संसद पनि ११५ जनामा नबढ्ने गरि बनाउनुपर्छ । र, नेपाललाई हिन्दूराष्ट कायम गर्नुपर्छ ।’ कार्यक्रममा डा. सुरेन्द्र भण्डारी, भुवन थापा, विष्णु भट्टाई, तारा लुँईटेल लगायतले आ–आफ्नो धारणा राखेका थिए ।


















